INSEC Online

📅 २०८३ जेष्ठ २१

मोरङमा निर्वाचन लक्षित सेना, सशस्त्र र नेपाल प्रहरीको सुरक्षा गस्ती सुरू

मोरङमा निर्वाचन सुरक्षा योजना अन्तर्गत नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले पेट्रोलिङ्ग गस्ती सुरू गरेको छ ।

स्थानीय तह निर्वाचन ०७९ का वैशाख ३० गतेका लागि जिल्लाका ३ सय ओटा मतदान केन्द्रहरूमध्ये ४२ ओटा मतदान केन्द्रलाई अति सम्वेदनशील, १ सय ६२ ओटा मतदान केन्द्रमध्ये ९६ ओटा मतदान केन्द्रलाई सम्वेदनशील र ४२ ओटा मतदान केन्द्रलाई सामान्य मतदान केन्द्रका रूपमा वर्गीकरण गरिएको र सोही अनुसार सुरक्षा प्रबन्ध मिलाएर नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षा गस्ती सुरू गरेको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताउनु भयो ।

मोरङ नेपालमै सबैभन्दा बढी मतदाता भएको जिल्ला हो । ३ लाख ५१ हजार ७ सय ६९ जना महिला, ३ लाख ६३ हजार ४ सय ४८ जना पुरुष र अन्य ६ जना गरी जिल्लामा मतदाताको सङ्ख्या ७ लाख १५ हजार २ सय २३ छ । निर्वाचन आयोगका अनुसार विराटनगर महानगरपालिकामा सबैभन्दा बढी १ लाख ३३ हजार १ सय ४२ जना मतदाता छन् ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवनकश्यप अधिकारीका अनुसार जिल्लामा विगतकै ३ सय ओटा मतदानस्थल कायम भएका छन् । मतदान केन्द्र ८ सय २० ओटा कायम भएका छन् ।

जिल्लामा तीन प्रकारका मतदान केन्द्रको वर्गीकरण गरी अवस्था हेरेर पर्याप्त सुरक्षाकर्मी परिचालन गरेर जिल्लाको समग्र शान्ति सुरक्षाको स्थितिको निगरानी सुरु गरिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताउनु भयो ।

जिल्लामा १७ ओटा स्थानीय तहमा ३ सय ओटा मतदानस्थल तोकिएको छ । मतदानस्थल अन्तर्गत ८ सय ३३ ओटा मतदान केन्द्रमा मतदाताले मत खसाल्ने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

निर्वाचनका लागि जिल्लामा ४ हजार १ सय कर्मचारी खटिने भएका छन् । सुरक्षालाई मजबुत बनाउनका लागि ३ हजार सुरक्षाकर्मी र ३ हजार १ सय म्यादी प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताउनु भयो ।

प्रत्येक मतदानस्थलको भित्री घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी खटिने गरी व्यवस्था मिलाइएको छ । त्यस भन्दा बाहिरी घेरामा सशस्त्र प्रहरी र त्यस भन्दा बाहिरी घेरा नेपाली सेनाले कभर गर्ने गरी सुरक्षा योजना कार्यान्वनयनमा ल्याउने तयारी प्रशासनको छ ।

केन्द्रीय सुरक्षा योजना अनुसार जिल्लाको सुरक्षा योजनालाई आवश्कयताका आधारमा व्यवस्थित गरिने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

मतदान केन्द्रका आधारमा विराटनगर महानगरपालिकामा १ सय ४० ओटा मतदान केन्द्र कायम गरिएका छन् । सबैभन्दा कम मतदान केन्द्र मिक्लाजुङ गाउँपालिकामा २८ ओटा निर्धारण गरिएका छन् ।

अन्य

भिडियो