चन्द्रागिरी नगरपालिकाको वडा नम्बर ८ ले स्थानीय निर्वाचनको सम्मुखमा स्थानीय महिलाहरूलाई वितरण गर्न लागेको १ सय १० थान साडी प्रहरीले बरामद गरेको छ ।
नगरापालिकाको ८ नम्बर वडाले वैशाख ९ गते निकालेको सूचना निर्वाचन आचार संहिता विपरीत भएको भन्दै निर्वाचन आयोगको निर्देशनमा प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग बलम्बुबाट संयुक्तरुपमा खटिएको प्रहरीको टोलीले वडा कार्यालयको भवनबाट १ सय १० थान साडी बरामद गरेको हो ।
चन्द्रागिरी नगरपालिका वडा नंबर ८ का वडाध्यक्ष सन्तोष खड्काद्वारा हस्ताक्षरित एक सूचनामा महिलाहरूलाई १० गते दिउँसो २ बजे साडी लिन आउन सूचित गिरिएको थियो ।
‘वडा कार्यालयमा साडी पाऊँ भनी आवेदन दिनुभएका दिदी बहिनीहरूले तपसिलको मिति, समय र स्थानमा साडी बाँड्ने कार्यक्रम रहेकोले वडा कार्यालयमा आई साडी बुझिलिनु हुन अनुरोध छ,’ वडाध्यक्ष खड्काले जारी गरेको सूचनामा उल्लेख छ ।
सोही सूचनाका आधारमा निर्वाचन आयोगले स्थानीय निर्वाचन २०७९ को आचार संहिताको उक्त कार्य रोक्न निर्देशनपछि प्रहरीको टोलीले बाँड्न लागेको साडी बरामद गरेको जिल्ला प्रहरी परिसरका एसपी विश्वराज मैनालीले बताउनु भयो ।
उक्त घटनाको सम्बन्धमा प्रहरी वृत्त थानकोटले थप अनुसन्धान अघि बढाएको एसपी मैनालीले जानकारी दिनुभयो ।
