कैलारी गाउँपालिका–७ विपद्पुरस्थित मुक्त कमैया शिविरमा भएको आगजनीबाट ७३ घर जलेर नष्ट भएका छन् ।
वैशाख ११ गते गहुँको नलमा लगाएको आगो दिउँसो गाउँमा सल्किएपछि ७३ घर जलेर नष्ट भएको स्थानीय मुक्त कमैया इन्द्रा चौधरीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
उहाँले रूदै भन्नु भयो– ‘आजसम्म यस्तो भिषण आगलागी देखेको थिएन । एक घरबाट अर्को घरमा कति छिटो सल्कियो की हेर्दा हेर्दै गाउँ नै सखाप भयो । घर भित्र अन्न, कपडा केही बचाँउन सकिएन । गोठमा बाँधेको बंगुर, बाँख्रा सबै जलेर नष्ट भयो । मानिसको जीवन बाहेक केही बाँचेन ।’
जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी वेदप्रकाश जोशीले धनगढी उपमहानगरपालिका, टिकापुर र गौरीगंगा नगरपालिकाको दमकल, स्थानीय र सशस्त्र प्रहरीको प्रयासले आँगो नियन्त्रणमा आएको भएपनि क्षतिको विवरण प्राप्त हुँन नसकेको इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारीसँग इमरजेन्सी बैठक बसेर विपद् व्यवस्थापन समितिको टोली सुक्खा खाना, चाउचाउ र त्रिपाल लिएर घटना भएको ठाउँ गइरहेको समेत डिएसपी जोशीले बताउनु भयो ।
कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले आगलागी घटनाका पीडितहरुको लागि झुल सहित तत्कालका लागि औषधि, सुख्खा खाना, प्रति परिवारलाई एक / दुई छाक हुने गरी चामल पठाइएको इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
उहाँले क्षतिको विवरण आउन बाँकी रहेकोले क्षतिको विवरण आइसकेपछि राहतको लागि अन्य निकायसँग समन्वय गर्ने योजना बनाएको बताउनु भयो ।