INSEC Online

📅 २०८३ जेष्ठ २१

धानवालीको क्षतिपूर्ति नपाएको बाढी पीडित कृषकको गुनासो

गएको कात्तिक पहिलो साता बेमौसमी वर्षात्सँगै आएको बाढीले जुम्लामा ठुलो मात्रामा नोक्सान भएको धानवालीको क्षतिपूर्ति नपाएको बाढी पीडित कृषकले गुनासो गरेका छन् ।

बाढीले धानवाली क्षति भएपछि किसानले राहतका लागि जिल्ला प्रशासन कार्यालय जुम्ला, जिल्ला विपद् व्यवस्थापन समितिमा निवेदन दिए । तर, उनीहरूले अहिलेसम्म राहत पाएका छैनन् ।

बेमौसमी वर्षाले जिल्लाको तिला र तातोपानी गाउँपालिकाका १ हजार १ सय १२ जना किसानको १ हजार ८ सय ७३ कट्ठामा लगाएको जुम्ला मार्सीधानमा क्षति पुगेको तथ्याङ्क छ ।

जसका कारण संसारको उच्च स्थानमा फल्ने नामले परिचित मार्सी धान लोप हुने संकेत देखिएको तातोपानी गाउँपालिका–३ लिताकोट गाउँका कृषक रामकृष्ण न्यौपानेले बताउनु भयो ।

उहाँले भन्नुभयो–‘बाढीले कालीमार्सी धानको बीउसमेत मासियो । तर, अहिलेसम्म कृषकले राहत तथा क्षतिपूर्ति नपाउनु दुःखद् पक्ष हो ।’

मार्सी धान लगाएको खेत नै बगाएर लगेको किसानको राहतका लागि जिल्ला प्रशासन कार्यालय जुम्लाले १९ लाख ३५ हजार ४ सय ६५ रुपियाँ गृह मन्त्रालयमा माग गरेकोमा गृह मन्त्रालयबाट ५ लाख रुपियाँ मात्र प्राप्त भएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले बताउनु भयो ।

उहाँले भन्नुभयो–‘क्षति भन्दा कम राहत रकम प्राप्त भएपछि अहिले त्यो रकम के गर्ने के गर्ने भएको छ ।’

प्रमुख जिल्ला अधिकारी प्रसाईले भन्नुभयो–‘गृह मन्त्रालयले पठाएको रकम भागबण्डा गर्दा एक जना किसानको भागमा ४ सय १२ रुपियाँ मात्र पर्छ । यति सानो रकम किसानको खातामा पठाउन पनि सकिएको छैन । न पठाउने हो भने फ्रिज हुने चिन्ता बढेको छ । पठाउने हो भने यो रकमले एक छाक समेत टर्दैन । निकै समस्या भएको छ’ ।

उहाँले थप रकमका लागि कर्णाली प्रदेश सरकारसँग पहल भएकाले पर्खाइमा रहेको बताउनु भयो । ‘यदि प्रदेश सरकारले सहयोग गरेको खण्डमा संयुक्त रुपमा किसानलाई उपलब्ध गराउनेछौँ ।’–उहाँले भन्नु भयो ।

विपद्ले सात जनाको मृत्यु
जिल्ला प्रशासन कार्यालय जुम्लाले चालु आर्थिक वर्षमा विपद्बाट सात जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको छ ।

जिल्लामा आएको बेमौसमी बाढीका कारण पातारासी गाउँपालिकामा एक जना, हिमामा एक जना, तातोपानीमा तीन जना र हिमपहिरोमा परेर तातोपानी गाउँपालिकामै दुई जना गरी सात जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

विपद्का कारण मृत्यु भएका ६ जनाको परिवारलाई जनही २ लाख रुपियाँ र एक जनाको परिवारलाई १ लाख रुपियाँ गरेर १३ लाख रुपियाँ राहत प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी प्रसाईले बताउनु भयो ।

बाढीपहिरो, वर्षा र आगलागीका कारण निजी आवास नष्ट भएका ८९ घरधनीलाई तत्काल २५ हजार रुपियाँ, १२ घर धनीलाई २० हजार रुपियाँका दरले राहत रकम उपलब्ध गराएको जिल्ला विपद् व्यवस्थापन समिति जुम्लाले जनाएको छ ।

बेमौसमी वर्षाले क्षति पुर्‍याएको तिला र तातोपानीमा खानेपानी आयोजना सञ्चालनका लागि १५ हजार १ सय ९१ मिटर पाइप उपलब्ध गराएर तत्काल खानेपानी सञ्चालन गरिएको थियो ।

नेत्रज्योति मावि हाँकुमा वर्षासँगै आएको बाढीले नराम्ररी क्षति पुगेको थियो । खेलमैदान निर्माणका लागि सुरक्षा निकाय, सामाजिक सङ्घसंस्थाको सहयोगमा आवश्यक सामग्रीको व्यवस्थापन गरी विद्यालय सञ्चालनमा ल्याइएको छ ।

विपद्टबाट क्षति भएका भौतिक पूर्वाधारहरू सडक, सिंचाई, विद्यालय भवन तथा घट्टको विवरण तयार पारेर गृहमन्त्रालय र कर्णाली प्रदेश सरकारसमक्ष सिफारिस गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

अन्य

भिडियो