जिल्ला निर्वाचन कार्यालयले स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा वैशाख २६ गते नमूना मतदानको आयोजना गरी सम्पन्न गरेको छ ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै सदरमुकाम खलंगास्थित खुलामञ्चमा नमूना मतदान कार्यक्रम गरिएको हो ।
जिल्ला निर्वाचन कार्यालयले बदर मत कम गर्न सहयोग पुगोस् भन्ने उद्धेश्यले नमूना मतदान कार्यक्रमको आयोजना गरेको जिल्ला निर्वाचन अधिकारी प्रदीपसिह धामीले जानकारी दिनु भयो ।

नमूना मतदानमा १ सय ५६ जना सहभागी हुनु भएकोमा १६ जनाको मत बदर भएको निर्वाचन अधिकारी धामीले बताउनु भयो ।
यस पटक जिल्लामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरिएको र दलहरुले गठबन्धन गरेका कारण पनि मत बदरको सङ्ख्या बढ्ने देखिएको छ ।
जिल्ला निर्वाचन कार्यालयले निर्वाचनको अघिल्लो दिन हरेक मतदान केन्द्र मै मतदाता शिक्षाबारे जानकारी गराउने तयारी गरेको समेत निर्वाचन अधिकृत धामीको भनाइ रहेको छ ।

नेपालतिरबाट बाटो नभएका तिंकर र छांगुरुका लागि हेलिकेप्टरमार्फात मतपेटिका र सुरक्षाकर्मी लगिँदै
व्याँस गाउँपालिका–१ को मोती महिला संघ आधारभूत तिंकरमा खटिएका मतदान अधिकृत मोहनसिह धामी, र कैलाशपति आधारभूत विद्यालय छाङ्गरु मतदान केन्द्रमा खटिएका मतदान अधिकृत चन्द्रदेव जोशी नेतृत्वको ६ जनाको टोली वैशाख २६ गते बिहानै नेपाली सेनाको हेलिकप्टरमार्फत छाङ्गरु र तिंकर उडनु भएको छ ।
तिंकर चीनसँग सीमा जोडिएको गाउँ हो भने छाङ्गरु भारतसँग सीमा जोडिएको गाउँ हो । यी दुवै गाउँ जान नेपालतिर गोरेटोबाटो नहुँदा नेपाली सेनाको हेलिकप्टरमार्फत मतदान केन्द्रमा परिचालन गरेको हो ।

जिल्लाको सबैभन्दा टाँढा रहेको व्याँस गाउँपालिका वडा नम्बर १ स्थित यी दुवै केन्द्र नेपालको बाटो भएर जाँदा पाँच दिन लाग्छ । यहाँ दुई ओटा गाउँका दुई ओटा मतदान केन्द्र रहेका छन् ।
तिंकरमा २ सय ३१ मतदाता छन भने छाङ्गरुमा ३ सय ६५ जना मतदाता छन् । तर, यी दुवै गाउँमा ५० प्रतिशत मत खस्ने सम्भावना रहेको छ ।
भारतले अतिक्रमण गरेका नावी, गुञ्जी र कुटी गाउँ पनि छाङ्गरुबाट नजिकै पर्छ । यी तीन ओटै गाउँको सेटेलाइट प्रविधिमार्फत जनगणना भएको थियो । तर, अहिले निर्वाचनको बेला भने यी तीन गाउँको कुनै चर्चा भएको छैन् । यी गाउँ अहिले पनि भारतको अतिक्रममा छन् ।
छाङ्गरु र तिंकर गाउँका मतदाता भर्खरै भारतीय बाटोको प्रयोग गर्दै गाउँ उक्लिएका छन् । ६ महिना सदरमुकाम खलंगा र ६ महिना छाङ्गरु तिंकरमा बसोबास छ व्यासी साँैका समुदायको ।

सीमा नाका ७२ घण्टा सील हुने र टाढा मतदान केन्द्र भएको हुँदा यहाँका ज्येष्ठ नागरिक, सुत्केरी तथा सदरमुका खलंगामा घर हेरालु तथा बाबालिकाको स्याहाँर गर्दै आएका स्थानीय भने मतदानबाट वञ्चित हुने भएका छन् ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लाका नौ ओटै स्थानीय तहमा कर्मचारी खटाइसकेका छन् ।
उहाँहरूले सदरमुकाम खलंगास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट निर्वाचन सामग्री र कागजात बुझेर मतदान केन्द्रतर्फ प्रस्थान गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी गणेश विष्टका अनुसार वैशाख २६ गतेसम्म ९० बढी मतदान केन्द्रका मतदान अधिकृतहरुले निर्वाचन सामाग्री बुझेर मतदान केन्द्रतर्फ हिडेका र नजिकका मतदान केन्द्रहरुमा मात्रै निर्वाचन सामाग्री पठाउन बाँकी रहेको छ ।
आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लामा १ सय ३९ मतदान अधिकृत १ सय ३९ सहायक मतदान अधिकृत गरी कुल १ हजार ८१ जना कर्मचारी परिचालन गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लाका नौ स्थानीय तहमा १ सय १० मतदानस्थल र १ सय ३९ मतदान केन्द्र तोकिएको छ ।
८८ हजार २ सय ८५ जना मतदाता रहेका छन् । कुल मतदातामध्ये ४३ हजार १ सय ७४ महिला र ४५ हजार १ सय ११ पुरुष मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
सुरक्षा निकायले मतदानस्थलको सुरक्षाका लागि तीन तहको सुरक्षा रणनीति अपनाएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनु भयो ।
उहाँले सुरक्षाका दृष्टिले जोखिमको मूल्याङ्कन गरी ११ ओटा मतदान केन्द्र अतिसम्वेदनशील सूचीमा राखिएको बताउनु भयो ।