जिल्ला निर्वाचन कार्यालय तनहुँको प्राविधिक सहयोग र नेपाल पत्रकार महासंघ तनहुँको आयोजनामा वैशाख २० गते दमौलीमा नमूना मतदान सम्पन्न भएको छ ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निश्पक्ष र व्यवस्थित बनाउने उद्देश्यले मतदानको तयारी स्वरुप नमूना मतदान गरिएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले बताउनुभयो ।

नमूना मतदानले मतदान प्रक्रियाको बारेमा मतदाताले जानकारी पाउन सक्ने उहाँको भनाइ रहेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले मतदानलाई भय र त्रास रहित बनाउनुपर्नेमा जोड दिनुभयो ।
निर्वाचनको विश्वसनियताबारे सञ्चारकर्मीले मतदातालाई विश्वस्त बनाउनुपर्ने उहाँको भनाइ थियो ।

नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलले अभिव्यक्ति स्वतन्त्रताको मुख्य आधार पनि मतदान नै भएको हुँदा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नमूना मतदानको आयोजना गरिएको बताउनुभयो ।

सो नमूना मतदानमा ६१ जनाको सहभागिता रहेको थियो । ६१ मत खसेकोमा मेयर पदमा मत बदर भएको थियो ।

मतदानमा सहभागी मतदाताले मतपत्र ठुलो भएको र राजनीतिक दलहरुले गठबन्धन गरेको कारण उम्मेदवार पहिचान गर्न नै समस्या पर्न सक्ने बताउनुभयो ।
सो नमूना मतदानको इन्सेक प्रतिनिधिले पर्यवेक्षण गरेका थिए ।
