मधेस प्रदेशका स्थानीय तहमा राजनीतिक दलका उम्मेदवारहरुले स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते शान्तिपूर्ण तवरले मनोनयन दर्ता गराएका छन् । उम्मेदवारी मनोनयन दर्ताका क्रममा राजनीतिह दलहरुले निर्वाचन आचार संहिता उल्लङ्घन गरेको इन्सेक प्रतिनिधिहरुले गरेको अनुगमनबाट पाइएको छ ।
सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार निर्वाचन आचार संहिता, २०७२ र स्थानीय तह निर्वाचन आचार संहिता, २०७३ उल्लङ्घन गर्दै वैशाख १२ गते विभिन्न राजनीतिक दलहरुले सप्तरीमा उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् ।
राजविराज नगरपालिकासहित विभिन्न पालिकामा उम्मेद्वारी दिन गएको जुलुसमा चुनाव चिन्ह अङ्कित टिसर्ट, बालबालिकाको व्यापक प्रयोग र मोटरसाइकल र्याली गरिएको छ । जुलसमा प्रयोग भएका व्यानर र झण्डाहरु पनि तोकिएका भन्दा ठूलो आकारका थिए ।
निर्वाचन आचार संहिता, २०७२ को ४ को (ड) मा निर्वाचन प्रचार प्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने उल्लेख छ । यस्तै ४ को ज (१) मा उम्मेदवार वा राजनीतिक दलको नाम वा निर्वाचन चिन्ह अंकित ज्याकेट, कमिज, टिसर्ट, टोपी, गम्छा वा अन्य कुनै किसिमको पहिरन वा स्टीकर, लोगो, झोला, ट्याटु जस्ता साङ्केतिक सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने व्यवस्था छ ।
निर्वाचन आचार संहिता, २०७२ को ५ (क) को ४ मा उम्मेदवार वा राजनीतिक दलले अधिकार प्राप्त अधिकारीबाट अनुमति लिई प्रयोग गरेको सवारी साधनमा ३ फिट × ३ फिट भन्दा ठूलो आकारको ब्यानर वा झण्डा प्रयोग गर्न वा गराउन नहुने उल्लेख छ ।
यस्तै ५ (क) को ६ मा जुलुस वा आमसभामा भाग लिने व्यक्तिले १० इन्च × १८ इन्च भन्दा ठूलो आकारको झण्डा प्रयोग गर्न वा गराउन नहुने व्यवस्था गरिएको छ ।
स्थानीय तह निर्वाचन आचार संहिता, २०७३ को ४ (ख) मा उपमहानगरपालिका र नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा सदस्य र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्यका उम्मेदवारले निर्वाचन प्रचार प्रसारको लागि बढीमा एउटा चार पाङ्ग्रे हलुका सवारी साधन र दुई वटा मोटरसाइकल प्रयोग गर्न सक्ने व्यवस्था छ ।
वैशाख १२ गते सप्तरीको नौ नगरपालिकामा ४० जनाले मेयरमा र २८ जनाले उपमेयरमा मनोनयन दिएका थिए । यस्तै नौ गाउँपालिकामा ४७ जनाले अध्यक्षमा २३ जनाले उपाध्यक्षमा मनोनयन दिएका छन् । वडा अध्यक्षमा ३ सय ६७ जना, खुला वडा सदस्यमा ५ सय ८० जना, महिला सदस्यमा २ सय ९८ र दलित महिला सदस्यमा २ सय ८० गरी १ हजार ६ सय ६३ जनाले मनोनयन दर्ता गरेका छन् । स्थानीय तहको विभिन्न निर्वाचन कार्यालयबाट मनोनयन अपडेटको क्रम आइरहेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिनु भयो ।
वैशाख ११ गते सप्तरीको नौ नगरपालिकामा १९ जनाले मेयरमा र १४ जनाले उपमेयरमा मनोनयन दिएका थिए । यस्तै नौ गाउँपालिकामा २१ जनाले अध्यक्षमा १८ जनाले उपाध्यक्षमा मनोनयन दिएका छन् । वडा अध्यक्षमा १ सय ८५ जना, खुला वडा सदस्यमा ३ सय १ जना, महिला सदस्यमा १ सय ४३ र दलित महिला सदस्यमा १ सय ३४ गरी ८ सय ३५ जनाले मनोनयन दर्ता गरेका थिए ।
सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि जिल्लामा बैशाख १२ गते दोस्रोे दिन शान्तिपुर्ण रुपमा दलहरुले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन अधिकृत इन्दिरा यादवले बताउनु भयो ।
प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजबादी, जसपा, लोसपा, जनमत, स्वतन्त्र, राप्रपा लगायतका दलहरुका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएको र दर्ता गराउने प्रकृया ५ बजे पछि पनि जारी रहेकोले ५ बजेसम्मको सुचना अनुसार आठ वटा नगरपालिकामा प्रमुखको लागि ७८ जना, उपप्रमुखको लागि ४७ जना, नौ ओटा गाउँपालिकाको लागि ९३ जना अध्यक्षमा र उपाध्यक्षको लागि ४४ जनाको उम्मेदवारी परेको र वडा अध्यक्ष, सदस्यहरु गरी कुल उम्मेदवार २ हजार २० भएपनि यो सङ्ख्या बढ्ने अधिकृत यादवले बताउनु भयो ।
उम्मेदवारी दर्ता गराउन दलहरुले बाजागाजासहित नारा जुलुस लगाउँदै निर्वान अधिकृतको कार्यालयसम्म पुगेको थियो भने उम्मेदवारी दर्ताको प्रकृया इन्सेक लगायतका संस्थाहरुले प्रयवेक्षण गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी शुभाष बुढाथोकीका अनुसार जिल्लामा उम्मेदबारी दर्ता शान्तिपुर्ण रुपमा भएको र कतै कुनै अप्रिय घटना नभएको जानकारी दिनु भयो ।
धनुषा प्रतिनिधि दिपेन्द्र प्रसाद सिंहका अनुसार वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको लागि उम्मेदवारी मनोनयनको दोस्रो दिन वैशाख १२ गते राजनीतिह दलहरुले शान्तिपूर्ण रुपमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । तर, राजनीतिक दलहरुले उम्मेद्वारी मनोनयन गर्न जाँदा बालबालिकाको प्रयोग, डिजे बजागाजा, अत्यधिक मास तथा र्यालीको प्रयोग तथा सवारी सधान र निर्वाचन चिन्ह अङ्कित टि सर्ट, व्यानरहरुको प्रयोग गरी आचार संहिता उल्लङ्घन गरेको पाइयो ।
धनुषाको बटेश्वर गाउँपालिकामा जनता समाजवादी पार्टीले छातामा निर्वाचन चिन्ह अङ्कित लोगो र प्रचारसहितको सामग्री प्रयोग गरेको, धनुषाको हंसपुर नगरपालिकामा नेपाली काग्रेसले डिजे बाजा बजाउँदै बालबालिकालाई झण्डा तथा व्यानर बोकाई प्रर्दशन गराएको पाइयो भने सबैला नगरपालिकामा जनमत पार्टीले निर्वाचन चिन्ह अंकित टि सर्ट लगाएर मनोनयन दर्ताका क्रममा आफ्ना कार्यकर्ताहरु प्रयोग गरेको पाइयो ।
मनोनयन दर्ताको अनुगमन इन्सेक मधेस प्रदेश कार्यालयका प्रदेश प्रमुख राजु पासवान र राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालयका मानव अधिकार अधिकृत मनमाया रानामगर लगायतले गरेका थिए ।
रौतहट जिल्ला प्रतिनिधिका अनुसार वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागि मनोनयन दर्ताको लागि जिल्लाका सबै पालिकाका उम्मेदवारहरुले तोकिएको समयमा शान्तिपूर्ण रुपमा सम्बन्धित निर्वाचन कार्यालयहरुमा मनोनयन दर्ता गराएका छन् । निर्वाचनमा बालवालिकालाई प्रयोग गर्न नपाइने भनि आचार संहिता जारी भएपनि सबै दलहरुले मनोनयन दर्ताको दिन बालबालिका प्रयोग गरीएको अनुगमनका क्रममा पाइयो । डिजे बाजागाजा, गाडी, अटोरिक्साहरु, ठुला ठुला व्यानर लगायतको निर्वाचन आयोग आचारसंहिता विपरीत कार्य नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र लगायतका दलहरुबाट भएको देखियो ।
यस विषयमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरका डिएसपी सन्तुलाल प्रसाद जयसवालसँग कुराकानी गर्दा शान्ति सुरक्षाको विषयमा ध्यान दिनुपर्ने भएकोले सो विषयमा सेवा दिने क्रममा हल्ला विवादहरु भएपनि पुनः सहज भई कुनैपनि किसिमको आर्थिक तथा भौतिक क्षति नभएको बताउनु भयो । चन्द्रपुरको लागि निर्वाचन अधिकृतको रुपमा खटिनु भएको बद्रीकुमार कार्कीले मनोनदन दर्ता कार्यक्रम सौहार्दपुर्ण वातावरणमा सम्पन्न गरिएको बताउनु भयो । मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जिल्लाभरि शान्तिपूर्ण मनोनयन दर्ता भएको बताउनु भयो ।
पर्सा जिल्ला प्रतिनिधि केसि लामिछानेका अनुसार जिल्लामा स्थानीय तह निर्वाचनका लागि मनोनय दर्ता शान्तिपुर्ण तवरले सम्पन्न भएको छ । वीरगञ्ज महानगरपालिकाको नगरप्रमुखमा बैशाख १२ गते १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसअघि उम्मेद्वारी दर्ताको पहिलो दिन चैत ११ गते बीरगंज महानगरपालिकाको प्रमुख पदमा सोमवार १२ जनाले उम्मेदवारी दर्ता गरएका थिए ।