INSEC Online

📅 २०८३ जेष्ठ २१

स्थानीय तह निर्वाचन ०७९– प्रदेश १ का ३ सय २१ मतदानस्थल अति सम्वेदनशील, ७ सय ४८ सम्वेदनशील र ७ सय ९ सामान्य

०७९ वैशाख ३० गतेका लागि तय गरिएको स्थानीय तह निर्वाचन ०७९ मा प्रदेश १ का ३ सय ३१ ओटा मतदानस्थल अति सम्वेदनशील, ७ सय ४८ ओटा सम्वेदनशील र ७ सय ९ ओटा मतदान केन्द्रलाई सामान्य मतदानस्थलका रूपमा वर्गीकरण गरिएको छ ।

प्रदेश १ निर्वाचन कार्यालय विराटनगरका अनुसार प्रदेश १ मा स्थानीय तह निर्वाचन ०७९ का लागि १ हजार ८ सय ७७ ओटा मतदानस्थल र ४ हजार ५१ ओटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

०७९ वैशाख २९ गतेभित्र १८ वर्ष उमेर पुरा भएका र मतदाता नामावलीमा नाम दर्ता गराएका पुरूषको सङ्ख्या १६ लाख ९९ हजार ८ सय जना, १६ लाख ४७ हजार ५ सय ६१ जना महिला र अन्य २३ जना गरी ३३ लाख ४७ हजार ३ सय ८४ जना मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

data_local_election

मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार स्थानीय तह निर्वाचन ०७९ का लागि जिल्लाका ३ सय ओटा मतदान केन्द्रहरूमध्ये ४२ ओटा मतदान केन्द्रलाई अति सम्वेदनशील, १ सय ६२ ओटा मतदान केन्द्रमध्ये ९६ ओटा मतदान केन्द्रलाई सम्वेदनशील र ४२ ओटा मतदान केन्द्रलाई सामान्य मतदान केन्द्रका रूपमा वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताउनु भयो ।

स्थानीय तहको निर्वाचनका लागि जिल्लाका १७ ओटै तहमा मतदाता सङ्ख्या टुङ्गो लागेको छ । मोरङ नेपालमै सबैभन्दा बढी मतदाता भएको जिल्ला हो । निर्वाचन आयोगले प्रकाशित गरेको मतदाताको अन्तिम मतदाता नामावली विवरण अनुसार विराटनगर महानगरपालिकामा सबैभन्दा बढी १ लाख ३३ हजार १ सय ४२ जना मतदाता कायम भएका छन् ।

सबैभन्दा कम केराबारी गाउँपालिकामा २३ हजार ९ सय ९० जना मतदाता छन् । प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवनकश्यप अधिकारीका अनुसार जिल्लामा विगतकै ३ सय ओटा मतदानस्थल कायम भएका छन् । मतदान केन्द्र ८ सय २० ओटा कायम भएका छन् । मतदानस्थल भने बेलबारी नगरपालिकामा सबैभन्दा बढी २६ ओटा रहेका छन् ।

सबैभन्दा कम मतदानस्थल मिक्लाजुङ गाउँपालिकामा ११ ओटा छन् । मतदान केन्द्रका आधारमा विराटनगर महानगरपालिकामा १ सय ४० ओटा मतदान केन्द्र कायम गरिएका छन् । सबैभन्दा कम मतदान केन्द्र मिक्लाजुङ गाउँपालिकामा २८ ओटा निर्धारण गरिएका छन् ।

जिल्लामा स्थानीय तह निर्वाचनका लागि ३३ ओटा दलले दर्ताको आधारिकता प्राप्त गरेका छन् । दलको हिसावमा काठमाडौंपछि मोरङ दोस्रो धेरै दल दर्ता भएको जिल्ला भएको छ । काठमाडौंमा ४० ओटा दल दर्ता रहेको निर्वाचन आयोगले जनाएको छ ।

जिल्लामा कुल मतदातामध्ये लैंङ्गिक अल्पसङ्ख्यक मतदाताको सङ्ख्या ६ जना रहेको आयोगको तथ्याङ्कमा उल्लेख छ । जसमा बेलबारी नगरपालिकामा सबैभन्दा बढी चार जना छन् । त्यसैगरी रतुवामाई नगरपालिका र सुन्दरहरैंचा नगरपालिकामा एक–एक जना लैंङ्गिक अल्पसङ्ख्यक मतदाता छन् ।

सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार स्थानीय तह निर्वाचन ०७९ का लागि जिल्लाका १० ओटा स्थानीय तहका १ सय ३  ओटा मतदान स्थलमध्ये सुरक्षा सम्वेदनशीलताका हिसाबले आठ ओटा मतदानस्थललाई अति सम्वेदनशील मानिएको छ ।

जिल्ला सुरक्षा समितिले ती मतदान स्थललाई अति सम्वेदनशील मतदानस्थल भनि विश्लेषण गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेका अनुसार १ सय ३  ओटा मतदान स्थलमध्ये  ७९ ओटा मतदानस्थल सम्वेदनशील र १६ ओटा मतदानस्थललाई सामान्यको सूचीमा राखिएको छ ।

अति सम्वेदनशील मतदान स्थलमा ३ हजार ४ सय ३८  जना मतदाता रहेका छन् । जिल्ला निर्वाचन आयोगका अनुसार जिल्लामा ६० हजार ६ सय ७८ जना पुरूष र ५७ हजार ५३ जना महिला गरी १ लाख १७ हजार ७ सय ३१ जना मतदाता रहेका छन् ।

मतदान केन्द्रलाई तीन भागमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाउने बताइएको छ । अति सम्वेदनशील मतदान स्थल तथा केन्द्रको सुरक्षा चुनौती हेरेर सोहीअनुसार सुरक्षाकर्मी परिचालन गरिने सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनु भयो ।

भौगोलिक विकटता, सुरक्षा निकायको पहुँचदेखि टाढा, यातायात र सञ्चारको असुविधा यस अघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर अति सम्वेदनशील, सम्वेदनशील र सामान्य गरी मतदानस्थल तथा केन्द्र छुट्याइएको प्रशासनले जनाएको छ ।

ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार स्थानीय तह निर्वाचन ०७९ का लागि जिल्लाका आठ ओटा स्थानीय तहका ७९ ओटा मतदानस्थलमध्ये पाँच ओटा मतदानस्थललाई सुरक्षा सम्वेदनशीलताको हिसाबले सम्वेदनशील मानिएको छ । जिल्ला सुरक्षा समितिले ती मतदान स्थललाई सम्वेदनशील मतदानस्थल भनि विश्लेषण गरेको छ ।

प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार ७९ ओटा मतदान स्थलमध्ये ७४ ओटा मतदानस्थल सामान्य र पाँच ओटा मतदानस्थललाई सम्वेदनशील सूचीमा राखिएको छ । जिल्लामा अति सम्वेदनशील मतदानस्थल नरहेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

जिल्लामा ५९ हजार १ सय ६२ जना पुरूष, ५७ हजार ९ सय २२ जना महिला र अन्य एक जना गरी १ लाख १७ हजार ८५ जना मतदाता रहेका छन् ।

स्थानीय तह निर्वाचन ०७९ का लागि जिल्लामा ७९ ओटा मतदान स्थल र १ सय ५० ओटा मतदान केन्द्र तोकिएको छ । सम्वेदनशील मतदानस्थल तथा केन्द्रको सुरक्षा चुनौती हेरेर सोहीअनुसार सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी तामाङले बताउनु भयो ।

सम्वेदनशील मतदानस्थलको रूपमा वर्गीण्करण गरिएका मतदानस्थललाई चुनाव अघि थप व्यवस्थित बनाउने तयारी गरिएको छ ।

भौगोलिक विकटता, सुरक्षा निकायको पहुँचदेखि टाढा, यातायात र सञ्चारको असुविधा र यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर सम्वेदनशील र सामान्य गरी मतदानस्थल तथा केन्द्र छुट्याइएको प्रशासनले जनाएको छ ।

भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार जिल्ला सुरक्षा समितिले स्थानीय तह निर्वाचन ०७९ का लागि तय गरिएका ८७ ओटा मतदानस्थलमध्ये १८ ओटा मतदान स्थललाई अति सम्वेदनशील, २३ ओटालाई सम्वेदनशील र ४६ ओटालाई सामान्यमा वगीकरण गरिएको जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख टोपलाल भुसालले बताउनु भयो ।

भौगोलिक विकटता, मतदाता र मतदान केन्द्रको दुरी र सुरक्षा पोष्टको पहँुचसहितका विभिन्न सूचकलाई आधार मानेर सुरक्षा मापदण्ड अनुसार वर्गीकरण गरिएको छ । जिल्ला भर १ सय ६० ओटा मतदान केन्द्र तोकिएको छ ।

अति सम्वेदनशील र सम्वेदनशील सूचीमा परेका मतदान केन्द्रमा सोही अनुसारको सुरक्षा प्रवन्ध मिलाउन उपल्लो निकायलाई सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी राजकुमार राईले बताउनु भयो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार स्थानीय तह निर्वाचन ०७९ मा १ लाख २५ हजार ७ सय ४ जना सहभागी हुने भएका छन् । आसन्न निर्वाचनमा ६० हजार ७० सय ४ जना महिला, ६५ हजार २ सय २१ जना पुरूष र एक जना तेस्रो लिङ्गी सहभागी हुने निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन आयोगले ०७८ चैत १३ गते मतदाताको नामावली टुङ्ग्याएको छ । कार्यालयका अनुसार सबै भन्दा बढी षडानन्द नगरपालिकामा २१ हजार ७ सय ९७ जना मतदाता रहेका छन् ।

सबैभन्दा कम साल्पासिलिछो गाउँपालिकामा ८ हजार ७ सय ५४ जना मतदाता छन् । भोजपुर नगरपालिकामा १९ हजार ४ सय ९० जना, हतुवागढी गाउँपालिकामा १४ हजार १ सय ८० जना मतदाता रहेका छन् । टेम्केमैयुङ गाउँपालिकामा १३ हजार ६ सय १८ जना, अरूण गाउँपालिकामा १२ हजार ८ सय ३६ जना, आमचोक गाउँपालिकामा १२ हजार ५ सय ४४ जना, रामप्रसादराई गाउँपालिकामा ११ हजार ७ सय ७२ जना र पौवादुङमा गाउँपालिकामा १० हजार ७ सय २५ जना मतदाता रहेका छन् ।

धनुकटा प्रतिनिधि ईश्वर थापाका अनुसार स्थानीय तह निर्वाचन ०७९ का लागि जिल्लाका १ सय १८ ओटा मतदानस्थलमध्ये १५ ओटा मतदान स्थललाई अति सम्वेदनशील, ४९ ओटा मतदानस्थललाई सम्वेदनशील र ५४ ओटा मतदानस्थल सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

भौगोलिक विकटता, सडक सञ्जाल नपुगेको स्थान, बेलाबेलामा झैझगडा तथा बदमासी हुने ठाउँ, विभिन्न जातजातिको बसोवास भएको लगायतका आधारमा मतदानस्थललाई अति सम्वेदनशील, सम्वेदनशील र सामान्यमा वर्गीकरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले बताउनु भयो ।

अति सम्वेदनशील मानिएको स्थानमा निर्वाचन विरोधी गतिविधि हुन नदिन थप सुरक्षाकर्मी खटाइने जिल्ला प्रहरी कार्यालयका एसपी लक्ष्मीराज अधिकारीले बताउनु भयो । निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण र भयरहित रूपमा सम्पन्न गराउन म्यादी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी करिब २ हजार ५ सय जना सुरक्षाकर्मी परिचालन गरिने तयारी गरिएको छ ।

जिल्लामा १ सय १८ ओटा मतदानस्थल तथा १ सय ५९ ओटा मतदान केन्द्र रहेका छन् । सहीदभूमि गाउँपालिकामा १३ ओटा मतदानस्थल र १८ ओटा मतदान केन्द्र, चौविसे गाउँपालिकामा २१ ओटा मतदानस्थल र २४ ओटा मतदान केन्द्र, छथर जोरपाटी गाउँपालिकामा १२ ओटा मतदानस्थल र १७ ओटा मतदान केन्द्र र धनकुटा नगरपालिकामा १५ ओटा मतदानस्थल र २८ ओटा मतदान केन्द्र रहेका छन् ।

पाख्रिवास नगरपालिकामा १५ ओटा मतदानस्थल र २१ ओटा मतदान केन्द्र, महालक्ष्मी नगरपालिकामा २१ ओटा मतदानस्थल र २६ ओटा मतदान केन्द्र र साँगुरीगढी गाउँपालिकामा २१ मतदानस्थल र २५ ओटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन अधिकारी जयराम श्रेष्ठले  बताउनु भएको छ ।

इलाम प्रतिनिधि बविता मैनालीका अनुसार जिल्ला सुरक्षा समितिले इलामका २९ ओटा मतदान स्थललाई अति सम्वेदनशीलमा राखेको छ । ५९ ओटा मतदान स्थललाई सम्वेदनशील र ६३ ‍ओटा मदतान स्थललाई सामान्यमा राखिएको जिल्ला सुरक्षा समिति प्रमुख तथा इलामका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले बताउनु भयो ।

सुरक्षाका दृष्टिले जिल्लाका १ सय ५१ ‌ओटै मतदान स्थलको अवस्था विश्लेषण गरेर अति सम्वेदनशील, सम्वेदनशील र सामान्यमा वर्गीकरण गरेको प्रशासनले जनाएको छ । ‘कतिपय नजिक र सुविधा सम्पन्न स्थानहरुमै रहेका मतदानस्थल पनि अति सम्वेदनशीलमा परेका छन्, कति टाढा र सीमा क्षेत्रमा पर्ने स्थलहरु पनि छन् ।’ प्रमुख जिल्ला अधिकारी ढुङ्गानाले भन्नुभयो ‘अब एकीकृत सुरक्षा योजना तयार भएपछि र निर्वाचन अधिकृत तथा मतदान अधिकृत खटाइएपछि मात्र सुरक्षाकर्मी पनि खटिने छन् ।’ जिल्लामा रहेका ५ सय ५० जना बढी नेपाल प्रहरी, एक हजार १ सय ९८ जना म्यादी प्रहरी स्थानीय तह निर्वाचन ०७९ मा खटिने इलामका एसपी महेन्द्रकुमार श्रेष्ठले बताउनु भयो ।

झापा प्रतिनिधि नरेश खातीका अनुसार स्थानीय तह निर्वाचन ०७९ का जिल्लाका १५ ओटा स्थानीय तहमा रहेका २ सय ८६ ओटा निर्वाचन स्थलमध्ये ५१ ओटा मतदानस्थललाई अति सम्वेदनशील, १ सय ५३ ओटा मतदानस्थललाई सम्वेदनशील र ८२ ओटा मतदान स्थललाई सामान्य गरेर वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताउनु भयो ।

पाँचथर प्रतिनिधि सहमान विश्वकर्माका अनुसार स्थानीय तह निर्वाचन ०७९ का जिल्लाका १ सय ७६ ओटा मतदान केन्द्र र १ सय १ ओटा मतदानस्थल मध्ये १० ओटा सामान्य, ६४ सम्वेदनशील र २७ ओटा केन्द्रलाई अति सम्वेदनशील मानिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेश थापाले बताउनु भयो ।

कुम्मायक गाउँपालिकामा १० ओटा मतदानस्थल र १५ ओटा मतदान केन्द्र, तुम्बेवा गाउँपालिकामा नौ ओटा मतदानस्थल र १३ ओटा मतदान केन्द्र, फालेलुङ गाँउपालिकामा ११ ओटा मतदानस्थल र २२ ओटा मतदान केन्द्र, फिदिम नगरपालिकामा २२ ओटा मतदानस्थल र ४४ ओटा मतदान केन्द्र, मिक्लाजुङ गाउँपालिकामा १४ ओटा मतदानस्थल र २४ ओटा मतदान केन्द्र,  हिलिहाङ गाउँपालिकामा १२ ओटा मतदान स्थल र २१ ओटा मतदान केन्द्र राखिने तय गरिएको छ ।

जिल्लामा ६ लाख ६ हजार ६ सय ४८ जना महिला र ७ लाख ३ हजार ५ सय ७६ जना पुरूष गरी जम्मा १४ लाख ०२ हजार २४ जना मतदाता रहेका छन् । कुम्मायक गाउँपालिकामा ५ हजार ५ सय ८५ जना महिला र ६ हजार १ सय ९८ जना पुरूषसहित ११ हजार ७ सय ८३ जना मतदाता, तुम्बेवा गाउँपालिकामा ४ हजार ६ सय ४ जना महिला र ४ हजार ८ सय ५८ जना पुरूषसहित ९ हजार ४ सय ६२ जना मतदाता, फालेलुङ गाउँपालिकामा ७ हजार ८ सय ७२ जना महिला र ९ हजार २ सय ९२ जना पुरूषसहित १७ हजार १ सय ६४ जना मतदाता, फाल्गुनन्द गाउँपालिकामा ८ हजार ८ सय ९० जना महिला र ९ हजार ६ सय ८६ जना पुरूषसहित १८ हजार ५ सय ७६ जना, फिदिम नगरपालिकामा १६ हजार ३ सय ७४ जना महिला र १७ हजार ६ सय ३२ जना पुरूषसहित ३४ हजार ६ सय जना मतदाता, मिक्लाजुङ गाउँपालिकामा ८ हजार ९ सय ४७ जना महिला र ९ हजार ५ सय ५७ जना पुरूषसहित १८ हजार ५ सय ४ चार जना, याङवरक गाउँपालिकामा ६ हजार ६ सय १७ जना महिला र ७ हजार ५ सय ८९ जना पुरूषसहित १४ हजार २ सय ६ जना, हिलिहाङ गाउँपालिकामा ७ हजार ७ सय ५९ जना महिला र ८ हजार ७ सय ६४ जना पुरूषसहित १६ हजार ५ सय २३ जना मतदाता रहेको निर्वाचन कार्यालय पाँचथरले जनाएको छ ।

सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुुसार ४४ ओटा मतदान केन्द्र अति सम्वेदनशील र ८० ओटा मतदान स्थाल सम्वेदनशील रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । इनरुवा नगरपालिकामा १९ ओटा मतदान स्थलमध्ये चार ओटा अति सम्वेदनशील र ६ ओटा सम्वेदनशील तथा नौ ओटा सामान्य रहेको प्रशासनले जानकारी गराएको छ । त्यसैगरी इटहरी उपमहानगरपालिकामा २५ ओटा मतदान स्थलमध्ये १७ ओटा सम्वेदनशील तथा आठ ओटा सामान्य छ । कोशी गाउँपालिकामा नौ ओटा मतदान अति सम्वेदनशीलमा राखिएको छ । गढी गाउँपालिकामा नौ ओटा मतदान स्थलमध्ये एउटा मतदान स्थल अति सम्वेदनशील र आठ ओटा सम्वेदनशीलमा राखिएको छ । दुहवी नगरपालिकाको १२ ओटा मतदान स्थलमध्ये तीन ओटा अति सम्वेदनशील र पाँच ओटा सम्वेदनशील तथा चार ओटा सामान्यमा राखिएको छ । देवानगञ्ज गाउँपालिकामा सात ओटा मतदान स्थललाई अति सम्वेदनशीलमा राखिएको छ । धरान उपमहानगरपालिकामा २८ ओटा मतदान स्थलमध्ये एक ओटा मतदान स्थल अति सम्वेदनशील र १३ ओटा सम्वेदनशील तथा १४ ओटा मतदान स्थललाई सामान्यमा राखिएको छ । बराहक्षेत्र नगरपालिकाको १६ ओटा मतदान स्थलमध्ये १२ ओटा सम्वेदनशील तथा चार ओटा सामान्यमा राखिएको छ । बर्जु गाउँपालिकाका १० ओटा मतदान स्थललाई अति सम्वेदनशीलमा राखिएको छ । भोक्राहा नरसिंह गाउँपालिकाका १० ओटा मतदानस्थललाई अति सम्वेदनशीलमा राखिएको छ । रामधुनी नगरपालिकाका १२ ओटा मतदान स्थलमध्ये नौ ओटा सम्वेदनशील तथा तीन ओटालाई सामान्यमा राखिएको छ । हरिनगर गाउँपालिकाको नौ ओटा मतदान स्थललाई अति सम्वेदनशीलमा राखिएको छ । जिल्लाका १ सय ६६ ओटा मतदान स्थलमध्ये ४४ ओटा अति सम्वेदनशील, ८० ओटा सम्वेदनशील तथा ४२ ओटा सामान्यमा राखिएको छ । जिल्लाका १२ ओटा स्थानीय तहमा १ सय २४ ओटामा १ सय ६६ मतदान स्थल र ५ सय ८१ ओटा मतदान केन्द्र तय भएको निर्वाचन अधिकारी कृष्ण सुवेदीले बताउनु भएको छ ।

अन्य

भिडियो