INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्य संस्थाहरुमा औषधि अभाव हुँदा बिरामी समस्यामा

नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा ३५ को उपधारा १ मा प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने अधिकारको सुनिश्चितता गरिएको भएपनि जिल्ला अस्पताल र जिल्लास्थित स्वास्थ्य संस्थामा औषधि समेत नपाउँदा बिरामीरु समस्यामा परेका छन् ।

जिल्ला अस्पताल र जिल्लास्थित ग्रामीण क्षेत्रमा रहेका अधिकांश स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव हुँदा बिरामीहरूले थप सास्ती खेप्नु परेको छ ।

जिल्ला अस्पताल, बैतडीमा विगतदेखि नै नेपाल सरकारले निःशुल्क दिने भनेका औषधिको अभाव रहेको  अस्पतालका प्रमुख डाक्टर बसन्तराज जोशीले बताउनु भयो ।

नेपाल सरकारको नियामनुसार जिल्ला अस्पतालबाट ७० प्रकारका औषधिहरू निःशुल्क रूपमा उपलब्ध गराउनु पर्ने व्यवस्था भएपनि २०/२५ प्रकारका औषधि मात्रै जिल्ला अस्पतालमा रहेको डक्टर जोशीले बताउनु भयो ।

उहाँले भन्नु भयो–‘यी औषधिहरू पनि नियमित आउँदैनन् ।’

जिल्ला अस्पतालमा मात्रै होइन अन्य स्थानीय तहका स्वास्थ्य संस्थामा पनि नेपाल सरकारले निःशुल्क दिने भनेका औषधिको अभाव छ । स्थानीयले सामान्य बिरामी पर्दा समेत निजी मेडिकलको भर पर्नु पर्ने बाध्यता रहेको स्थानीय बिरसिंह बोहराले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘जिल्ला अस्पतालमा जाँच गराउन मात्रै जाने हो । औषधिका लागि त निजी मेडिकलकै भर पर्नु पर्छ ।’

नेपाल सरकारले निःशुल्क औषधिको बर्गिकरण गरेपनि कहिल्यै पनि ति सबै औषधिहरू स्वास्थ्य संस्थामा पुग्न नसकेको शिवनाथ गाउँपालिकाका स्वास्थ्य संयोजक हेल्थ असिस्टेन्ट नरेन्द्र महताले बताउनु भयो ।

नेपाल सरकारले विपन्न नागरिकको उपचारमा सहजताका लागि ल्याएको विमा कार्यक्रम अन्तर्गत विमित सदस्यहरूले समेत औषधि नपाएको गुनासो गरेका छन् ।

बिमा गरेपछि प्रति परिवार १ लाख रुपियाँसम्मको औषधि र उपचार निःशुल्क पाउनु पर्ने भएपनि सो सेवाबाट आपूmहरू वञ्चित भएको मेलौली नगरपालिका– ३ का बिरसिंह बोहराले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो–‘स्वास्थ्य बिमा गराएँ । चार घण्टा हिँडेर तीन दिनसम्म पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा औषधि माग्न गएँ । एक दिन पनि औषधि दिएनन् । २ हजार ५ सय रुपियाँको औषधि मेडिकलबाट नै किनेको भए बरू हुन्थ्यो । फोकटमा बिमा गराएजस्तो लागेको छ । बिरामी भएको बेला औषधि दिएनन् भने अब कहिले दिन्छन् ?’

स्वास्थ्य संस्थाहरूमा औषधिको व्यवस्था नहुँदा स्वास्थ्य बिमा कार्यक्रम समेत सोचे अनुसार प्रभावकारी हुन नसकेको स्वास्थ्य बिमा बोर्ड, बैतडीका प्रमुख जमन बडालले बताउनु भयो ।

उहाँले बिमा गरेका व्यक्तिको उपचारमा लाग्ने रकम र औषधिका लागि आवश्यक रकम समयमै अस्पताल तथा स्वास्थ्य संस्थालाई उपलब्ध गराउने गरिएकोले यसको जिम्मेवारी पनि तिनै संस्थाले लिनु पर्ने बताउनु भयो ।

अन्य

भिडियो