INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवारहरूलाई निर्वाचन आयोगको स्पष्टीकरण

निर्वाचन आयोगले विभिन्न पार्टीका नेता तथा स्थानीय तह सदस्यका उम्मेदवारहरूलाई आचारसंहिता उल्लङ्घन गरेको भन्दै २४ घण्टाभित्र  स्पष्टीकरण  पेश गर्न आदेश दिएको छ ।

आयोगले रौतहट जिल्ला दुर्गा भगवती गाउँ पालिका वडा नम्बर ५ का अध्यक्ष धर्मानन्द चौधरीले निर्वाचन आचारसंहीता २०७८ विपरीत मतदातालाई प्रभाव पार्ने गरी गतिविधि गरेकोले २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा ०७९ वैशाख २२ गते जारी विज्ञप्तिमा  उम्मेदवार चौधरीले एक महिलालाई २ हजार नगद दिएको तथा अर्का मानिसलाई पाइप दिएकोसमेत व्यहोराको निवेदन आयोगलाई वैशाख २० गते प्राप्त भएको थियो ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्सवाद, लेनिवादी)को तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुख पदको उम्मेदवार केशव स्थापितले सोही महानगरमा प्रतिष्पर्धी उम्मेदवार रहेका बालेन साहको विषयमा दिएको अभिव्यक्ति निर्वाचन आचारसंहीता २०७८ अनुकुल नभएकोले सो विषयमा आधार कारणसहित २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको छ ।

आयोगले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष पदमा उम्मेदवार अमृत खनालले मतदाताको पाउमा हजार रूपैयाँको नोट राखेर भोट माग्दै गरेको तस्वीर सामाजिक सञ्जाल, विभिन्न सञ्चारमाध्यममा समाचार आएकोले निर्वाचन आयोग ऐन २०७३ को दफा २३ बमोजिम किन कारबाही नगर्ने हो?  भनि २४ घण्टा भित्र आधारप्रमाणसहित  स्पष्टीकरण  पेस गर्न निर्देशन जारी गरेको छ ।

यसैगरी बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान स्थानीय तह निर्वाचनमा उम्मेदवारको प्रचारप्रसारमा निरन्तर खटिएको भन्ने फोटोसहितको समाचार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट जानकारीमा आएकोले सो कार्य निर्वाचन आचारसंहीता २०७८ विपरित भएको देखिएकोले २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न आयोगले आदेश दिएको छ ।

आयोगका अनुसार रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरेले नेपाल कम्युनिष्ट पार्टी (एमाले)को उम्मेदवारको प्रचारप्रसारमा खटिएको भन्ने फोटोसहितको समाचार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट जानकारी हुन आएकोले आयोगले निर्वाचन आचारसंहीता २०७८ विपरीत कार्य के कति कारणले गरेको हो भनि २४ घण्टाभित्र आधारप्रमाणसहित स्पष्टीकरण पेस  गर्न  भनिएको  छ ।

निर्वाचन आयोगका प्रवक्ता पौडेलले निर्वाचन आयोगबाट हालसम्म निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ३७ व्यक्ति तथा राजनीतिक दलहरूलाई स्पष्टीकरण सोधेको उल्लेख गर्नुभयो  ।

अन्य

भिडियो