डोल्पाका स्वास्थ्य संस्थाहरूमा औषधि अभाव भएको छ ।
उत्तरी सिमा क्षेत्रसँग जोडिएका उपल्लो डोल्पामा पर्ने तीन ओटा गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाहरूमा फेरी चैतको पहिलो सताबाट औषधि अभाव भएको स्थानीयले बताएका हुन् ।
शे फोक्सुण्डो गाउँपालिका अन्तरगतका स्वास्थ्य चौकीहरूमा औषधिको अभाव भएको छ । शे फोक्सुण्डो गाउँपालिका–८ को रिग्मो गाउँमा रहेको स्वास्थ्य चौकीमा औषधिको अभाव भएको हो ।
फोक्सुण्डो स्वास्थ्य चौकीका इन्चार्ज नवराज महताराले औषधि सकिएको गाउँपालिका अध्यक्ष टसिटुण्डुप गुरुङलाई जानकारी गराएको बताउनु भयो ।
जिल्ला अस्पतालमा मौज्दात रहेको औषधि मध्येबाट थोरै औषधि खबर आउने बित्तिकै उक्त ठाउँमा पठाइएको अस्पतालका मेडिकल अधिकृत डाक्टर अखण्ड उपाध्यायले जानकारी दिनु भयो ।
स्थानीय तहका स्वास्थ्य संस्थाहरूमा औषधि खरिददेखि कर्मचारी व्यवस्थापनसम्मको काम स्थानीय तहले नै गर्ने भएकाले आकस्मिक रुपमा मात्र औषधि उपलब्ध गराउने हुँदा अहिलेको अवस्थाका बारेमा जानकारी नभएको डाक्टर उपाध्यायको भनाई छ ।
सालदाङ्गस्थित निजाल स्वास्थ्य चौकी सदरमुकामदेखि चार दिनको पैदल दुरीमा पर्छ । गाउँपालिका अध्यक्ष टसिटुण्डुप गुरुङ्गले औषधि अभाव भएको खबर पाउने बित्तिकै खरिद गरेर पैदलमार्गबाट पठाइएकाले ढिला हुन गएको बताउनु भयो ।
शे फोक्सुण्डो गाउँपालिका अन्तर्गतका दुई स्वास्थ्य चौकीहरूमा पारासिटामोल, जीवनजलसम्म नभएको शे फोक्सुण्डो–८ का वडासदस्य निमा लामाले बताउनु भयो ।
यसैगरी डोल्पोबुद्द गाउँपालिकाको तक्सी उपत्याकामा रहेको धो स्वास्थ्य चौकीमा पनि सरकारले निःशुल्क उपलब्ध गराउने औषधिको अभाव छ ।
त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गतका पाँच ओटा स्वास्थ्य चौकीहरूमा चैतको पहिलो सातादेखि अति आवश्यक औषधिको अभाव छ ।
त्रिपुरासुन्दरी नगरपालिकाका स्वास्थ्य संयोजक रमेश केसीले त्रिपुराकोट क्षेत्रका स्वास्थ्य चौकीहरूमा सरकारले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको टेट्रा साइक्लिन, जेभी पाउडर, एमसी पाउडर, स्प्रिट, टिन्चर, भिटामिन वि कम्लेक्स, ल्वाङको तेल, आइक्रोफिन, क्यालामाइन लोसन, म्याग्नेसोयम सल्फेट, अक्सिटोसीन, वेन्जाइल वेन्जोइन, पारासिटामोल, जिङ्क र ओरामाइन भ्यालेटलगायतका ३० प्रकारका औषधिहरूको अभाव भएको खबर आउने बित्तिकै चैतको दोस्रो साताबाटै खरिद गरेर सुर्खेतबाट ल्याउन कर्मचारी पठाइएको बताउनु भयो ।
यसैगरी लिग्नोकेन, आइब्रप्रोफिन, क्लोरफेनिरामाइन, फेरामाइन, मेट्रोनिडाजोल, एमोक्सिलिन, सल्फामिथोजोल, डोक्सिसाइक्लिन, नियोमायसिन स्किन, फेरस सल्फेट, एड्रिनलिन र जेन्सन भ्यालेट नामका निःशुल्क पाइनुपर्ने औषधि नहुँदा सर्वसाधारण मेडिकलबाट महङ्गो मुल्यमा किन्न बाध्य भएका छन् ।
त्रिपुरासुन्दरी नगरपालिका–३ का युवराज धरलाले स्वास्थ्य चौकीमा जाँदा औषधि नपाइएकाले मेडिकलमा जान बाध्य भएको बताउनु भयो ।