बनगाडकुपिण्डे नगरपालिका–८ ज्यामिरेकी ३२ वर्षीया मीना कवरलाई ०७८ फागुन १६ गते सुत्केरी व्यथाले च्याप्यो । ब्यथाले च्यापेपछि सुरक्षित प्रसूति गराउन उहाँलाई परिवारले सल्यान अस्पताल पुर्यायो। अस्पताल पुर्याएको चार घण्टापछि बच्चा जन्मियो । तर, जन्मेको दुई घण्टामै शिशुको मृत्यु भयो । बच्चा जन्माएर सुनौलो भविष्य देखाउने सपना बोकेर सुत्केरी हुन अस्पताल पुग्नुभएकी कवरको सपना पुरा हुन पाएन । अस्पतालमा सुरक्षित सुत्केरी हुन पुग्नुभएकी कवरको सपना दुई घण्टामा नै चकनाचुर भयो । उहाँ रुँदै घर फर्कनुपरेको दुखद् वास्तविकता सुनाउनुहुन्छ ।
‘पेटमा बच्चा उल्टो रहेछ । अस्पताल आउँदा बच्चाको एउटा गोडा निस्किसकेको थियो ।’–उपचारमा संलग्न एमडी जीपी डाक्टर अभिषेक सिंहले बताउनु भयो । उहाँले भन्नुभयो–‘हामी अप्रेशन गर्ने तयारीमा थियौँ । त्यत्तिकैमा अर्को गोडा पनि निस्किएपछि नर्मल सुत्केरी गरायौँ । तर, बच्चालाइ बचाउन सकिएन् । ती महिलाले गर्भवती भएको समयमा एक पटक पनि स्वास्थ्य जाँच नगराएको हामीले पायौँ ।’
‘गर्भावस्थामा जाँच गराएको भए बच्चाको अवस्था पहिले नै थाहा हुने थियो ।’–डाक्टर सिंहले भन्नुभयो–‘उहाँहरूसँग जाँच गराएको कुनै कागजात पनि थिएन । जन्मँदा पेटमा पानी भरिएर फुलेको र फोक्सो माथितिर धकेलिएको बच्चालाई अनेक प्रयास गर्दा बचाउन सकिएन ।’ आमा तथा नवजात शिशुको सुरक्षाका लागि एक दशकदेखि सरकारले सुरक्षित मातृत्व कार्यक्रम लागु गरे पनि सल्यानमा भने मातृ तथा शिशु मृत्युदर अझै घट्न सकेको छैन । स्वास्थ्य चेतनाको अभावमा अझै ग्रामीण क्षेत्रका महिला जोखिमपूर्ण तरिकाले घरमै सुत्केरी हुने गरेका छन् । घरमा सुत्केरी हुनेहरूलाई जटिल समस्या देखिए मात्र स्वास्थ्यचौकी र अस्पतालमा पुर्याउने गरिएको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।
सल्यान अस्पतालका एमडी जीपी डाक्टर अभिशेक सिंह भन्नुहुन्छ कतिपय केशहरू एकदमै जटिल समस्याका आउने गरेका छन् । सुत्केरी ब्यथा लागेको दुई/तीन दिनसम्म घरमै राखिएको पाइन्छ अनि अन्तिम समयमामात्रै अस्पतालमा ल्याइन्छ । ब्यथाले च्यापेको धेरै समय बित्दासमेत परिवारले लापरवाही गर्दा अधिकांश बच्चाको गर्भमै मृत्यु हुने गरेको डाक्टर सिंहले बताउनु भयो । उहाँका अनुसार सानै उमेरमा विवाह हुनु, गर्भ चेकजाँचमा ध्यान नदिनु, खानपिन र स्याहार सुसारमा बेवास्ता लगायत कारण मातृ तथा शिशु मृत्युको जोखिम बढेको छ ।
स्वास्थ्य सेवा कार्यालय सल्यानको तथ्याङ्क अनुसार तीन वर्षको अवधिमा तीन आमा र ३८ नवजात शिशुको मृत्यु भएको छ । आर्थिक वर्ष ०७६/०७७ मा १८, ०७७/०७८ मा १५ र यो वर्षको साउनदेखि अहिलेसम्म पाँच जना नवजात शिशुको मृत्यु भएको कार्यालयका सूचना अधिकारी थलराज डीसीले बताउनु भयो । यो अवधिमा कालिमाटीमा दुई र दार्मामा एक गरी तीन जना आमाहरूको समेत मृत्यु भएको छ । गर्भमै १ सय १० जनाको मृत्यु भएको उहाँले जानकारी दिनु भयो । जिल्लामा मातृ तथा शिशु मृत्युभन्दा मृत जन्मनेको सङ्ख्या बढीरहेको सूचना अधिकारी डीसीले बताउनु भयो । उहाँका अनुसार चेतनाको अभाव र भौगोलिक विकटताका कारण समयमै स्वास्थ्यचौकी पुर्याउन नसक्दा नवजात शिशुको मृत्यु र मृत जन्मनेको सङ्ख्या बढिरहेको हो । चालु आर्थिक वर्षको ६ महिनामा २४ जना मृत शिशु जन्मिएको उहाँले जानकारी दिनु भयो ।