INSEC Online

📅 २०८३ जेष्ठ २१

स्थानीय तह सदस्य निर्वाचन ०७९– प्रदेश १ मा तीन घेरामा सुरक्षा व्यवस्था, भयरहित वातावरणमा भोट हाल्न आयोगको आग्रह

स्थानीय तह सदस्य निर्वाचन–०७९ मा प्रदेश १ मा तीन घेरामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

निर्वाचन आयोग प्रदेश १ कार्यालय विराटनगरका प्रमुख लेवन कश्यप अधिकारीले वैशाख ३० गते मतदातालाई भयरहित ढङ्गमा र स्वतन्त्र रूपले आफूले रोजेको प्रतिनिधिलाई भोट खसाल्न आग्रह गर्नु भएको छ ।

प्रदेश १ मा १७ हजार म्यादी प्रहरीसहित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ । मतदाताले भयरहित वातावरणमा भोट हाल्न मिल्ने गरी सुरक्षाकर्मीको परिचालन गरिएको प्रदेश १ प्रहरी कार्यालयका एपसी नविनराज राईले बताउनु भएको छ ।

प्रदेश १ मा १६ लाख ९९ हजार ८ सय जना पुरूष मतदाता, १६ हजार ४७ हजार ५ सय ६१ जना महिला मतदाता र अन्य २३ जना गरी ३३ लाख ४७ हजार ३ सय ८४ जना मतदाता तीन दिनपछि हुने स्थानीय तह सदस्य निर्वाचनमा प्रदेश १ बाट सहभागी हुँदैछन् ।

नेपालले नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी सन् १९६६ लाई विस ०३२ चैत १० गते पक्ष राष्ट्रको रूपमा अनुमोदन गरी लागू गरेको छ ।

नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धीले धारा २५ मा प्रत्येक नागरिकलाई प्रत्यक्ष रूपमा वा स्वतन्त्र रूपमा प्रतिनिधि छनौट गर्न वा छानिएका प्रतिनिधिहरूमार्फत् सार्वजनिक जीवन सञ्चालनमा भाग लिने पाउने अधिकार सुनिश्चित गरेको छ ।

सोही धारामा सर्वव्यापी तथा समान मताधिकारबाट र गोप्य मतदानबाट मतदाताहरूको इच्छाको स्वतन्त्र अभिव्यक्तिको प्रत्याभूति गर्ने निर्वाचनहरूमा मतदान गर्ने र निर्वाचित हुने अधिकारलाई सुनिश्चित गरेको छ ।

नेपाल संविधानले भाग २४, धारा २४५ मा निर्वाचन आयोगलाई संवैधानिक निकायका रूपमा व्यवस्था गरेको छ । निर्वाचन आयोगले १८ वर्ष पुरा भएका प्रत्येक नागरिकलाई बालिग मताधिकारको अधिकार प्रदान गरेको छ । निर्वाचन आयोगले बालिग मताधिकारलाई नागरिक अधिकार भनि परिभाषित गरेको छ ।

०७९ वैशाख २९ गते १८ वर्ष उमेर पुरा भएका र मतदाता नामावलीमा विवरण सङ्कलन गराएकाहरूलाई निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मतदान प्रदान गर्न अनुमति दिएको छ ।

प्रदेश १ मा ६ हजार ५९ पदका लागि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन ०७९ मा २२ हजार ४ सय ४२ जनाको उम्मेदवारी दर्ता भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशको एक महानगरपालिका, दुई ओटा उपमहानगरपालिका र नगरपालिकाको मेयरमा ४ सय २५ र उपमेयरमा ३ सय १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

गाउँपालिका अध्यक्षमा ४ सय ९१ जना र उपाध्यक्षमा ३ सय १८ जनाले उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । वडाध्यक्ष पदमा ५ हजार १ सय ४० जना, ३ हजार ९ सय १५ जना महिला सदस्य, ३ हजार ५ सय १२ जना दलित महिला सदस्य र ८ हजार ४ सय ३८ जनाको खुल्ला सदस्यमा उम्मेदवारी परेको छ ।

प्रदेश १ मा एक ओटा महानगरपालिका, दुई ओटा उपमहानगरपालिका, ४६ ओटा नगरपालिका र ८८ ओटा गाउँपालिका गरी १ सय ३७ स्थानीय तहका १ हजार १ सय ५७ ओटा वडा छन् ।

०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रदेश १ का ३ सय ३१ ओटा मतदानस्थल अति सम्वेदनशील, ७ सय ४८ ओटा सम्वेदनशील र ७ सय ९ ओटा मतदान केन्द्रलाई सामान्य मतदानस्थलका रूपमा वर्गीकरण गरिएको छ । सोही आधारमा तीन घेरामा सुरक्षाकर्मीको व्यवस्था गरिएको छ ।

प्रदेश १ निर्वाचन कार्यालय विराटनगरका अनुसार प्रदेश १ मा स्थानीय तह निर्वाचन ०७९ का लागि १ हजार ८ सय ७७ ओटा मतदानस्थल र ४ हजार ५१ ओटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार जिल्लामा स्थानीय तह निर्वाचनका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरी चार ओटै सुरक्षा निकायलाई परिचालन गरिने तयारी गरिएको छ ।

जिल्लाका ३ सय ओटा मतदानस्थलको ८ सय ओटा मतदान केन्द्रको सुरक्षाका लागि ५ हजार १ सय १८ जना प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मतदानस्थल र मतदान केन्द्रको सुरक्षाका लागि  १ हजार ९ सय ९४ जना नेपाल प्रहरी र ३ हजार १ सय २४ जना म्यादी प्रहरी खटिने जिल्ला प्रहरी कार्यालय मोरङका एसपी शान्तिराज कोइरालाले बताउनु भयो । कोइरालाका अनुसार निर्वाचनलाई शान्तिपूर्ण र भयरहित ढङ्गमा सम्पन्न गर्नका लागि सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली आवश्यकताका आधारमा परिचालन गरिनेछ ।

वैशाख ३० गतेको निर्वाचनका लागि जिल्लामा ‘एकीकृत सुरक्षा योजना’ कार्यान्वयनमा ल्याउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी काशीनाथ दाहालले बताउनु भयो । निर्वाचनमा उचित सुरक्षा व्यवस्था मिलाउँदै भयरहित, शान्तिपूर्ण र निष्पक्ष रूपमा मतदान गर्ने वातावरण बनाउन जिल्लामा वैशाख २७ गतेदेखि ‘एकीकृत सुरक्षा योजना’ कार्यान्वयनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी दाहालले बताउनु भयो ।

स्थानीय तह निर्वाचनका लागि प्रदेश १ लाई लक्षित गरेर सुनसरीको इटहरीमा एउटा सेनाको हेलिकप्टर अलर्टमा राखिने छ । निर्वाचनका सामग्री ढुवानी गर्नका लागि समस्या हुने ठाउँमा हेलिकप्टरबाट ढुवानीलगायतका कामको प्रबन्ध मिलाइएको दाहालले बताउनु भयो । कुनै पनि मतदानस्थलमा सुरक्षामा समस्या आए थप मद्दतका लागि सेनाको हेलिकप्टरबाट थप सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान गरी चार ओटै सुरक्षा संयन्त्र परिचालन हुने र ठाउँ अनुसार कस्तो सुरक्षा रणनीति बनाउने भनेर योजनाका साथ निर्वाचनको सुरक्षा विशेष रणनीति बनाइएको प्रमुख जिल्ला अधिकारी दाहालको भनाइ छ । वैशाख २७ गतेदेखि ३० गते रातिसम्म भारतसँगको सीमा पूर्ण रूपमा बन्द जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यस समयमा अति आवश्कीय सेवा बाहेक अन्य सबै बन्द गरिएको प्रशासनको सूचनामा उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार जिल्लामा भौगोलिक अवस्थालगायत विभिन्न किसिमबाट सुगम, दुर्गम तथा सुरक्षाको दृष्टिले अति सम्वेदनशील, सम्वेदनशील र सामान्य गरी मतदानस्थललाई तीन भागमा विभाजन गरेर सुरक्षाको व्यवस्था मिलाइएको छ । मतदानस्थलहरूको मुख्य निर्वाचन अधिकृत भरत लम्सालसहित प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, नेपाली सेनाका प्रमुख सेनानी अमृत थापा, मोरङका एसपी शान्तिराज कोइराला, सशस्त्र प्रहरीका एसपी राजकुमार लामिछाने, राष्ट्रिय अनुसन्धानका प्रमुख बासु सिग्देललगायतको टोलीले जिल्लाका सबै मतदानस्थलको अनुगमन गरी सकेको छ ।

सुरक्षा उपस्थिति कमजोर रहेका र भौगोलिक हिसाबमा केराबारी गाउँपालिका–१ पाटी गाउँस्थित  सरस्वती माध्यमिक विद्यालय र केराबारी–२ जेफालेस्थित पञ्चायत आधारभूत विद्यालय मतदानस्थललाई विकट मानिएको छ ।

जिल्लामा अति सम्वेदनशील ४९ ओटा, सम्वेदनशील १ सय ५५ ओटा र सामान्य ९६ मतदानस्थल  निर्धारण गरिएको छ । निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउन भौगोलिक रूपमा विकट रहेको क्षेत्र र सीमा क्षेत्रसँग जोडिएको मतदान स्थलको नेपाली सेनाले हवाई गस्ती गर्नेछ । निर्वाचनलाई लक्षित गरेर विराटनगरमा मोरङ र सुनसरीको सुरक्षा निकायका प्रमुख र भारतको अररीया जिल्लाका सुरक्षा अधिकारीहरूको  संयुक्त बैठकले निर्वाचनका समय हुन सक्ने विभिन्न आपराधिक गतिविधिलगायत अन्य सुरक्षाका सम्वेदनशील कुरामा दुवै देशका सुरक्षा निकायबीच समन्वय गर्ने निर्णय गरिएको छ ।

जिल्लामा ७ लाख १५ हजार २ सय २३ जना मतदाता छन् । जसमा ३ लाख ५१ हजार ७ सय ६९ जना महिला, ३ लाख ६३ हजार ४ सय ४८ जना पुरूष र अन्य ६ जना मतदाता छन् । निर्वाचन आयोगका अनुसार जिल्लाका १७ ओटा स्थानीय तहमध्ये विराटनगर महानगरपालिकामा सबैभन्दा बढी १ लाख ३३ हजार १ सय ४२ जना मतदाता छन् ।

धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार जिल्लामा मतदाताको चापदेखि विगतका घटनासम्मलाई हेरेर अति सम्वेदनशील केन्द्रहरू चयन गरिएको छ । निर्वाचन आयोगले तयार पारेको १ सय १८ ओटा मतदानस्थल र १ सय ५९ ओटा मतदान केन्द्रमध्ये निर्वाचनमा सुरक्षा दृष्टिले १५ ओटा मतदान स्थललाई अति सम्वेदनशील, ४९ ओटा मतदानस्थललाई सम्वेदनशील र ५४ ओटा मतदानस्थल सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

भौगोलिक विकटता, सडक सञ्जाल नपुगेको स्थान, बेलाबेलामा झैझगडा तथा बदमासी हुने ठाउँ, विभिन्न जातजातिको बसोवास भएको लगायतका आधारमा मतदानस्थललाई अति सम्वेदनशील, सम्वेदनशील र सामान्यमा वर्गीकरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले बताउनु भयो ।

अति सम्वेदनशील मानिएको स्थानमा निर्वाचन विरोधी गतिविधि हुन नदिन तीन घेरामा सुरक्षाकर्मीसहित थप सुरक्षाकर्मी खटाइने जिल्ला प्रहरी कार्यालयका एसपी लक्ष्मीराज अधिकारीले बताउनु भयो ।

निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण र भयरहित रूपमा सम्पन्न गराउन म्यादी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी २ हजार ५१ जना सुरक्षाकर्मीलाई तीन घेरामा परिचालन गरिने तयारी गरिएको छ । अति सम्वेदनशील मानिएका ठाउँमा आवश्यकता अनुसार ११ जनाभन्दा धेरै सुरक्षाकर्मीहरू खटाइने एसपी अधिकारीले बताउनु भयो । जिल्लामा ८  सय ५७ जना म्यादी प्रहरी, ४ सय ८९ जना नेपाल प्रहरी, २ सय ८ जना सशस्त्र प्रहरी र ४ सय ८६ जना नेपाली सेना परिचालन हुने प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताउनु भयो । निर्वाचनमा सेनाको भूमिका प्रत्यक्ष रूपमा नहुने भएपछि सेना सबै तेस्रो घेरामा सहायताका लागि खटिने प्रमुख जिल्ला अधिकारी कट्टेलले बताउनु भयो ।

निर्वाचनको पहिलो घेरामा म्यादी प्रहरी र नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन गरिने प्रमुख जिल्ला अधिकारी कट्टेलले बताउनु भयो । अहिले नेपाल प्रहरीहरू खटि राखेका कारागार, जिल्ला प्रशासन कार्यालयजस्ता ठाउँमा प्रहरीलाई नेपाली सेनाले निर्वाचन भरी पालो दिएर त्यो जनशक्ति पनि निर्वाचनमा खटाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लामा १ सय १८ ओटा मतदानस्थल तथा १ सय ५९ ओटा मतदान केन्द्र रहेकामा सहिदभूमि गाउँपालिकामा १३ ओटा मतदानस्थल र १८ ओटा मतदान केन्द्र, चौबिसे गाउँपालिकामा २१ ओटा मतदानस्थल र २४ ओटा मतदान केन्द्र, छथर जोरपाटी गाउँपालिकामा १२ ओटा मतदानस्थल र १७ ओटा मतदान केन्द्र र धनकुटा नगरपालिकामा १५ ओटा मतदानस्थल र २८ ओटा मतदान केन्द्र रहेका छन । पाख्रिवास नगरपालिकामा १५ ओटा मतदानस्थल र २१ ओटा मतदान केन्द्र, महालक्ष्मी नगरपालिकामा २१ ओटा मतदानस्थल र २६ ओटा मतदान केन्द्र र साँगुरीगढी गाउँपालिकामा २१ ओटा मतदानस्थल र २५ ओटा मतदान केन्द्र रहेको  जिल्ला निर्वाचन अधिकारी जयराम श्रेष्ठले बताउनु भयो । जिल्लामा ५८ हजार २ सय ४८ जना महिला मतदाता र ५७ हजार ७ सय १६ जना पुरूष मतदाता गरी १ लाख १५ हजार ९ सय ९४ जना मतदाता रहेका छन् ।

उदयपुर प्रतिनिधि सुजाता ढुङ्गानाका अनुसार स्थानीय तह सदस्य निर्वाचनमा जिल्लामा ९ सय ५८ जना म्यादी प्रहरीसहित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी तीन घेरामा सुरक्षाकर्मीको परिचालन गर्ने तयारी गरिएको छ । मतदातालाई भयरहित ढङ्गमा आफूले रोजेको प्रतिनिधिलाई भोट खसाल्ने मिल्ने वातावरणका लागि तीन घेरामा सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी यादवले जिल्लाको भौगोलिक अवस्था र मतदाताको चापलाई मध्यनजर गरी  नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी परिचालनका लागि व्यवस्था मिलाइएको छ । जिल्लाका आठ ओटा स्थानीय तहमा २ लाख २७ हजार मतदाता छन् । निर्वाचनका लागि ९८ ओटा मतदानस्थल र २ सय ५८ ओटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार जिल्लामा निर्वाचन प्रयोजनका लागि १ हजार ५ सय बढीको सङ्ख्यामा सुरक्षाकर्मीको परिचालन गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी गरी १ हजार ५ सय सुरक्षाकर्मीलाई तीन घेरामा परिचालन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाका ६ ओटा स्थानीय तहमा ५७ ओटा मतदानस्थलमा ९५ ओटा मतदान केन्द्रहरू निर्धारण गरिएको छ । प्रत्येक स्थानीय हतमा दुई ओटा मोवाइल गाडी र  प्रत्येक बुथमा तीन जनादेखि सम्वेदनशील स्थानमा  पाँच जना नेपाल प्रहरी र पाँच जना म्यादी प्रहरी परिचालन तयारी गरिएको छ । नेपाली सेना  र सशस्त्र प्रहरीका सुरक्षाकर्मी खटाइने प्रमुख जिल्ला अधिकारी अनुजकुमार घिघिरेले बताउनु भयो । दुई ओटा नगरपालिका र चार ओटा गाउँपालिमा ७२ हजार ८ सय ९५ जना मतदाता छन् ।

सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार निर्वाचनका लागि जिल्लामा १ हजार ८ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचन सुरक्षा योजना अन्तर्गत नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले गस्ती सुरू गरेको छ । स्थानीय तह निर्वाचन ०७९ का लागि जिल्लाका १० ओटा स्थानीय तहका १ सय ३ ओटा मतदानस्थलमध्ये सुरक्षा सम्वेदनशीलताका हिसाबले आठ ओटा मतदानस्थललाई अति सम्वेदनशील मानिएको छ । मतदान केन्द्रहरू सम्वेदनशीलता हेरेर सोही अनुसार सुरक्षा प्रबन्ध मिलाएर नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीले सुरक्षा गस्ती सुरू गरेको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताउनु भयो । जिल्लाभरका १ सय ३  ओटा मतदान स्थलमध्ये ७९ ओटा मतदानस्थल सम्वेदनशील र १६ ओटा मतदानस्थललाई सामान्यको सूचीमा राखिएको छ । मतदान केन्द्रलाई तीन भागमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाइएको छ । अति सम्वेदनशील मतदानस्थल तथा केन्द्रको सुरक्षा चुनौती हेरेर सोहीअनुसार सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी खतिवडाको भनाइ छ । अति सम्वेदनशील मतदानस्थलमा ३ हजार ४ सय ३८ जना मतदाता छन् । जिल्लामा ६० हजार ६ सय ७८ जना पुरूष र ५७ हजार ५३ जना महिला गरी १ लाख १७ हजार ७ सय ३१ जना मतदाता छन् । भौगोलिक विकटता, सुरक्षा निकायको पहुँचदेखि टाढा, यातायात र सञ्चारको असुविधा यस अघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर अति सम्वेदनशील, सम्वेदनशील र सामान्य गरी मतदानस्थल तथा केन्द्र छुट्याइएको प्रशासनले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचनका लागि जिल्लामा ८ सय कर्मचारी खटिएका छन् । प्रत्येक मतदानस्थलको भित्री घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी खटिने गरी व्यवस्था मिलाइएको छ । त्यस भन्दा बाहिरी घेरामा सशस्त्र प्रहरी र त्यस भन्दा बाहिरी घेरा नेपाली सेनाले परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी खतिवडाले बताउनु भएको छ ।

खोटाङ प्रतिनिधि तारानाथ फुयलका तीन दिनपछि हुने स्थानीय तह सदस्य निर्वाचनका लागि जिल्लामा सशस्त्र प्रहरी ३ सय जना, म्यादी प्रहरी १ हजार ७८ जना र नेपाल प्रहरी ७ सय जना र थप नेपाली सेना परिचालन गरिएको छ । तीन घेरामा सुरक्षाकर्मीको व्यवस्था गरी निर्वाचनलाई भयरहित ढङ्गमा सम्पन्न गर्ने गरी सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताउनु भयो । निर्वाचनका दिन सुरक्षा व्यवस्था मजबुत बनाउन मोवाइल टोलीमा सुरक्षाकर्मीको गस्ती गरिने प्रमुख जिल्ला अधिकारी दाहालको भनाइ छ । जिल्लामा ६८ हजार ७ सय ४६ जना महिला मतदाता र ७५ हजार ६ जना पुरूष मतदाता गरी १ लाख ४३ हजार ७ सय ५२ जना मतदाता छन् ।

ताप्लेजुङ प्रतिनिधि देवराज गुरुङका अनुसार स्थानीय तह सदस्य निर्वाचनका लागि जिल्लामा ४ सय ४४ जना नेपाल प्रहरी, ६ सय ५५ जना म्यादी र ३ सय ५ जना सशस्त्र प्रहरीसहित थप नेपाली सेनालाई परिचालन गरिएको छ । जिल्लाका ७३ ओटा मतदानस्थल र १ सय २२ ओटा मतदान केन्द्रमा ६ सय १ जना कर्मचारी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताउनु भयो । वैशाख ३० गतेको निर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मी तथा मतदान सामाग्री वैशाख २७ गते पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले २७ गते पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले स्थानीय तह सदस्य निर्वाचन ०७९ का विषयमा निर्वाचन आचारसंहित २०७८ चैत २५ गतेदेखि लागू भएयता वैशाख २७ गतेसम्मको अवधिमा निर्वाचन आचारसंहिता उल्लङघनका तीन ओटा उजुरी परेको र सम्बन्धितलाई  प्रष्टीकरण सोधिएको जानकारी गराउनु भएको छ । नेपाली सेनाको तीन वटा बम डिस्पोजल टोली तीन ठाउँमा राखिने तयारी छ । फुङलिङ नगरपालिका, मित्लुङ र मेरिङ्देनमा डिस्पोजल टोली बस्ने व्यवस्था मिलाइएको छ । जिल्लाका चार ओटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याइने निर्णय गरिएको छ । फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला र याङमा तथा वडा–६ लेलेपको ग्याब्ला र घुन्सा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याउने व्यवस्था मिलाइएको छ । भौगोलिक विकटताका आधारमा फक्ताङलुङ र मिक्वाखोलालाई सम्वेदनशील क्षेत्रको रूपमा राखिएको छ ।

पाँचथर प्रतिनिधि सहमान विश्वकर्माका अनुसार जिल्लामा निर्वाचन प्रयोजनका लागि ९ सय ४ जना म्यादी, ५ सय जना नेपाल प्रहरी र मोवाइल टोलीमा नेपाली सेना र सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । स्थानीय तह निर्वाचन सदस्य ०७९ निर्वाचनका लागि जिल्लामा १ सय ७६ ओटा मतदान केन्द्र र १ सय १ ओटा मतदानस्थल कायम गरिएको छ । १० ओटा सामान्य, ६४ सम्वेदनशील र २७ ओटा केन्द्रलाई अति सम्वेदनशील मानिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेश थापाले बताउनु भयो । कुम्मायक गाउँपालिकामा १० ओटा मतदानस्थल र १५ ओटा मतदान केन्द्र, तुम्बेवा गाउँपालिकामा नौ ओटा मतदानस्थल र १३ ओटा मतदान केन्द्र, फालेलुङ गाँउपालिकामा ११ ओटा मतदानस्थल र २२ ओटा मतदान केन्द्र, फिदिम नगरपालिकामा २२ ओटा मतदानस्थल र ४४ ओटा मतदान केन्द्र, मिक्लाजुङ गाउँपालिकामा १४ ओटा मतदानस्थल र २४ ओटा मतदान केन्द्र,  हिलिहाङ गाउँपालिकामा १२ ओटा मतदान स्थल र २१ ओटा मतदान केन्द्र राखिएको छ । जिल्लामा ६ लाख ६ हजार ६ सय ४८ जना महिला र ७ लाख ३ हजार ५ सय ७६ जना पुरूष गरी जम्मा १४ लाख ०२ हजार २४ जना मतदाता छन् ।

ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार वैशाख ३० गतेको निर्वाचनका जिल्लामा १ हजार ८ सय ६ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचन प्रयोजनका लागि ४ सय जना नेपाली सेना, २ सय ७२ जना सशस्त्र प्रहरी, ५ सय जना नेपाल प्रहरी र ६ सय ३४ जना म्यादी प्रहरी गरिएको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ बताउनु भयो । चुनावलाई निष्पक्ष, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षाकर्मीको मोवाइल टोली परिचालनको व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनु भयो । स्थानीय तह निर्वाचन ०७९ का लागि जिल्लाका आठ ओटा स्थानीय तहका ७९ ओटा मतदानस्थलमध्ये पाँच ओटा मतदानस्थललाई सुरक्षा सम्वेदनशीलताको हिसाबले सम्वेदनशील मानिएको छ । प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले ७९ ओटा मतदान स्थलमध्ये ७४ ओटा मतदानस्थल सामान्य र पाँच ओटा मतदानस्थललाई सम्वेदनशील सूचीमा राखिएको बताउनु भएको छ । जिल्लामा अति सम्वेदनशील मतदानस्थल नरहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । भौगोलिक विकटता, सुरक्षा निकायको पहुँचदेखि टाढा, यातायात र सञ्चारको असुविधा र यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर सम्वेदनशील र सामान्य गरी मतदानस्थल तथा केन्द्र छुट्याइएको प्रशासनले जनाएको छ । जिल्लामा ५९ हजार १ सय ६२ जना पुरूष, ५७ हजार ९ सय २२ जना महिला र अन्य एक जना गरी १ लाख १७ हजार ८५ जना मतदाता छन् ।

अन्य

भिडियो