स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते मनोनयन पत्र दर्ता गराएकामध्ये धनुषामा मेयर, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य गरी कूल १ सय ९ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालय धनुषाले जनाएको छ ।
जनकपुरधाम उपमहानगरपालिका, ११ नगरपालिका र ६ गाउँपालिकासहित १८ ओटा स्थानीय तह रहेका छन् ।
जनकपुरधाम उपमहानगरपालिकामा उम्मेदवारी दिएकाहरूमध्ये मेयर पदका दुईसहित १५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
मेयर पदमा उम्मेदवारी दिएका वैधनाथ साह, नन्दकुमार भगत, उपमेयरका उम्मेदवार विश्वनाथ साह सुडी तथा ११ जना वडाध्यक्ष र एक सदस्य पदले मनोनयन फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनु भयो ।
मिथिला नगरपालिकामा मेयरमा नेकपा एमालेबाट बागी भएर उम्मेदवारी दिएका निवर्तमान मेयर हरिनारायण महतो र जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिएका चन्देश्वर महतो, वडाध्यक्ष पदका पाँच जना र वडा सदस्य पदका चार जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत दीपक धितालले बताउनु भयो ।
धनुषाधाम नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीबाट उपमेयरमा उम्मेदवारी दिएकी मेनका कुमारी सिंह र वडाध्यक्षका दुई तथा सदस्यका चार जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत चिरञ्जिवी गौतमले बताउनु भयो ।
बटेश्वर गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार खलेन्द्रबहादुर कटुवालसहित वडाध्यक्ष पदका एक जना उम्मेदवार र एक जना दलित महिला सदस्यका एक उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत उद्धव ढोडारीले जानकारी दिनु भयो ।
धनौजी गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार लक्ष्मण मण्डल र दुईजना वडाध्यक्ष पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत पोषराज खनालले बताउनु भयो ।
विदेह नगरपालिकामा पाँच जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत अनुज भण्डारीले जानकारी दिनु भयो ।
विदेहमा वडाध्यक्ष पदका दुई र महिला सदस्यका तीन जनाले उम्मेदवारी फिर्ता लिएकी छन् ।
हंसपुर नगरपालिकामा एक सदस्य र एक दलित सदस्य सहित दुईजनाले उम्मेदवारी फिर्ता लिएका छन् भने सबैला नगरपालिकामा ६ जना वडाध्यक्ष र एक वडा सदस्य पदका उम्मेदवारसहित सात जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत बासुदेव पाण्डेले जानकारी दिनु भयो ।
क्षीरेश्वरनाथ नगरपालिकामा वडाध्यक्ष पदका तीन, सदस्य चार, दलित महिला सदस्य दुई र महिला सदस्य एक गरि १० जनाले उम्मेदवारी फिर्ता लिएका छन् भने शहिदनगर नगरपालिकामा सात जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
वडाध्यक्ष पदका एक, सदस्य दुई, दलित सदस्य दुई र महिला सदस्य दुई जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत उत्तमप्रसाद खरेलले जानकारी दिनु भयो ।
नगराईन नगरपालिकामा १४ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत सुदीप कुमार दङ्गालले जानकारी दिनु भयो ।
नगराईनमा वडाध्यक्ष पदका चार, सदस्य सात र महिला सदस्य पदका तीन जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
मिथिला विहारी र कमला नगरपालिकामा वडाध्यक्ष पदका एकरएक जनाले उम्मेदवारी फिर्ता लिएका छन् । गणेशमान चारनाथ नगरपालिकामा भने तीन जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा तीन जना, औरही गाउँपालिकामा तीन वडाध्यक्षसहित सात जना, लक्ष्मिनियाँ गाउँपालिकामा आठ र जनकनन्दिनी गाउँपालिकामा दुई जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।