मोरङको लेटाङ नगरपालिकामा चैत ७ गतेदेखि लगाइएको कर्फ्यु आदेश चैत १० गतेदेखि हटाइएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
२६ वर्षीया प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान जाने गरी भएको घटनापछि जारी गरिएको कर्फ्यु आदेश चैत १० गते बिहान ६ बजेदेखि हटाइएको प्रशासनद्वारा चैत ९ गते जारी विज्ञप्तिमा उल्लेख छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा लेटाङ नगरपालिका–५ खेरूवास्थित शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षकले छात्रालाई ०७८ चैत ४ गते यौन दुर्व्यवहार गरेको घटनापछि उत्पन्न परिस्थिति पश्चात जारी गरिएको कर्फ्यु आदेश चैत १० गते बिहान ६ बजेदेखि हटाइएको छ ।
घटनाका आरोपित शिक्षकलाई चैत ६ गते गिरफ्तार गर्ने क्रममा आन्दोलन भड्किएको थियो । सोही क्रममा एक जना महिला प्रहरीको हत्या गरिएपछि प्रशासनले चैत ७ गते बिहान ७ बजेदेखि लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम कर्फ्यु आदेश जारी गरेको थियो ।
लेटाङ नगरपालिका–३ र ४ को गङ्गेचौक र कमलपुर क्षेत्र , लेटाङ–५ को सवै क्षेत्र र उत्तरमा लेटाङ–६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङ्गे खोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको थियो ।
