जुम्लास्थित राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय यथास्थितिमा राख्न आग्रह गर्दै जिल्लामा क्रियाशील सङ्घ संस्था तथा मानव अधिकारकर्मीले नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग काठमाडौँलाई मानव अधिकार रक्षक सञ्जालसहितको टोलीले जिल्ला प्रशासन र जुम्लास्थित आयोगको कार्यालयमार्फत ध्यानाकर्षणपत्र बुझाएको हो ।
मानव अधिकार संरक्षण तथा प्रवर्धन गर्नका लागि नेपाल सरकार तथा राष्ट्रिय मानव अधिकार आयोगले २०६२ चैत १९ गते तत्कालीन कर्णाली अञ्चलका जुम्ला, मुगु, कालिकोट र डोल्पा जिल्लामा कार्यक्षेत्र हुने गरी जुम्लामा राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय स्थापना गरेको थियो ।
यो कार्यालय हाल कर्णाली प्रदेशको शाखा कार्यालयमा परिणत भएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
ध्यानाकर्षण पत्रमा भनिएको छ–‘जुम्लामा २०६२ सालदेखि स्थापना भएको मानव अधिकार आयोग, कर्णाली प्रदेश शाखा कार्यालय जुम्ला नहटाउन तथा जुम्ला शाखा कार्यालयको कार्यक्षेत्रको दायरा र मौजुदा जनशक्ति नघटाउन साविकको कर्णाली अञ्चलको सदरमुकाम जुम्लाको नागरिक तथा मानव अधिकार रक्षकहरुको तर्फबाट ध्यानाकर्षण गराउँछौँ ।’
जुम्लामा रहेको कार्यालय हटाउने वा अधिकार क्षेत्र घटाएमा सबैभन्दा पछाडि परेको साविक कर्णाली क्षेत्रलाई मानव अधिकारको दृष्टिबाट अन्याय हुने समेत ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
मानव अधिकार रक्षक सञ्जाल जुम्लाका संयोजक राजबहादुर महतका अनुसार जुम्लामा १६ वर्षदेखि काम गर्दै आएको राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय स्थानान्तरण तथा कार्यको दायरा तथा जनशक्ति घटाउन नहुने र जुम्लामा रहेको आयोगको कार्यालयमा महिला कर्मचारीसहित थप पूर्वाधारयूक्त बनाउनु पर्ने विषयमा ध्यानाकर्षण गरिएको हो ।
मानव अधिकार रक्षक सञ्जाल जुम्ला संयोजक राजबहादुर महत, नेपाल पत्रकार महासङ्घ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाही, गैसस महासङ्घ शाखा जुम्लाका अध्यक्ष अमरबहादुर रोकाया, महिला मानव अधिकार मञ्च जुम्लाका अध्यक्ष टिका नगरकोटी र दलित सेवा सङ्घ जुम्लाका सचिव रामबहादुर नेपालीको टोलीले ध्यानाकर्षण बुझाएको हो ।
जनजाति महासङ्घ जुम्लाका अध्यक्ष कार्मा ठिले तामाङ, अपाङ्ग पुनस्र्थापन तथा विकास केन्द्र जुम्लाका अध्यक्ष नन्दराज धिताल, ज्येष्ठ नागरिक सङ्घ जुम्लाका कार्यवहाक अध्यक्ष तुलाराम न्यौपाने, अल्पकालिन महिला सेवा केन्द्र जुम्लाका अध्यक्ष भगवती श्रेष्ठ र इन्सेक जिल्ला प्रतिनिधि मानदत्त रावल टोलीमा सम्मिलित रहेका थिए ।