INSEC Online

📅 २०८३ जेष्ठ २१

न्यायिक समिति प्रमुखमाथि हातपात, घटनामा संलग्न व्यक्तिहरुलाई कार्वाही गर्न माग

सुर्नया गाउँपालिकाका न्यायिक शाखाप्रमुख रामबहादुर महरामाथि सुर्नया गाउँपालिका–४ का स्थानीय जयन्त कुँवरको नेतृत्वको टोलीले हातापत गरेको भन्दै गाउँपालिकाले चैत १ गते विज्ञप्ति जारी गर्दै कार्वाहीको माग गरेको छ ।

सुर्नया गाउँपालिका वडा नम्बर ४ को कार्यालयमा लगाइएको ताला खोल्नका लागि छलफलमा सहभागि भएका शाखाप्रमुख महरामाथि स्थानीय कुँवरको नेतृत्वको टोलीले हातपात गरेपछि सुर्नया गाउँपालिकाले विज्ञप्ति जारी गरी कार्वाहीको माग गरेको सुर्नया गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष दनेशप्रसाद भट्टले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

घटनाको छानविन गर्न र घटनामा संलग्न कुँवरलगायतका व्यक्तिहरुलाई कार्वाहीको माग गरी चैत १ गते जिल्ला प्रशासन कार्यालयमा समेत उजुरी दिएको वडाध्यक्ष भट्टको भनाइ छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान गरी प्रतिवेदन पठाउनका लागि जिल्ला प्रहरी कार्यालय र गाउँपालिकालाई पत्र पठाएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत खगेन्द्र भारथीले बताउनु भयो ।

वडा कार्यालयमा लगाएको ताल खोल्ने सम्बन्धमा छलफल भइरहेका बेला तालाबन्दी गर्ने पक्षले महरामाथि हातपात गर्नुको साथै जनप्रतिनिधिहरुलाई समेत गालिगलौज गरेको गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वडा कार्यालयमा लगाएको ताला खुलाउने बिषयमा छलफल गर्न गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्टको नेतृत्वमा वडा नम्बर ६ का अध्यक्ष जयबहादुर कुँवर, वडा नम्बर ४ का अध्यक्ष दिनेशप्रसाद भट्ट, न्यायिक शाखा प्रमुख रामबहादुुर महरालगायतका व्यक्तिहरु सहभागि भएका थिए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि फारम भर्ने बेला वडा कार्यालयका कर्मचारीहरुले पूर्वाग्रहीपूर्ण व्यवहार गरेको भन्दै स्थानीयहरुले १४ बुँदे माग सहित वडा कार्यालयमा फागुन २७ गतेदेखि तालाबन्दी गर्दै आएका छन् ।

वडा कार्यालयमा तालबन्दी गरिएपछि कार्यालयबाट प्रवाह गरिने सेवाहरु पनि प्रभावित भएपछि स्थानीय सेवाग्राहीहरुलाई समेत समस्या उत्पन्न हुँदै अएको वडाध्यक्ष दिनेशप्रसाद भट्टले बताउनु भयो ।

Press statement20220315baitadi

अन्य

भिडियो