निर्वाचन आयोगले २०७८ चैत २५ गते पत्रकार संमेलन गरी आजैदेखि निर्वाचन आचारसंहिता लागू भएको जनाएको छ ।
पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम पौडेलद्वारा जारी विज्ञप्तिमा आयोगले यस अघि चैत ३ गते सार्वजनिक गरेको निर्वाचन आचारसंहिता २०७८ राजपत्रमा प्रकाशित भई सार्वजनिक सञ्चारमाध्यमबाट व्यापक प्रचारप्रसार भई सकेकोले लागू गरिएको जनाएको हो ।
विज्ञप्तिमा स्थानीय तह सदस्य निर्वाच्न, २०७९ मा भाग लिन दर्ता भएका राजनीतिक दलहरू एवम् निजी क्षेत्र, नागरिक समाज, गैर सरकारी सैस्था तथा विभिन्न पेशागत सङ्घ संस्थाहरूबाट प्रतिवद्धता समेत प्राप्त भइसकेको उल्लेख गरिएको छ ।
निर्वाचन आचारसंहिता नैतिक बन्धनको संहिताको रूपमा रहेको कानुनी दस्तावेज एवम् सरोकारवाला सबैले पालना गर्नका लागि स्वीकार गरिएको नैतिक नियम भएकोले यसको कार्यान्वयनका लागि केही कानुनी र संरचनागत सीमितता रहे पनि आचारसंहिताको प्रयोग कानुन भन्दा माथि हुने हुँदा राजनीतिक दल र उम्मेदवारहरू लगायत अन्य सबै निर्वाचन सरोकारवालाहरूले आचार संहितको पूर्ण पालना गर्नेमा आयोग विश्वस्त रहेको विज्ञप्तिमा जनाइएको छ ।
यसका साथै कहिँकतैबाट आचारसंहिताको उल्लङ्घन भएको पाइएमा आचारसंहिता उल्लङ्घनको प्रकिृति र स्वरुप हेरी सचेत गराउने, सूचना सार्वजनिक गर्ने, कानुनतः जरिवाना वा दण्ड सजायलाई कार्यान्वयन गर्ने तथा उम्मेदवारको उम्मेदवारी रद्द हुनेसम्मको कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने भन्दै विज्ञप्ति मार्फत सम्बन्धित सबैलाई सचेत गराइएको छ ।