यौन दुर्व्यवहार घटनाका विषयमा जानकारी लिनका लागि गएको प्रहरी टोलीमाथि भएको आक्रमणमा घाइते हुनु भएकी एक जना महिला प्रहरीको उपचारका क्रममा मृत्यु भएपछि मोरङ प्रशासनले फागुन ७ गते लेटाङ नगरपालिकामा कर्फ्यु आदेश जारी गरेको छ ।
यौन दुर्व्यवहार घटनाका आरोपित लेटाङ नगरपालिका-५ का ५६ वर्षीय शिक्षक मनोज पौडेलको विषयमा बुझ्न चैत ६ गते लेटाङ नगरपालिका–५ खेरूवामा पुगेको प्रहरी टोलीलाई स्थानीयले आक्रमण गरेपछि झडप भएको थियो ।
सो झडपमा परी घाइते हुनु भएकी उदयपुर त्रियुगा नगरपालिका–१६ स्थायी घर भई मोरङ प्रहरीमा कार्यरत २६ वर्षीया प्रहरी जवान उर्मिला श्रेष्ठको उपचारका क्रममा चैत ६ गते राति मृत्यु भएपछि सुरक्षा सम्वेदनशीलता अपनाउँदै कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी काशीराज दहालले बताउनु भयो ।

फागुन ७ गते बिहान ७ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
लेटाङ नगरपालिका–३ र ४ को गङ्गेचौक र कमलपुर क्षेत्र , लेटाङ– ५ को सबै क्षेत्र र उत्तरमा लेटाङ–६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङ्गे खोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दहालले जानकारी दिनु भएको छ ।

लेटाङ नगरपालिका–५ खेरुवास्थित शिक्षा विकास माध्यमिक विद्यालयका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत विद्यार्थीमाथि फागुन ४ गते दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ ।
घटनाका विषयमा फागुन ६ गते विद्यालयमा शिक्षक र अभिभावकको बैठक बसिरहेको समयमा आक्रोशित स्थानीयको भिडले शिक्षकलाई बन्दी बनाएर आक्रमणको प्रयास भएपछि स्थितिलाई नियन्त्रणमा लिन पुगेको प्रहरीसँग झडप भएको थियो ।
आक्रोशित भिडले सवारी साधनमा आगजानी र तोडफोड गरेपछि प्रहरीले हवाईफायर र केही सेल अश्रु ग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मञ्जिल मुकारुङले बताउनु भएको छ ।
घटनास्थलमा पुग्नु भएका जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसीसहित २५ जना प्रहरी र सात जना स्थानीय झडपमा परी घाइते भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका एसपी नविन राज राईले जानकारी दिनु भएको छ । एसपी जिसीको गोडामा चोट लागेको राईले बताउनु भयो । झडपमा एसपी जिसीका बडिगार्ड प्रहरी हवल्दार मेघचन्द्र राई घाइते हुनु भएको छ ।
भिड नियन्त्रणका लागि प्रदेश सशस्त्र प्रहरी गण रानी विराटनगरबाट खटिएका प्रहरी हल्वदार ३८ वर्षीय कृष्णकुमार यादव, ३६ वर्षीय उमेश वरही, ३६ वर्षीया सङ्गीता प्रसाई, ३९ वर्षीय सञ्जय यादव घाइते भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएका प्रहरी हवल्दार ३९ वर्षीय खुबी साँवा, २१ वर्षीय प्रहरी जवान जाबुक खड्का, २५ वर्षीय लाल मिश्रा, २६ वर्षीय सञ्जय भुजेल, २४ वर्षीय बिमल धिमाल र २१ वर्षीय दिपककुमार यादव घाइते भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय लेटाङकाबाट खटिएका चार जना हल्वदार घाइते भएका छन् । ३८ वर्षीय सन्तबहादुर मगर, ३५ वर्षीय मिक्वा योङहाङ, ४१ वर्षीय शिवकुमार यादव, ३८ वर्षीय रेनुका सोनाम रहेको प्रहरीले जनाएको छ । ३६ वर्षीय दिपेश राय, ३१ वर्षीय मनिता राई र ४० वर्षीय धुव्रबहादुर कार्की घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरूको विराटनगरस्थित कोशी अस्पताल र नोबेल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ६ जना उपचारपछि फर्किएका छन् ।
स्थानीयमा लेटाङ–४ का २२ वर्षीय मिलन खड्का र लेटाङ–८ का २२ वर्षीय रूपेश लिम्बू घाइते भएको प्रहरीले जनाएको छ । खड्काको नोबेल र लिम्बूको कोशीमा उपचार भइरहेको छ ।
उपचारका क्रमका मृत्यु भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको शवको पोष्टमार्टम फागुन ७ गते कोशी अस्पतालमा गरिने तयारी गरिएको मोरङ प्रहरीले जनाएको छ ।