जिल्ला सदरमुकामस्थित बडिमालिका नगरपालकामा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसर लोकतान्त्रिक चोकमा आचारसंहिता विपरीत टागिएका पार्टीका झण्डा र निर्वाचन चिन्ह् अंकीत झण्डाहरु राजनीतिक दलहरुले वैशाख २४ गते हटाउनु भएको छ ।
इन्सेकलगायत सञ्चारमाध्यमहरुले आचरसंहिता विपरीत दलहरुले सार्वजनीक स्थलमा पार्टी तथा निर्वाचन चिन्ह् अंकीत झण्डाहरु लगाउने कार्य गरिएको भन्दै समाचार प्रकाशन गरेपछि राजनीतिक दलहरुले झण्डाहरु हटाउने कार्य गर्नु भएको प्रमुख जिल्ला अधिकारी उपेन्द्र पौडेलले बताउनु भयो ।
निर्वाचन आचारसंहिता २०७८ मा राजनीतिक दल, उम्मेदवार तथा दलका भातृ संगठनले पालना गर्नु पर्ने आचरणको (ज) मा घर वा जग्गाधनीको अनुमति नलिई कसैको घर वा जग्गामा वा सार्वजनीक भवन, सार्वजनीक उद्यान, सार्वजनीक सडकका पोल वा कुनै पनि सार्वजनीक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह् राख्न वा टाँस्न नहुने उल्लेख छ ।
विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशनपछि जिल्लास्थित सबै राजनीतिक दललाई बोलाएर सर्वदलिय बैठक बसेर छलफल गरी आचारसंहिता विपरीत पार्टीहरुले लगाएका वा टाँसेका झण्डाहरु हटाउन आग्रह गरेपछि सबै राजनीतिक दलहरुले आचारसंहिता विपरीत लगाइएका झण्डाहरु हटाउने कार्य गर्नु भएको मुख्य निर्वाचन अधिकृत माधबप्रसाद धिमेरीले बताउनु भयो ।
जिल्लास्थित राजनीतिक दल नेपाली कांग्रेस, नेकपा ऐमाले, एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रलगायतका पार्टीहरुले आचारसंहिता विपरीत जिल्ला सदरमुकामस्थित सार्वजनीक तथा व्यक्तिगत स्थानमा झण्डा तथा प्रचार सामाग्री टास्ने र झुन्ड्याउने कार्य गर्दै आउनु भएको थियो ।