वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा मधेस प्रदेशका १ हजार ६३ मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखिएको छ ।
जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा निर्वाचन आयोगले मधेस प्रदेशमा १ हजार ६३ मतदान केन्द्रलाई अति संवेदनशील, ८ सय ८८ संवेदनशील र २ सय १२ केन्द्रलाई सामान्य मतदान केन्द्रको सूचीमा राखिएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
अति संवेदनशील सूचीमा राखिएको मतदान केन्द्रमध्ये धनुषामा १ सय ८३, महोत्तरीमा १ सय १०, सप्तरीमा २ सय ८, सिरहामा १ सय ७०, सर्लाहीमा १ सय ३, रौतहटमा ८३, बारामा ६२ र पर्सामा ६२ ओटा मतदानस्थल अति संवेदनशील मानिएका छन् ।
सप्तरीमा ८५, सिरहामा ४६, धनुषामा १ सय १६, महोत्तरीमा १ सय ४५, सर्लाहीमा १ सय ८४, रौतहटमा १ सय १९, बारामा १ सय ८ र पर्सामा ८५ ओटा मतदानस्थललाई संवेदनशील सूचीमा राखिएको छ ।
सप्तरीमा चार, सिरहामा पाँच, धनुषामा २४, महोत्तरीमा तीन, सर्लाहीमा ३१, रौतहटमा ७४, बारामा ५१ र पर्सामा २० ओटा मतदानस्थल सामान्य सूचीमा रहेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
विगतको चुनावमा निर्वाचन बिथोलिएको र झडप समेत भएको मतदानस्थलहरूलाई सुरक्षा निकायले अति संवेदनशील सूचीमा राखेको मधेस प्रदेशका डीआइजी उमेश रञ्जितकारले जानकारी दिनु भयो ।
डीआइजी रञ्जितकारका अनुसार विगतमा भन्दा अहिले सुरक्षा चुनौती बढेको छ । उहाँले अहिले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, जनमत पार्टी र स–साना समूहका कारण सुरक्षा चुनौती रहेको बताउनु भयो ।
डीआइजी रञ्जितकारले भन्नुभयो–‘विप्लव नेतृत्वको नेकपाको गतिविधि र खुला सिमानाका कारण सुरक्षा चुनौती रहेकाले मधेसका धेरै मतदानस्थललाई ‘अति संवेदनशील’ सूचीमा राखिएको हो ।’
त्यस्तै सत्ता गठबन्धन र विपक्षी दलसँग हुन सक्ने अप्रत्याशित तथा सम्भावित झडपलाई समेत ‘सुरक्षा थ्रेट’को रूपमा विश्लेषण गरिएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
डीआइजी रञ्जितकारले मधेस प्रदेशको सबै जिल्लामा खुला सिमानाका कारण र स–साना हातहतियारले सुरक्षा चुनौती रहेको बताउनु भयो ।
उहाँले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सीमा क्षेत्रहरुमा निर्वाचनको ७२ घण्टा अघिदेखि नै पूर्णरूपले आवतजावत बन्द रहने गरी सिमाना सील गर्ने बताउनु भयो । उहाँले प्रदेशका सबै जिल्लाहरुमा प्रहरीले उच्च सतर्कताको साथ काम गरिरहेको बताउनु भयो ।
मधेस प्रदेशमा ३३ लाख ३१ हजार १ सय ७० जना मतदाता कायम
स्थानीय तह निर्वाचनका लागि मधेस प्रदेशमा ३३ लाख ३१ हजार १ सय ७० जना मतदाता छन् ।
यस प्रदेशमा १७ लाख ९७ हजार ९ सय ४५ पुरुष, १५ लाख ३३ हजार १ सय ५८ महिला र अन्य ६६ गरी कूल ३३ लाख ३१ हजार १ सय ७० जना मतदाताले मतदान गर्न पाउने भएका छन् ।
प्रदेशभर २ हजार १ सय ६३ मतदानस्थल कायम गरिएको छ भने ४ हजार १ सय ८९ मतदान केन्द्र निर्धारण गरिएको प्रादेशिक निर्वाचन कार्यालयका अधिकारी श्रीधर पन्तले जानकारी दिनु भयो ।
सप्तरीमा २ सय ९७ मतदानस्थलमा ५ सय ३६ मतदान केन्द्र, सिरहामा २ सय २१ मतदानस्थलमा ४ सय ९८ मतदान केन्द्र, धनुषामा ३ सय २३ मतदानस्थलमा ५ सय ९३ मतदान केन्द्र र महोत्तरीमा २ सय ५८ मतदानस्थलमा ४ सय ९७ मतदान केन्द्र निर्धारण गरिएको छ ।
सर्लाहीमा ३ सय १८ मतदानस्थलमा ५ सय ९९ मतदान केन्द्र, रौतहटमा २ सय ७६ मतदानस्थलमा ५ सय १८ मतदान केन्द्र, बारामा ३ सय ३ मतदानस्थलमा ५ सय ४१ मतदान केन्द्र तथा पर्सामा १ सय ६७ मतदानस्थलमा ४ सय ४ मतदान केन्द्र निर्धारण गरिएको छ ।