INSEC Online

📅 २०८३ जेष्ठ २१

कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, पाँच जना घाइते

नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच अग्नीसाइर कृष्णसवरन गाउँपालिका–६ मोहनपुरमा वैशाख २३ गते राति झडप हुँदा दुबै पक्षका पाँच जना घाइते भएका छन् ।

झडपमा परी एमाले कार्यकर्ता ५५ वर्षीय टिकाराम अधिकारी, २६ वर्षीय सुमन परियार र २८ वर्षीय सरोजकुमार मगर घाइते भएको एमाले तर्फबाट वडा अध्यक्षका उम्मेदवार कुसुम आचार्यले बताउनु भयो । घाइते अधिकारीको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको अधिकारीका छोरा उज्जवले जानकारी दिनु भयो ।

यसैगरी सोही ठाउँका कांग्रेसका कार्यकर्ताहरू ४५ वर्षीय धनबहादुर राई र ३२ वर्षीय अतिफ वासिममाथि खुकुरी प्रहार गरी घाइते बनाएको कांग्रेस सप्तरीको १ नम्बर क्षेत्रीय सचिव दुर्गा भट्टराइले बताउनु भयो ।

सुकुम्बासी टोल पुगेका एमालेका कार्यकर्ता उज्वल अधिकारी र कांग्रेसका कार्यकर्ता धनबहादुर राईबीच सुरुमा वादविवाद बढेर झगडा भएपछि पुगेको प्रहरीले विवादलाई सामान्य बनाएर घर पठाएको महुली प्रहरीले जनाएको छ ।

बजारबाट मोटरसाइकलमा पुगेका कांग्रेसका कार्यकताहरूले उज्जवललाई नभेटेपछि राति ११ बजे घरमा सुतिरहेका उज्जवलको बुवा टिकारामलाई दाउराको चिर्पटले टाउकोमा प्रहार गरेर घाइते बनाएको पीडितकी पत्नी सीताले बताउनु भयो । गाउँलेहरूले थाहा पाएर प्रतिकार गरेपछि उनिहरू भागेको घाइते टिकारामका छोरा उज्जवलले बताउनु भयो ।

बुवा बेहोस भई ढलेको सुनेर आक्रोशित बनेका उज्जवल अधिकारीको समूहले कांग्रेस कार्यकर्ताहरूलाई आक्रमण गरेको स्थानीयवासीले बताएका छन् । यसै क्रममा राई र वासिमको कुम र कुहिनामा खुकुरीले काटिएर घाइते भएपछि उपचारका लागि विराट नर्सिङ होम विराटनगर भर्ना गरिएको छ ।

कांग्रेस सप्तरीका १ नम्बर क्षेत्रिय सचिव दुर्गा भट्टराईका अनुसार अधिकारीको घरको बाटो भएर सात ओटा मोटरसाइकलमा फर्किरहेका कांग्रेसका कार्यकर्तामाथि घर अगाडि ढुकेर बसेको एमाले कार्यकर्ताको समूहले आक्रमण गरेको आरोप लगाउनु भएको छ ।

एमालेका उज्जवल अधिकारी, रामबहादुर तामाङ्ग, पूर्णबदकुर काफ्ले, सरोजकुमार मगर र भिम पौडेलविरुद्ध प्रहरी कार्यालयमा उजुरी परेको आधारमा मगरलाई घरबाटै प्रहरीले गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय कञ्चनरूपले जनाएको छ । घाइते टिकारामकी पत्नी सीताले समेत राईलगायत विरुद्ध प्रहरी कार्यालयमा उजुरी दिए पनि कोही गिरफ्तार भएका छैनन् ।

अन्य

भिडियो