मलङ्गवा नगरपालिका–९ स्थित रिङरोडमा चैत २३ गते साँझ ७ बजे भारतीय नागरिक सोनबरसा खण्ड विशनपुर निवासी ३६ वर्षीय ईन्दल महतोलाई नचिनेका व्यक्तिले गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
एक्लै मोटरसाइकलमा हिँडिरहेको महतोलाई मलङ्गवा नपा–९ रिङरोड नजिकै एउटै मोटरसाइकलमा आएका तीन जनाको समूहले गोली प्रहार गरेको प्रत्यदर्शीले बताए ।
मृतक महतो भारतमा अपराध गरेर ‘फरार’ अभियुक्तको सूचीमा रहेका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
गोली लागेर गम्भीर घाइते भएका महतोलाई दाहिने पाखुरा, बायाँ कुहिना र दायाँ कोखामा चोट देखिएपनि गोली नै कति ठाउँमा लागेको भन्ने एकिन पोष्टमार्टम रिपोर्टपछि मात्र भन्न सकिने जिल्ला प्रहरी कार्यालय मलङ्गवाका इन्स्पेक्टर कृष्ण गिरीले बताउनु भयो ।
सशस्त्र प्रहरीको टोलीले तत्काल प्रादेशिक अस्पताल मलङ्गवामा पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवा डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिनु भयो ।