निर्वाचन आयोगले २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पर्यवेक्षणका लागि ४४ ओटा राष्ट्रिय संस्थाहरूलाई अनुमति दिएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न गराउन स्वतन्त्र ढङ्गले पर्यवेक्षण गराउन आयोगले निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७८ बमोजिमको मापदण्ड पूरा गरेका इन्सेक लगायत ४४ ओटा राष्ट्रिय संस्थालाई पर्यवेक्षण अनुमति दिने निर्णय गरेको आयोगका प्रवक्ता सालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो
स्थानीय तह निर्वाचन २०७९ को पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थाका लागि १५ दिनको समय दिई पर्यवेक्षण अनुमतिका लागि गत चैत १३ गते आयोगले सूचना प्रकाशित गरी आवेदन माग गरेको थियो ।
सो अवधिभित्र ६५ ओटा संस्थाबाट विद्युतीय माध्यमद्वारा निवेदन प्राप्त भएकोमा पर्यवेक्षणको मापदण्ड पुगेका ४४ ओटा संस्थालाई पर्यवेक्षणको अनुमति दिएको निर्वाचन आयोगका प्रवक्ता सालिग्राम शर्मा पौडेलले इन्सेक जिल्ला प्रतिनिधिलाई बताउनुभयो ।
पौडेलका अनुसार निर्वाचनको पर्यवेक्षण गर्न अनुमति दिईएक संस्थाबाट तोकिएको योग्यता पुगेका १० हजारभन्दा बढी स्वतन्त्र पर्यवेक्षकहरूले मुलुकभरीका तोकिएको मतदानस्थलमा पुगी पर्यवेक्षण गर्नेछन् ।
उहाँका अनुसार आफ्नो मतदाता नामावली रहेको सम्बन्धित स्थानीय तहमा भने पर्यवेक्षकहरूले पर्यवेक्षण गर्न पाउने छैनन् ।
पर्यवेक्षकलाई आयोगले पर्यवेक्षण गर्ने मतदान स्थलसमेत खुलाई छुट्टाछुट्टै परिचयपत्र उपलब्ध गराउने छ ।
पर्यवेक्षकहरूले निर्वाचन प्रक्रियाको पर्यवेक्षण गरी तोकिएको ढाँचामा आयोगसमक्ष प्रतिवेदनसमेत बुझाउनुपर्ने छ ।