सहुलियत दरमा चामल बिक्रि गर्ने डिपो पुग्नै दुई दिन लाग्ने गरेको स्थानीयले गुनासो गरेका छन् ।
उत्तरी गोरखाका स्थानीयलाई सहुलियत दरमा खाद्यान्न उपलब्ध गराउन चुमनुव्री गाउँपालिकाको केन्द्र फिलिममा खाद्यको डिपो छ ।
उक्त डिपोमा पुगेर फर्कन सामा गाउँका स्थानीयलाई दुई दिन र छेकम्पारका स्थानीयले डेढ दिन खर्चनुपर्छ ।
‘मोटर बाटो छैन, खच्चडबाट चामल ल्याउने हो,’–छेकम्पारका छिरिङ लामाले भन्नुभयो,–‘एक दिन फिलिम पुग्नै लाग्छ, बास पनि बस्नुपर्यो, अर्को दिन फर्कनै लाग्छ ।’
फिलिमको खाद्यको डिपोमा रहेको चामल सामा गाउँ, चुम्चेत, छेकम्पार, ल्हो, प्रोक, विहिका स्थानीयले अतिरिक्त ढुवानी भाडा खर्च गरेर ढुवानी गर्नुपर्ने बाध्यता छ ।
फिलिमसम्म चामल ढुवानीका लागि भने सरकारले ढुवानी भाडा बेहोर्दै आएको छ ।
फिलिमसम्म पुग्न स्थानीयलाई दुई दिन बढी समय लाग्ने भएपछि २०७४ पुस १९ गतेको जिल्ला खाद्य व्यवस्था समितिको बैठकले प्रोकको नामरुङमा थप डिपो स्थापनाका लागी तत्कालिन नेपाल खाद्य संस्थानलाई प्रस्ताव गरेपनि हालसम्म कुनै निर्णय हुन सकेको छैन ।
चुमनुव्री गाउँपालिका–३ प्रोकको नामरुङमा अर्को डिपो स्थापनाका लागी पनि यहाँका स्थानीयले माग गर्दै आएका छ्न् ।
प्रोकको नामरुङमा डिपो स्थापना बारे कुनै निर्णय नभएपछि आगामी वर्ष वितरण केन्द्र राख्नका लागि पहल गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखाका प्रमुख नविन बस्नेतले बताउनुभयो ।
‘नामरुङमा डिपो राख्न भनेर केन्द्रिय कार्यालयमा लेखी पठाएका पनि छौ, डिपोको निर्णय नहुँदासम्म वितरण केन्द्र राखेर चामल बिक्रि गर्न सकिएपनि निकै सहज हुन्छ,’– उहाँले भन्नुभयो ।
धान खेती नहुने उत्तरी गोरखामा सहुलित दरमा चामल बिक्रिका लागि फिलिम र माछाखोलामा खाद्यको डिपो छ ।