छात्राहरूमाथि यौन दुर्व्यवहारको आरोप लागेका बागमती गाउँपालिका–८, शान्तिपुरस्थित जनता माविका दुईजना शिक्षकलाई प्रहरीले ०७९ वैशाख २ गते गिरफ्तार गरेको छ ।
प्रहरीले यौन दुर्व्यवहार घटनाका आरोपित ५१ वर्षीय लोकबहादुर विक र ५७ वर्षीय रुद्रबहादुर विकलाई वैशाख २ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।
छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको घटनाका आरोपित तीन जना शिक्षकमध्ये ४१ वर्षीय हेमबहादुर विक ०७८ चैत २५ गते आफै प्रहरी नियन्त्रणमा आएका थिए ।
पीडित छात्राहरूका आफन्तले आरोपित शिक्षकहरूविरुद्ध ०७८ चैत २४ गते जिल्ला प्रहरी कार्यलयमा यौन दुर्व्यवहारको किटानी जाहेरी दिएका दिए ।
आरोपित शिक्षकहरूले लामो समयदेखि छात्राहरू माथि यौन दुर्व्यवहार गरेको र विद्यालयमा निवेदन दिँदा समेत आवश्यक कारबाही नभएको भन्दै ०७८ चैत २२ गते विद्यार्थीहरूले विद्यालय तोडफोड गरेका थिए ।
शिक्षकहरूले आफूहरूलाई गलत नियतले छुने तथा अश्लिल गतिविधि गर्ने गरेको छात्राहरूको आरोप छ ।
निवेदनमा छलफल गर्न चैत २२ गते विद्यालय परिसरमा विद्यालय, अभिभावक, विद्यालय व्यवस्थापन, राजनीतिक दलका प्रतिनिधिहरू बीच बैठक बसेको थियो ।
बैठकमा भएको छलफलमा चित्त नबुझेपछि विद्यार्थीहरूले विद्यालय तोडफोड गरेका थिए ।