बलात्कारसम्बन्धी झुठो मुद्दा दिएको भन्दै १९ वर्षीया एक युवतीलाई अछाम जिल्ला अदालतले ३ वर्ष ६ महिनाको कैद फैसला सुनाएको छ ।
न्यायाधीश नविनकुमार जोशीको इजालासले सहमतिमा यौन सम्बन्ध भएको र विवाह गर्न नमानेका कारण बलात्कार मुद्दा बनाएको भन्दै अदालतले चैत १४ गते यस्तो फैसला गरेको हो ।
झुठो मुद्दामा फसाउन प्रयत्न गरेबापत मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा २१९ अनुसार ३ वर्ष ६ महिना कैद हुने ठहर गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रविराज बरालले जानकारी दिनु भयो ।
बलात्कार घटनाका ‘आरोपित’ रामारोशन गाउँपालिका–४ बाटुलासेनका नन्दराम खनालले भने अदालतलबाट सफाइ पाउनु भएको छ ।
नन्दराम गत माघ १५ गते घरमै आएर बलात्कार गरेको भन्दै १९ वर्षीया युवतीले माघ १७ गते जिल्ला प्रहरी कार्यालय अछाममा उजुरी दिएकी थिइन् ।
ति युवतीको स्वास्थ्य परीक्षण माघ १७ गते नै जिल्ला अस्पताल मङ्गलसेनमा गरियो ।
नन्दरामलाई कमलबजार नगरपालिका–६ गैरीटाँड बजारबाट प्रहरीले १८ गते गिरफ्तार गरेको थियो ।