INSEC Online

📅 २०८३ जेष्ठ २१

अक्सिजन प्लान्ट विष्फोट हुँदा दुई जनाको मृत्यु, ६ जना घाइते

पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन ग्यास प्लान्टमा विष्फोट हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

ललितपुर महानगरपालिका–१५ मा रहेको औद्योगिक क्षेत्रमा ०७९वैशाख ८ गते बिहान ९ बजेर ५५ मिनेट जाँदा अक्सिजन सिलिण्डर भरेर बन्द गरी सकेपछि बिस्फोट भएको प्लान्ट अपरेटर सरोज सिंहले बताउनु भयो ।

अक्सिजन सिलिण्डर बिस्फोटको घटनामा भारत, पश्चिम चम्पारणका ४५ वर्षीय बृज महतोको घटनास्थलमै मृत्यु भएको थियो भने घाइतेमध्ये भारत घर भइ हाल ललितपुर महानगरपालिका–१८ बस्ने २५ वर्षीय राजुकमार महतोको पनि उपचारको क्रममा मृत्यु भएको पाटन अस्पतालले पुष्टि गरेको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले जानकारी दिनुभयो ।

घटनामा गम्भीर घाइते घाइते भएका चन्द्रागिरी नगरपालिका–२ दहचोकका ४९ वर्षीय गंगाराज शर्माको बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, पर्सा घर भई महालक्ष्मी नगरपालिका–७ चागाथली बस्दै बएका ४३ वर्षीय रमेश अधिकारी, महालक्ष्मी नगरपालिका–८ का ३६ वर्षीया दुर्गा पुरी, गोदावरी नगरपालिका–९ का १९ वर्षीय सुदीप तिमिल्सेना, महांकाल गाउँपालिका–५ चन्द्नपुरका २२ वर्षीय ईश्वर बजगाई, ओखलढुङ्गा घर भई ललितपुर महानगरपालिका–५ महालक्ष्मीस्थान बस्दै आएका २० वर्षीया अन्जना पौडेल पनि घाइते भएकोमा पाटन अस्पतालमा उपचारपछि डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।

अहिले घटनास्थलमा नेपाल प्रहरीको विपद् व्यवस्थापन टिमले सुरूआती अनुसन्धान गरिरहेको र सुरूआती अनुसन्धानपछि यसको विस्तृत अनुसन्धान हुने एसपी शाहले बताउनु भयो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार विष्फोटपछि आगलागी नभएकाले थप क्षति हुन पाएन ।

प्रमुख जिल्ला अधिकारी उपाध्यायले भन्नु भयो– ‘क्षति अहिले नै यकिन गर्न सकिँदैन । के कति भयो अनुसन्धानपछि थाहा हुन्छ’ । उहाँले भन्नु भयो– ‘छिमेकको घरहरूको पनि सिसा फुटेको छ ।’

स्वास्थ्य उपचारका लागि बिरामीलाई अत्यावश्यक पर्ने अक्सिजन उत्पादन गर्ने उद्योगमा सुरक्षा मापदण्ड पालना भए नभएको भन्ने विषयमा जिल्ला प्रशासन तथा प्रहरी प्रशासन कसैले बोल्न चाहेनन् ।

त्यस्तै, दुर्घटनास्थलको निरीक्षणका लागि पुगेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले मृतकको परिवारले पाउने राहत सरकारले तत्काल दिने बताउनु भयो ।

मन्त्री बडूले अक्सिजन भर्ने क्रममा यसरी बिष्फोट हुनु साधारण नभएको भन्दै यसलाई गहन अनुसन्धान गर्ने बताउनु भयो ।

उहाँले सरकारले यो विषयलाई प्राथमिकताका साथ राखेर प्राविधिकहरूलाई बोलाएर नै अनुसन्धान गर्ने बताउनु भयो ।

प्लान्टका सञ्चालक नारायणदत्त तिमल्सिनाका अनुसार घटना के कसरी भयो भन्ने एकिन गर्न कठिन भएकोले अनुसन्धान विज्ञहरूबाट यथार्थ थाहा हुनेछ ।

Oxz-1 Oxz-3 Oxz-5 Oxz-7

अन्य

भिडियो