INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचनमा विद्यालय र बालबालिकाको प्रयोग नगर्न ध्यानाकर्षण

स्थानीय तहको निर्वाचन ०७९ वैशाख ३० गते घोषणा गरेको र निर्वाचन नजिकीरहँदा आसन्न स्थानीय तहको निर्वाचनमा विभिन्न राजनीतिक दलहरूबाट चुनावी प्रचारप्रसार गर्ने क्रममा विद्यालय र बालबालिकाको प्रयोग नगरियोस भन्दै जिल्लास्थित राजनीतिक दललाई चैत ७ गते ध्यानाकर्षण गराइएको छ ।

मानव अधिकार रक्षक सञ्जाल जाजरकोटले आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखी जिल्लामा रहेका राजनीतिक दलहरूले निर्वाचनका क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न, १८ वर्ष मुनिका बालबालिकालाई प्रयोग नगर्न र विद्यालयमा आमसभा लगायत चुनावी कार्यक्रम नगर्न ध्यानाकर्षण गराएको हो ।

सञ्जालले जिल्लास्थित राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा एकिकृत समाजवादी र राप्रपालाई ध्यानाकर्षणपत्र बुझाएको हो ।

Promo-01

बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ६६ को उप दफा २ मा राजनीतिक प्रयोजनका लागि बालबालिकालाई संगठित गर्ने वा हड्ताल, वन्द,, चक्काजाम, धर्ना, र जुलुसमा प्रयोग गर्न नहुने भनी यसलाई बालबालिका विरुद्ध कसुरको रुपमा व्यवस्था गरिएको छ ।

यदि कोही कसैले त्यस्तो गरिहालेमा दफा ७२ मा ७५ हजार रुपियाँसम्म जरिबाना र तीन वर्ष कैदको व्यवस्था गरिएको छ भने विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ ले मा बालबालिकालाई राजनीतिक क्रियाकलापमा संलग्न गर्न नहुने उल्लेख छ ।

ध्यानाकर्षणपत्र बुझ्दै नेकपा एमालेका नेता हेरम्ब बहादुर शाहले आसन्न स्थानीय तहको निर्वाचनमा हुन सक्ने बालबालिकाको प्रयोग र शैक्षिक संस्थामा आफ्नो पार्टीको तर्फबाट कुनै किसिमको दुरुपयोग हुने कार्य नगर्ने प्रतिबद्धता व्यक्त गर्न भयो ।

नेपाली कांग्रेसका नेता रमेश सिंहले निर्वाचनमा हुन सक्ने धाँधली तथा बालबालिका तथा शैक्षिक संस्थासँगै आर्थिक चलखेललाई रोक्न आपूm सचेत भएको र आफ्नो पार्टीमा समेत यस विषयमा छलफल चलाई निर्वाचन सभ्य, भव्य र निष्पक्ष बनाउन सहयोगी बन्ने बताउनु भयो ।

नेकपा (माओवादी केन्द्र)का नेता प्रताप जैसीले विषयवस्तुप्रति आफ्नो पार्टीलाई जिम्मेवार बनाउने बताउँदै निर्वाचन आचारसंहिता र आसन्न स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधली रहित बनाउन सबै सरोकार निकाय उत्तिकै जिम्मेवार बन्नु पर्ने बताउनु भयो ।

नेकपा एकीकृत समाजवादीका नेता शिवप्रसाद शर्माले निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट मानव अधिकार रक्षक सञ्जालले उठाएका विषयवस्तु प्रति पुर्ण रुपमा सचेत रहने बताउनु भयो ।

राप्रपाका नेता कृष्णविक्रम शाहले आफ्नो पार्टीबाट मानव अधिकार रक्षक सञ्जालले उठाएका विषयमा गम्भीर भएको र निर्वाचन आरसंहिताको पुर्ण पालना गर्ने बताउनु भयो ।

अन्य

भिडियो