INSEC Online

📅 २०८३ जेष्ठ २१

बहुविवाह आरोपित विरुद्ध इन्सेकको सहयोगमा प्रहरीमा उजुरी

पतिले बहुविवाह गरेपछि दुई छोरीसहित विचल्लीमा पर्नु भएकी कुमाख गाउँपालिका–४ बस्नेतज्युलाकी २२ वर्षीया सबिना बुढाथोकी बस्नेतले इन्सेकको सहयोगमा चैत २ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा बहुविवाहको उजुरी दर्ता गराउनु भएको छ ।

पीडित महिलाले न्यायका लागि सहयोग गरीदिन इन्सेकलाई आग्रह गरेपछि कानुनी परामर्शसहित प्रहरीसम्म पुगेर उजुरी दिन इन्सेकले सहयोग गरेको हो ।

चैत १ गते राति दुई छोरीसँग खलङ्गा आउनुभएकी पीडित महिलालाई रातको समयमा आश्रयको व्यवस्था मिलाइदिन जिल्ला प्रहरी कार्यालय सल्यानले इन्सेकलाई अनुरोध गरेपछि इन्सेक प्रतिनिधि मिना बुढाथोकीले जिल्लास्थित सुरक्षित आवासगृहमा राख्न व्यवस्था मिलाउनु भएको छ ।

इन्सेक प्रतिनिधिसँग कुरा गर्दै पीडितले २५ वर्षीय पति रेशम बस्नेतले तीन महिनाअघि दोलखाको चरिकोटबाट अन्दाजी २५ वर्षीया शान्ती श्रेष्ठसँंग बहुविवाह गरेकाले पालनपोषण गर्न समस्या भएको बताउनु भयो ।

‘घरमा कमाउने मान्छे पनि कोही छैन । छोरीहरू सानै छन् । अब कसरी पालन पोषण गर्ने भन्ने विषयले पिरोलेको छ ।’–उहाँले भन्नु भयो ।

आरोपित दुवै जनालाई इलाका प्रहरी कार्यालय रागेचौरले चैत १ गते घरबाटै गिरफ्तार गरी थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्सपेक्टर अर्जुन पौडेलले जानकारी दिनु भयो ।

अन्य

भिडियो