INSEC Online

📅 २०८३ जेष्ठ २१

उपमेयर पदकी उम्मेदवारविरूद्ध सर्वोच्चमा रिट दायर

विराटनगर महानगरपालिकाको उपमेयर पदमा नेकपा एमालेबाट उम्मेदवारी दिनु भएकी शिल्पा निराला कार्कीविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

उम्मेदवार कार्कीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको राजीनामाको कागजातको आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी सदर गराएको भएपनि कार्कीविरूद्ध रिट दर्ता भएको हो ।

निर्वाचन आयोगले आफैं आचारसंहिताको निर्देशिका उल्लङ्घन गरेको भन्दै आयोगविरूद्ध पनि रिट दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय मोरङ र निर्वाचन आयोग काठमाण्डौँमा उपमेयर पदकी उम्मेदवारविरूद्ध विराटनगर महानगरपालिकामा जनता समाजवादी पार्टीबाट उपमेयर पदमा उम्मेदवारी दिनु भएका अमरेन्द्र यादवले सर्वाेच्चमा परमादेश माग्दै रिट दर्ता गराएका हुन् ।

कार्कीले कोशी अस्पाताल विकास समितिको सदस्य पदबाट राजीनामा नदिइ उम्मेदवारी दिएको भन्दै विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा यादवले उम्मेदवारी खारेजी माग गर्दै उजुरी दिएका थिए । तर, निर्वाचन कार्यालयले उजुरकर्ताको माग दाबी नपुगेको भन्दै कार्कीको उम्मेदवारी सदर गराएपनि यादव सर्वाेच्चसम्म पुगेका छन् ।

सर्वाेच्चमा वैशाख १९ गते रिट दर्ता भएकोमा वैशाख २० गते इदको सार्वजनिक बिदा भएकाले मुद्दाको निस्सा प्राप्त हुन नसकेको मेयर पदका उम्मेदवार अमरेन्द्र यादवका प्रतिनिधि अधिवक्ता पेशल आचार्यले बताउनु भयो । रिटमा अदालतले वैशाख २२ गतेका लागि पेशी तोकिएको छ ।

कानुन व्यवसायीहरूका अनुसार सर्वाेच्चले चाहेमा वैशाख २२ गतेको पहिलो सुनवाइमै अन्तरिम आदेश जारी गरेर एमालेबाट उपमेयर पदमा उम्मेदवारी दिनु भएकी शिल्पालाई चुनावी प्रतिस्पर्धा गर्नबाट रोक लगाउन सक्नेछ । अन्तरिम आदेश जारी नगरी मुद्दा लम्बिए र दावी प्रमाणित भएमा भने कार्की विजयी भएपनि पद खारेज हुनेछ ।

कोशी अस्पताल विकास समिति सदस्यमा बहाल रहेको अवस्थामा उम्मेदवारी दिनु भएकी कार्कीविरूद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेपछि ०७९ वैशाख ९ गतेको मिति राखेर कोशी अस्पतालमा राजीनामा बुझाउनु भएको थियो ।

अस्पतालले विकास समितिको सदस्यको राजीनामा स्वास्थ्य मन्त्रालयले स्वीकृत गर्नुपर्ने बताएपछि उहाँले वैशाख ११ गते मन्त्रालयमा राजीनामा दर्ता गरेको प्रतिलिपि निर्वाचन कार्यालयमा पेश गनुए भएको थियो ।

उपमेयर पदकी उम्मेदवार कार्कीले निर्वाचन कार्यालयमा पेश गरेको राजीनामाको दर्ता नम्बर प्रमाणित भइ सकेको छ । कार्कीको राजीनामा मन्त्रालयमा दर्ता नभएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवले उपलब्ध गराएको आधिकारिक सूचना विवरण अनुसार कार्कीले राजीनामा स्वीकृत गरेको मिति र दर्ता नम्बरमा उक्त दिन मन्त्रालयको मुल दर्ता किताबमा सूर्य नेपाल प्रालि काठमाण्डौँको सूर्तिजन्य पदार्थ ऐनबारेको कागजात दर्ता भएको पाइएको छ ।

कार्कीले वैशाख १२ गते उपमेयरमा उम्मेदवारी दर्ता गर्दा अस्पताल विकास समिति सदस्यबाट राजीनामा नदिएको भन्दै कार्कीविरूद्ध उजुरी परेको थियो ।

उजुरीपछि कार्कीले वैशाख ११ गते नै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा राजीनामा बुझाएको ७२९९ नम्बरको दर्ता नम्बरसहितको प्रतिलिपि निर्वान आयोगमा बुझाउनु भएको थियो ।

कार्कीले बुझाएको कागजातको आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्कीको उनको उम्मेदवारी सदर गरिसकेको छ ।

अन्य

भिडियो