यही ०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि राजनीतिक दलहरुबाट भइरहेको चुनाप प्रचारप्रसारमा शिक्षक र सरकारी कर्मचारीको संलग्नता भएको पाइएको छ ।
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भटटराईका अनुसार सरकारी कर्मचारी र सामुदायिक विद्यालयका शिक्षकहरु चुनाव प्रचारप्रसारमा संलग्न भएका छन् ।
व्यास नगरपालिकामा नेपाली काँग्रेसको चुनाव प्रचार गर्नेमा अधिकांश सामुदायिक विद्यालयका शिक्षक र सरकारी कर्मचारीहरु रहेका छन् ।
अहिले परिक्षा सकिएर नयाँ शैक्षिक सत्र सञ्चालन नभइसकेको हुँदा सामुदायिक विद्यालयका शिक्षकहरु चुनावी प्रचारमा हिड्ने गरेका छन् ।
नेपाली काँग्रेसबाट मेयर पदका उम्मेदवार बैकुण्ठ न्यौपानेको प्रचार टोलीमा शिक्षक, सरकारी कर्मचारी र व्यास नगरपालिकाका स्थायी र करार सेवाका कर्मचारीहरु संलग्न छन् ।
त्यस्तै क्याम्पसका प्राध्यापक, गैरसरकारी क्षेत्रका कर्मचारीहरु पनि चुनाव प्रचारमा सरिक भएका छन् ।
निर्वाचन आचारसंहिताले शिक्षकहरुकुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै कार्य गर्न वा गराउन, प्रचार प्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न रोक लगाएको छ ।
त्यसैगरि सरकारी कर्मचारीहरुले निर्वाचनलाई प्रभाव पार्ने विषयमा सामाजिक सञ्जालमा लेख्न तथा प्रतिक्रिया दिन नहुने पनि निर्वाचन आचारसंहितामा उल्लेख छ ।
निर्वाचन आचार संहितामा जे उल्लेख भएपनि व्यास नगर क्षेत्र भित्रका सामुदायिक विद्यालयका शिक्षकहरु, सरकारी कर्मचारी र नगरपालिकाका कर्मचारीहरु चुनाव प्रचार प्रसारमा सरिक भएको देख्न सकिन्छ ।
नेपाली काँग्रेसका जिल्ला सचिव लक्ष्मीभक्त खनालले शिक्षक र कर्मचारीमा मतदाता भएको हुँदा बिदाको समयमा घर नजिकैको कार्यक्रममा सहभागी हुनुलाई निर्वाचन आचार संहिताको उल्लंघन भन्न नमिल्ने बताउनुभयो ।
काँग्रेस पार्टीले शिक्षक र सरकारी कर्मचारीलाई चुनावमा लाग्न निर्देशन नदिएको उहाँले बताउनुभयो ।
चुनाव प्रचारमा हिँडेका एक शिक्षकले आफ्नै वडाको कार्यक्रम भएको कारण सभामा मन्तव्य सुन्न मात्र गएको बताउनुभयो ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले शिक्षक र कर्मचारीहरु चुनाव प्रचारमा हिँडेको बारेमा कार्यालयमा मौखिक उजुरी आएको बताउनुभयो ।
अहिलेसम्म यसबारेमा लिखित उजुरी नआएको भन्दै उहाँले सरकारी कर्मचारी र शिक्षकहरु चुनावको प्रचारमा हिँडेको भनि प्रमाणसहित लिखित उजुरी आएमा कारवाहीको लागि निर्वाचनमा आयोगमा सिफारिस गरिने बताउनुभयो ।

बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार शिक्षा विकास तथा समन्वय एकाई बागलुङले शिक्षक कर्मचारी निर्वाचन आचारसंहिता विपरित चुनाव प्रचारमा लागेको भन्दै ध्यानाकर्षण गराएको छ ।
एकाइ प्रमुख कुश्माराज उपाध्यायले शिक्षक कर्मचारी निर्वाचन प्रचार प्रसारमा लागेको भन्ने सूचना प्राप्त भएको भन्दै आचार संहिता विपरित गरेको प्रमाण प्राप्त भएमा कारबाही हुने बताउँनुभयो ।
एकाइले विद्यालयलाई पत्राचार गर्दै निर्वाचन आचारसंहिता विरुद्ध हुने कुनै पनि कार्य नगर्न/नगराउन भनेको छ ।
दलका चुनावी अभियानमा शिक्षक प्रत्यक्ष रुपमै संलग्न भएका गुनासा आएपछि त्यसलाई निरुत्साहित पार्न पहल लिइएको एकाइ प्रमुख उपाध्यायले बताउनुभयो ।