नेकपा माओवादी केन्द्रको पार्टीबाट टिकट पाउने र नपाउने बीचको विवाद बढ्दै जाँदा उम्मेवार हुन नपाउने कार्यकर्ताले उम्मेदवारी दर्ता गर्ने क्रममा ०७९ वैशाख १२ गते चौतारा सदरमुकाममा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा चौतारा सगाचोकगढी नपाको कार्यालय तोडफोड गरेका छन् ।
चौतारा साँगाचोकगढी नपा वडा नं. ४ कुबिण्डे र वडा नं. १४ का माओवादी केन्द्रका वडा अध्यक्षका प्रत्यासी उम्मेदवारबीच विवाद हुँदा झडप भएको हो ।
उम्मेदवारको विषयमा विवाद हुँदा सुरुमा माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालय तोडफोड भएको थियो ।
पार्टी कार्यालयमा विवाद नमिलाएर नै जिल्लास्तरिय नेताहरू उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचन कार्यालयमा गएपछि मुख्य निर्वाचन कार्यालयमा समेत झडप भयो ।
झडपका क्रममा मुख्य निर्वाचनको कार्यालय तोडफोड भएपछि उम्मेदवारी मनोनयन प्रकृया समेत अवरोध भएको थियो ।
प्रहरीले अश्रुग्यास र हवाइ फायर गरेपछि थप क्षति हुन पाएको छैन । मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई प्रहरीले नियन्त्रणमा लिई सुरक्षा दिएपछि मनोनयन दर्ताका कार्य सूचारु गरिएको मुख्य निर्वाचन अधिकृत चन्द्रप्रकाश तिवारीले बताउनु भयो ।
अघिल्लो पटक माओवादी केन्द्रबाट चौतारा सगाचोकगढी नपामा निर्वाचित मेयर अमानसिं तामाङले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।
तामाङले स्वतन्त्र उम्मेदवारी दर्ता गरेपछि माओवादी केन्द्रको विवाद बढ्दै गएर झडपको स्थितिमा पुगेको थियो ।
नेकपा समाजवादीसँग सभामुख अग्नीप्रसाद सापकोटा पक्षले एकलौटी रूपमा तालमेल गरेको र स्थानीय वडाका कार्यकर्ताहरूलाई जानकारी नगराएको भन्दै चौतारा सागाचोकगढी नपा वडा नं. १ का कार्यकर्ताहरू उत्तेजित भई नेता कृष्णप्रसाद सापकोटा विरुद्ध नारावाजी गरेका थिए ।
नेकपा माओवादी केन्द्रले नेकपा समाजवादीलाई चौतारा साँगाचोकगढीमा उपमेयर र दुई वडा दिनेगरी गठबन्धन गरेको छ ।
