स्थानीय तह निर्वाचन ०७९ वैशाख ३० गते नजिकिएसँगै प्रदेश १ मा निर्वाचन आचारसंहिता उल्लङ्घनका दृश्यहरू बढेर गएको अनुगमनका क्रममा पाइएको छ ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले जारी गरेको आचारसंहिता प्रदेश १ मा चुनाव मिति नजिकिएसँगै उल्लङ्घन भएको पाइएको हो ।
निर्वाचन आचारसंहिता ०७८ को दफा १२ को ९ ङ मा उम्मेदवारको कार्यालयमा ३×३ फिटको झण्डा र सोही नापको चुनाव चिन्ह बाहेक दलको डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरू प्रदर्शन गर्न नहुने, तोकिएका भन्दा ठूलो साइजका झण्डा, चुनावी प्रचारप्रसारका क्रममा दुई ओटा सवारी साधनको प्रयोग, दलका चुनाव चिन्हृ अङ्कित भेष्टलगायतका सामाग्री उत्पादन, वितरण तथा प्रचारप्रसार आचारसंहिता विपरित भने पनि प्रदेश १ मा राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारहरूले आचारसंहिता उल्लङ्घन गरेको पाइएको छ ।
खोटाङ प्रतिनिधि तारानाथ फुयलका अनुसार जिल्लाका राजनीतिक दलहरूले मुख्य निर्वाचन अधिकृत मात्रिकाप्रसाद आर्चायको निर्देशनलाई अवज्ञा गरेका छन् । निर्वाचन अधिकृत आर्चायले सर्वपक्षीय बैठकमा आचारसंहिता विपरितका प्रचार सामग्री र झण्डाहरू बजार क्षेत्रबाट हटाउन निर्देशन दिएपनि जिल्लाका राजनीतिक दल र उम्मेदवारहरूले निर्वाचन अधिकृतको निर्देशनलाई अवज्ञा गरेका हुन् । दिक्तेल बजारमा चुनावी गतिविधिका लागि मापदण्ड विपरितका झण्डा, व्यानर र तुलको प्रयोग गरिएको छ । वैशाख २० गते भित्र सबै प्रकारका चुनावी प्रचारप्रसार सामग्री हटाउन मुख्य निर्वाचन अधिकृतले निर्देशन दिएपनि कसैले पालना गरेका छैनन् । घरदैलो अभियानका क्रममा मापदण्ड विपरितका कार्यहरू जिल्लामा भएका छन् ।
उदयपुर प्रतिनिधि सुजाता ढुङ्गानाका अनुसार त्रियुगा नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदमा उम्मेदवारी दिएका बसन्त बस्नेतकाविरूद्ध मूल्य अभिवृद्धि कर भ्याट नतिरेको भनि परेको उजुरीलाई मुख्य निर्वाचन अधिकृतको कार्यलयले खारेज गरी दिएको छ । नेकपा एमालेबाट त्रियुगा नगरपालिकामा मेयर पदका लागि उम्मेदवारी दिएका भागवत राउतले बस्नेतविरूद्ध एपेक्स इन्द्रिणी जेभीको नामबाट कारोबार गर्दा मूल्य अभिवृद्धि कर भ्याट बक्यौता तिर्न बाँकी रहेको भन्दै वैशाख १९ गते मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए । रौतामाई गाउँपालिका–१६ मा आचारसंहिता विपरित शिक्षकहरू भोट माग्न हिँडेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरमा वैशाख १९ गते उजुरी परेको छ । नेकपा माओवादी केन्द्रका उम्मेदवारका लागि आचारसंहिता विपरित भोट माग्दै हिँडेको भन्दै कार्यालयमा उजुरी परेको हो । उजुरीका विषयमा निर्वाचन अधिकृतको कार्यालयले कारबाही गर्ने जनाएको छ । जिल्लाका प्रमुख राजनीतिक दलले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएको छ । आचारसंहिता विपरित घरदैलो कार्यक्रममा बालबालिकाको प्रयोग, मत माग्न बाल बालिकाको प्रयोग गरेको पाइएको छ । मापदण्ड भन्दा बढी सबारी साधनको प्रयोग गरिएको छ । ब्यानर तथा फ्लेक्स मापदण्ड भन्दा ठूलो साईजमा बनाइएको छ । आचारसंहितका विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कुनै उजुरी नपरेको निर्वाचन कार्यालयले जनाएको छ ।
मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार चुनाव मिति नजिकिएसँगै जिल्लामा निर्वाचन आचारसंहिता उल्लङ्घनका दृश्यहरू देखिएका छन् । निर्वाचन आचारसंहिताका विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी नपरेको मुख्य निर्वाचन अधिकृत भरत लम्सालले बताउनु भयो । उम्मेदवार तथा राजनीतिक दलका प्रतिनिधिले घरदैलो अभियानका क्रममा दुई ओटा भन्दा बढी सवारी साधनको प्रयोग, मोटरसाइकल र्याली, भेष्ट वितरण गरेका छन् । आयोगको मापदण्ड विपरितका झण्डा, व्यानर तथा पोष्टरलगायतका लागि चुनाव प्रचारका लागि प्रयोग गरिएका छन् । स्थानीय पत्रपत्रिकामा उम्मेदवारको फोटा छापेर भोट मागिएको छ ।




सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार चुनाव नजिकिएसँगै जिल्लामा आचारसंहिता उल्लङ्घनका दृश्य बढेका छन् । राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारहरूले मापदण्ड विपरित बाजा, साउण्ड बक्सको प्रयोग गरेका छन् । तोकिएको भन्दा ठूला साइजका झण्डा, तुल, व्यानर बनाएर सडक बजारमा टाँस गरेका छन् ।
झापा प्रतिनिधि नरेश खातीका अनुसार जिल्लामा निर्वाचन आचारसंहिता विपरितका गतिविधि प्रतिदिन बढ्दै गएका छन् । बद्धशान्ति गाँउपालिकाका उपाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार भिमकुमार नेवारले निर्वाचन आचारसहिता विपरीत प्रचारप्रसार गरेका छन् । उपाध्यक्ष पदका स्वतन्त्र उम्मेदवारका नेवारले घरदैलो कार्यक्रममा मापदण्ड विपरीत झण्डा, ब्यानर राखी, माइक बजाई आचारसहिताको अवज्ञा गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी अर्जुनधारा नगरपालिका प्रचारप्रसार समितिले नगरपालिकाका प्रमुख पदका उम्मेदवार सूर्य खतिवडाको समूहको नाममा मत माग्न पिकपभेनमा मापदण्ड विपरीतका झण्डा र ब्यानर राखी चुनावको प्रचारप्रसार गरेका छन् ।

ताप्लेजुङ प्रतिनिधि देवराज गुरुङका अनुसार प्रदेश १ का श्रम तथा रोजगार मन्त्री प्रतापप्रकाश हाङमाङले चुनाव प्रचारप्रसार अभियानमा मन्त्रालयको गाडीको प्रयोग गरेको भन्दा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । नेकपा एमाले जिल्ला कमिटिको कार्यालयका सचिव लीलाचक्र गुरुङले चुनावी अभियानमा मन्त्रालयको गाडी प्रयोग गरेको भन्दै उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो उजुरीका विषयमा कारबाही गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा राजनीतिक दलले आचारसंहिता विपरित घरदैलो अभियानका क्रमा फ्लेक्स प्रिण्टको प्रयोग गरेका छन् । उम्मेदवार तथा राजनीतिक दलका प्रतिनिधिले आयोगले तोके विपरितका झण्डा, व्यानर तथा तुलको प्रयोग गरेका छन् ।
पाँचथर प्रतिनिधि सहमान विश्वकर्माका अनुसार जिल्लामा राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारहरूले आचारसंहिता विपरित हुने गरी झण्डाको प्रयोगलाई व्यापक बनाएका छन् । आयोगले तोकेको मापदण्ड विपरितका दलको चुनाव चिन्हृ अङ्कित झण्डा सवारी साधनहरूमा अत्यधिक प्रयोग गरेका छन् ।





इलाम प्रतिनिधि बविता मैनालीका अनुसार जिल्लामा राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारहरूले श्रव्य सामग्री बनाएर रेडियोमार्फत प्रसारण गराएर चुनाव प्रचारप्रसार गरेका छन् । आयोगले तोकेको मापदण्ड भन्दा बढी पटक बजाएर आचारसंहिता उल्लङ्घन गरेका छन् ।
धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार जिल्लामा राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारहरूले चुनाव प्रचारप्रसार अभियानमा बालबालिकाको प्रयोग गरेका छन् । आयोगले तोकेको मापदण्ड विपरित माइकको प्रयोग गरेका छन् । झण्डा, तुल तथा व्यानरको प्रयोग गरी उम्मेदवारहरूले आचारसंहिता उल्लङ्घन गरेका छन् । जिल्लामा बजार क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा मोटरसाइकल र्याली, चुनावी सभालगायत आयोगले निषेध गरेका कार्य उम्मेदवारहरूले भोट माग्ने क्रममा गरेका छन् ।

भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार जिल्लामा नेकपा माओवादी केन्द्रका सङ्घीय सांसद सुदन किराँतीले आयोगले जारी गरेको आचारसंहिता विपरित वैशाख २१ गते भोजपुर नगरपालिका–९ पानीट्याङ्कीमा अवस्थित वज्रयोगिनी मन्दिरको उद्घाटन गरेका छन् । मतदातालाई प्रभावित पार्न किराँतीले मन्दिर उद्घाटन गरेको अन्य दलका प्रतिनिधिले आरोप लगाएका छन् । जिल्लामा चुनाव प्रचारप्रसार अभियानका क्रममा आचारसंहिता विपरित बालबालिकाको प्रयोग, मोटरसाइकल र्याली, मापदण्ड विपरितका झण्डा, तुल, व्यानर र फ्लेक्सको प्रयोग गरिएको छ । आचारसंहिता विपरितका गतिविधिका विषयमा उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार जिल्लामा बजार क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा निर्वाचन आचारसंहिता विपरितका कार्य बढेर गएका छन् । चुनाव मिति नजिकिएसँगै राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारहरूले ग्रामीण क्षेत्रमा आचारसंहिता विपरित झण्डा, व्यानर, र्याली तथा चुनावी अभियान सञ्चालन गरिरहेका छन् ।
तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार जिल्लामा राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारहरूले चुनावी सभाहरू विद्यालयमा सञ्चालन गरेका छन् । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता विपरित उम्मेदवारहरूले विद्यालयमा चुनावी सभाहरू सञ्चालन गरे पनि सो विषयमा उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उम्मेदवारहरूले दुई ओटा भन्दा बढी सवारीसाधन, तोकिए भन्दा मापदण्ड विपरितका झण्डा, व्यानर तथा तुलको प्रयोग भोट माग्नका लागि प्रयोग गरेका छन् ।



ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्लामा राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारहरूले घरघरमा चुनाव चिन्हृ अङ्कित र उम्मेदवारका फोटा अङ्कित प्लेक्स टाँस्ने क्रमलाई बढाएका छन् । आचारसंहिता विपरित माइकिङ्क र साउण्ड बक्सको प्रयोग गरी भोट माग्ने क्रममा जिल्लामा बढेको छ ।