INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न राजनीतिक दलको प्रतिबद्धता

कास्की जिल्लामा क्रियाशिल राजनीतिक दलहरूले स्थानीय तहको  निर्वाचनमा बालबालिका प्रयोग बारे निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप), अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सिविन र जागृती बाल तथा युवा सरोकार नेपालको संयुक्त आयोजनामा वैशाख १० गते गरिएको स्थानीय तहको निर्वाचन र बालबालिकाका सवाल विषयक अन्तरक्रिया कार्यक्रममा नेकपा (एमाले), नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपा लगायतका दलहरूले निर्वाचनमा बालवालिकाको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका हुन् ।

Photo20220423Kaski2

राजनीति दलका प्रमुख र वालअधिकारका सवालमा क्रियाशिल सरोकारवालाको सहभागिता रहेको कार्यक्रममा स्वागत भनाइ राख्दै इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले बालबालिकालाई कुनै पनि वहानामा राजनीतिक कार्यक्रममा प्रयोग गर्न हुँदैन भनेपनि सो कुरा सुधार हुन नसकेको बताउनुभयो ।

उहाँले जुन सुकै निर्वाचनमा बालवालिका र विद्यालयको प्रयोग नगर्न राजनीतिक दलहरूलाई आग्रह गर्दै दलिय घोषणापत्रमा बालबालिकाका सवाललाई समेट्न आवश्यक रहेको उहाँको भनाइ थियो ।

नेकपा एमाले कास्की अध्यक्ष मन वहादुर गुरूङले पार्टीको प्रतिबद्धता पत्र र घोषणा पत्रमा बालबालिकाका अधिकारलाई समेटिएको बताउँदै त्यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बालबालिकाको दुरूपयोगलाई गर्नेलाई कारवाही गर्न आफूहरू तयार रहेको उहाँको भनाइ थियो ।

Photo20220423Kaski3

नेपाली काङ्ग्रेस कास्कीका सहसचिव नवीन सिग्देलले बालबालिकाका अधिकारलाई सुनिश्चित गराउन आफू र आफ्नो दल प्रतिबद्ध रहेको बताउनुभयो ।

‘जति कुरा बोल्छौ त्यसलाई कार्यान्वयन गर्न प्रतिबद्ध छौ’,– उहाँले भन्नुभयो ।

नेकपा माओवादी केन्द्र पोखरा महानगर अध्यक्ष हरिनारायण गिरीले बालबालिकालाई गलत प्रयोग गर्न नदिने दायित्व सबैको रहेको बताउदै बालबालिकाले राजनीतिक रूपमा सचेत बन्न पाउने अधिकार बारेपनिसचेत बन्नुपर्ने भनाइ राख्नुभयो ।

‘कुनैपनि बहानामा बालबालिकाको दुरूपयोग गर्न रोकौ तर बालबालिकालाई राजनैतिक रूपमा सचेत बन्न रोकौ भन्ने तर्क चाहिँ नगरौं’,–उहाँले भन्नुभयो ।

कानुनले तोकेका मापदण्डका विषयमा आफूहरू सचेत गरेको उहाँको भनाइ थियो ।

नेकपा एकीकृत समाजवादी कास्की उपाध्यक्ष डिवी राईले आचारसंहितामा प्रतिबद्धता जनाउँदै बालबालिकाको प्रयोगलाई शुन्यमा झार्न सबैको भुमिका रहने बताउनुभयो।

राप्रपा कास्की प्रवक्ता गणेशबहादुर ढकालले बालबालिकालाई राजनीतिक सहभागी गराउने काम घरबाटै हुने गरेको भन्दै बाबुआमाहरूलाई पनि कानुनी रूपमा सचेत गराउन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा सिजपका अध्यक्ष राजेश शर्माले निर्वाचन आचारसंहिता र बालबालिका विषयक प्रस्तुतिकरण गर्दै  निर्वाचनमा बालबालिकाको प्रयोग कानुनी रूपमै बन्देज गरिएको बताउदै राजनीतिक दलहरू गम्भीर बन्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रमुख चन्द्रकान्त चापागाईंले राजनीतिक दलले निर्वाचन आचारसंहितालाई सम्बोधन र कार्यान्यवनका लागि प्रतिबद्धता जाहेर मात्रै गर्ने नभई व्यवहारिक रूपमा लागु गर्न आवश्यक रहेको बताउनुभयो ।

Photo20220423Kaski4

पछिल्ला निर्वाचनमा बालबालिकाहरूको प्रयोग न्यूनिकरण हुँदै गएको भन्दै निर्मुल पार्न आवश्यक रहेको उहाँको भनाइ थियो ।

मानव अधिकार एलाइन्स केन्द्रिय सदस्य रामचन्द्र पौडेलले अझै पनि बालबालिकालाई जुलुस तथा र्‍यालीहरूमा प्रयोग गर्ने परम्परा तोडिन नसकेको बताउनुभयो ।

विद्यालयमा दलको भातृ संगठन खोल्न प्रधानमन्त्री शेर वहादुर देउवाबाट आव्हान गरिनु निकै दुःखद रहेको भन्दै उहाँले राजनीति नेतृत्व नै बालबालिकाका सवालमा गम्भीर बन्न नसकेको बताउनुभयो ।

बालगृह सञ्जालका केन्द्रिय महासचिव विजय प्रधानले राजनीति दलहरूले बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता गरेर स्थानीय तहका राजनीति दलका कमिटीलाई पनि सर्कुलर गर्न आवश्यक रहेको बताउनुभयो ।

शान्तिका लागि नागरिक सञ्जाल कास्कीका संयोजक विना सिलवालले निर्वाचन आचारसंहितामा राजनीति दलहरूको प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो ।

निर्वाचनको माहोललाई प्रयोग गर्ने गरी बालबालिकाहरूमाथि यातना र हिंसा गर्नेहरू सक्रिय बन्ने गरेको भन्दै त्यस्ता व्यक्तिलाई संरक्षण गर्न नहुने उहाँको भनाइ थियो ।

शिक्षिका भगवती तिमिल्सिनाले विद्यालयमा निर्वाचन केन्द्र तोकिने परम्परालाई हटाउन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा पोखरा महानगर बालमञ्चको तर्फबाट राजनीतिक दलहरूलाई बालबालिकाको सवाल घोषणा पत्रमा समेट्न सुझाव पत्र हस्तान्तरण गरिएको थियो ।

Photo20220423Kaski1

अन्य

भिडियो