सिमकोट गाउँपालिका–७ स्थित डाँडाफया स्वास्थ्यचौकीमा एक सातादेखि स्वास्थ्यकर्मी नभएको भन्दै सेवाग्राहीले गुनासो गरेका छन् ।
विभिन्न रोगका उपचारका लागि आएका सेवाग्राही स्वास्थ्यचौकीमा ताला लगाएर बन्द कार्यालय देखेपछि त्यतिकै फर्कन बाध्य भएको स्थानीय टेकराज शाहीले आरोप लगाउनु भएको छ ।
शाहीले पत्नी चैत ५ गतेदेखि प्रसूति व्यथा लागेपछि चैत ६ गते डाँडाफयामा रहेको स्वास्थ्यचौकीको बर्थिङ सेन्टरमा पुर्याउँदा स्वास्थ्यचौकीमा अनमी र कुनै पनि स्वाथ्यकर्मी नभेटिएको बताउनु भयो ।
त्यसपछि प्रसूति व्यथा लागेकी पत्नीलाई सदरमुकाम सिमकोटको जिल्ला अस्पतालमा लैजानु परेको उहाँको भनाइ छ ।
उहाँले भन्नु भयो–‘पत्नीलाई सिमकोटको जिल्ला अस्पतालसम्म पुर्याउँदा ढिला भइसकेको थियो । जिल्ला अस्पतालका स्वास्थयकर्मीहरूको प्रयासमा १९ वर्षिया पत्नी रमना शाहीको ज्यान बच्यो । तर, शिशुलाई भने बचाउन सकिएन ।’
यसको मुख्य कारण डाँडाफयाका स्वास्थ्यकर्मी संस्थामा नभेटिनु नै भएको उहाँको आरोप छ ।
उहाँले थप्नु भयो–‘यदि डाँडाफयाको स्वास्थ्यचौकीको बर्थिङ सेन्टरमा अनमी र अन्य कुनै पनि स्वास्थ्यकर्मी भएको भए आफ्नो बच्चाको मृत्यु हुने थिएन ।’
तीनदिनदेखि प्रसूति व्यथाले थला परेकी शाहीलाई सदरमुकाम सिमकोटको जिल्ला अस्पतालमा पुर्याउन ढिलाइ गरेका कारण बच्चाको मृत्यु भएको जिल्ला अस्पतालकी सिनियर अनमी सरिता बोहराले बताउनु भयो ।
उहाँका अनुसार व्यथाले छोएको २४ घण्टामा बर्थिङ सेन्टरमा पुर्याइ सक्नुपर्छ अनि मात्रै सुत्केरी गराउन सजिलो र सहज हुने गर्दछ ।
दुई जना अनमी, दुई जना अहेव, एक जना एचए र एक जना कार्यालय सहयोगीको दरबन्दी रहेको सो स्वास्थ्य संस्थामा पाँच जना कार्यरत रहँदै आएका छन् ।
सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक नर भण्डारीले डाँडाफयाको स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नभएको स्वीकार गर्नु भएको छ ।
उहाँका अनुसार सो संस्थामा कार्यरत अनमीद्वय सम्झना रोकाया एक महिनादेखि आफ्नो उपचारका लागि जिल्ला बाहिर रहेको, रमिता रोकाया बोहरा डेढ हप्तादेखि आयोगको परीक्षाका लागि जिल्ला बाहिर रहेको, इञ्चार्ज सन्तोष बोहरा पनि आफ्नी पत्नीको परीक्षाका लागि सुर्खेतमै गएको र निमित्त इञ्चार्ज रोशन सिंह जिल्ला अस्पतालको आयोजनामा सञ्चालन भएको आपुर्ति व्यवस्थापनसम्बन्धी तालिममा रहेको र त्यस यता पनि सम्पर्कमा नरहेको हुँदा सो स्वास्थ्यचौकीमा समस्या उत्पन्न भएको हो ।
स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नै नभएपछि दैनिक उपचारका लागि आउने बिरामी त्यसै फर्कनु परेको स्थानीयले गुनासो गरेका छन् ।