स्थानीय तह निर्वाचन–२०७९ नजिकिदै जाँदा राजनीतिक दलहरुले दिनप्रतिदिन निर्वाचन आचारसंहिता विपरीतका गतिविधिहरुलाई बढवा दिइरहेको पाइएको छ ।
इन्सेक प्रतिनिधिहरुले गर्दै आउनु भएको अनुगमनका क्रममा राजनीतिक दलहरुले निर्वाचन आचारसंहिताको पूर्ण रुपमा पालना नगरेको पाइएको हो ।
राजनीतिक दलका कार्यकर्ताबिच झडप तथा कुटपिटका घटनाहरुमा पनि पछिल्ला दिनहरुमा बृद्धि भएको पाइएको छ ।
बैतडी जिल्लामा नेकपा एमालेका कार्यकर्ताहरुले वैशाख १९ गते डिलाशैनी गाउँपालिका–५ निवासी नेकपा माओवादी केन्द्रबाट सदस्य पदका उम्मेदवार ६० वर्षीय हरीराम साउदमाथि खुकुरी प्रहार गर्दा गम्भिर घाइते भए ।
कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका–१९ बागफाँटामा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ताबिच वैशाख २१ गते झडप हुँदा नेकपा एमालेका दुई जना कार्यकर्ता घाइते भएका छन् ।
यस प्रकारका अप्रिय घटनाहरु हुनुमा राजनीतिक दल तथा तिनका कार्यकर्ताहरुले निर्वाचन आचारसंहिताको पूर्ण पालना नगर्दा हुँने गरेको इन्सेक प्रतिनिधिहरुले गरेको अनुगमनका क्रममा पाइएको छ ।
इन्सेक कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा राजनीतिक दलहरुले आचारसंहिता विपरीत चुनावी प्रचारप्रसार व्यापक बनाएका छन् ।
राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्ने प्रतिबद्धता जाहेर गरेको भएपनि स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते मनोनयन दर्ता भएको दिनदेखि नै राजनीतिक दलहरुले आचारसंहिता विपरीत बाजागाजा, माइकिङ्ग, चारपाङ्ग्रे गाडी, मोटरसाइकल, बालबालिकाको प्रयोग, चुनाव चिन्ह् अंकीत झण्डा, व्यानर, पोष्टर लगायतका चुनावी सामाग्रीको व्यापक प्रयोग गर्दै आएका छन् ।

निर्वाचन आचारसंहिता २०७८ को परिच्छेद ४ को दफा १२ को उपदफा (थ) मा कुनै पनि किसिमको भित्तेलेखन, चार पाङ्ग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडा लगायतका सबै प्रकारको सवारी साधान प्रयोग गरी र्याली आयोजन गर्न नहुने उल्लेख गरिएको छ ।

विभिन्न राजनीतिक दलहरुले निर्वाचन आचरसंहिता पूर्ण रुपमा पालना गर्ने प्रतिबद्धता जाहेर गरेको भएपनि अधिकांश राजनीतिक दलहरु आचारसंहिता विपरीत चुनावी प्रचार प्रसारमा होमिएको इन्सेकले गरेको अनुगमनको क्रममा पाइएको छ ।

वैशाख ७ गते धनगढीमा इन्सेक, राष्ट्रिय मानव अधिकार आयोग र निर्वाचन कार्यालयको संयुक्त रुपमा आयोजना गरिएको स्वच्छ, निष्पक्ष तथा भयरहित स्थानीय निर्वाचनका लागि सरोकारवालाको भुमिका र प्रतिबद्धता विषयक अन्तरक्रिया कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले आचारसंहितको पूर्ण पालना गर्ने गराउने प्रतिबद्धता समेत जाहेर गरेका थिए ।

इन्सेक डडेल्धुरा प्रतिनिधि भूपेन्द्र विष्टका अनुसार नेपाली कांग्रेसको तर्फबाट अमरगढी नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिनु भएका डिल्लीराज जोशीले भारतीय नम्बर प्लेटका दुई ओटा गाडी प्रयोग गर्दै निर्वाचन आचारसंहिता विपरीत चुनावको प्रचार प्रसार गर्दै आएनु भएको छ ।
मेयर पदका उम्मेदवार जोशीले आचारसंहिता विपरीत यूके ३ टीए ०८०६ र यूके ३ टीए ०७४० नम्बरका दुई ओटा स्कारपियो गाडी प्रयोग गरी निर्वाचन प्रचार प्रसार र पार्टीका कार्यकर्ताहरु बोक्ने गरेको निर्वाचन अनुगमनका क्रममा पाइएको हो ।

निर्वाचन आचारसंहितामा नेपालमा दर्ता भएका गाडीहरु निर्वाचन प्रयोजनको लागि प्रत्यक्ष उम्मेदवारले अधिकतम दुई ओटा हल्का सवारी साधन निर्वाचन अधिकृतको कार्यालयबाट स्विकृत लिएर सञ्चालन गर्न पाउने प्रावधान छ ।

इन्सेक दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामी निर्वाचन आंचारसहिंता विपरीत सत्तारुढ गठबन्धनका उम्मेदवार जिताउन एक सातादेखि चुनावी प्रचार प्रसारमा सहभागि हुँदै आउनु भएको छ ।
नौगाड गाउँपालिका वडा नम्बर १ घर भएका मन्त्री नौगाड गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्ष पदका उम्मेदवार माओवादीका दलजीतसिंह धामी र उपाध्यक्ष पदका उम्मेदवार नेपाली कांग्रेसका जगत ठगुन्नाको पक्षमा चुनावी कार्यक्रम, र्याली र प्रचार प्रसारमा सहभागि हुँदै आउनु भएको हो ।

मन्त्री धामीले निरन्तर रुपमा प्रचार प्रसारमा गर्दै आउनु भएको छ भने उहाँले वैशाख २० गते धुलीगडा र सुण्डमुण्ड र वैशाख २१ ग्ते सिप्टीमा आयोजित चुनावी आमसभालाई समेत सम्बोधन गर्नु भएको छ ।

निर्वाचन आचारसहिताले प्रदेश सरकारका मन्त्रीहरुले कुनै पनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने उल्लेख छ ।
मन्त्री धामीले आचारसंहिता उल्लङ्घन गरेको सम्बन्धमा आफूलाई लिखित जानकारी नआएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले बताउनु भयो ।
