वैशाख ३० गते हुनगइरहेको स्थानीय तह निर्वाचनको मनोनयन दर्ताका क्रममा जिल्लास्थित राजनीतिक दलहरुले निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको पाइएको छ ।
निर्वाचन आचारसंहिता २०७८ अनुसार निर्वाचनका क्रममा राजनीतिक दलहरुले झण्डालगायत दलको चिन्ह् अंकित कुनै पनि सामाग्री बोकेर जुलुस वा प्रचारमा हिड्न नपाउने व्यवस्था गरिएको भएपनि वैशाख १२ गते मनोनयन दर्ता गराउने क्रममा त्यसको उल्लङ्घन गरेको पाइएको हो ।
जिल्लाका बिभिन्न स्थानीय तहमा मनोनयनको कार्यक्रम गर्दा दलहरुका झण्डाले निर्वाचन अधिकृत कार्यालयहरु भरिभराउ भएको पाइएको छ ।
आचारसंहिता विपरीत सयौँ झण्डा फहराउँदै जिल्ला प्रशासन अगाडि नै दलहरुले निर्धक्कका साथ जुलुस गरेको पाइएको छ ।
जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले दलहरुलाई आचारसंहिताको ख्याल गर्न चेतावनी दिएको छ ।
आफैले प्रतिबद्धता जनाएको आचारसंहिता उल्लङ्घन गरेको भएपनि आइन्दा पूर्ण रुपमा पालना गर्नु पर्ने मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले बताउनु भयो ।
‘सर्बदलिय बैठकमा दलहरुसँग छलफल भयो । पार्टीको चुनाव चिन्ह् भएको झण्डा, टोपी, ब्यानर, टिसर्ट प्रदर्शन गर्न पाइदैन भनेर हामीले जानकारी गराएका छौँं,’ मुख्य निर्वाचन अधिकृत कार्कीले भन्नु भयो, ‘चुनाव भड्किलो हुँदैन, खर्च कम हुन्छ, त्यसैले आचारसंहिता पूर्ण पालना गर्नुस ।’
मनोनयनका क्रममा आचारसंहिता उल्लङ्घन भएपनि आइन्दा त्यसो भए निर्वाचन आयोगले दिएको निर्देशन अनुसार कडा रुपमा प्रस्तुत हुनु पर्ने अवस्था आउने उहाँले बताउनु भयो । आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लास्थित राजनीतिक दलहरु पूर्ण रुपमा चुनावमा होमिएका छन् ।
जनप्रतिनिधिहरुको दौँडमा कतै गठबन्धत त कतै एक्लाएक्लै रुपमा होमिएका उम्मेदवारहरु पूर्ण तयारीका साथ भोट माग्दै गाउँगाउँ पुगिरहेका छन् ।
जिल्लामा आज नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकिकृत समाजवादी, राप्रपा र जनता समाजवादी पार्टीले उम्मेदवारी दर्ता गराएका छन् ।




