‘सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता’ भन्ने मुल नाराका साथ १ सय १२ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी फागुन २४ गते सम्पन्न गरिएको छ ।
कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार अन्तराष्ट्रिय श्रमिक महिला दिवस पोखरामा र्याली सहित कोण सभा गरी सम्पन्न भएको छ ।
सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), गैसस महासंघ लगायत मानव अधिकार तथा महिला अधिकारका क्षेत्रमा क्रियाशिल संस्थाहरूको सहभागिता र अन्तराष्ट्रिय महिला दिवस मूल आयोजक समितिको आयोजनमा पोखरा जिरो किलोमिटरबाट सुरू भएको र्याली जिल्ला समन्वय समिति कास्कीको हलमा पुगेर कोण सभामा परिणत भएको थियो ।
गण्डकी प्रदेशका मुख्य सचिव रविलाल पन्थले संविधान र कानुनमा महिला अधिकारका पक्षमा प्रशस्त व्यवस्था भए पनि त्यसको कार्यान्वयनको जोड दिनुपर्ने बताउनुभयो ।
उहाँले महिलाविरूद्ध हुने कुनै पनि किसिमको हिंसाजन्य कार्य र शोषणलाई दण्डनीय भएको बताउनुभयो ।

महिला हिंसा न्यूनिकरणमा राज्य र सरोकारवाला सबै संघसंस्थाको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।
शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव देवेन्द्र लामिछानेले मौलिक हकको प्रभावकारी कार्यान्वयनमा राज्यका सबै संरचनाले समन्वयात्मक ढङ्गले काम गर्न जरूरी रहेको बताउनुभयो ।
गैरसरकारी संस्था महासंघ गण्डकी अध्यक्ष गाेपाल खडकाले घरेलु हिंसा, बोक्सीको नाममा हुने ज्यादती, बलात्कार, यौनहिंसा, अमर्यादित महिनावारी, दाइजो प्रथा, बालविवाह, बहुविवाह, मानव बेचबिखन जस्ता विकृती अझै पनि रहेका कारण त्यसलाई न्युनिकरण गर्न कानुनको प्रभावकारी कार्यन्वयन आवश्यक रहेका बताउनुभयो ।
कार्यक्रममा इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले इन्सेकको अभिलेख अनुसार अझै पनि महिला हिंसाको घटनामा कमि नआएको बताउनुभयो ।
उहाँले इन्सेकद्वारा प्रकाशन गरिने नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ मा अभिलेख गरिएका झण्डै ६० प्रतिशत घटनाहरू महिला माथि हुनेगरेका हिंसाको रहेको बताउनुभयो ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) प्रतिनिधि तिर्थराज डुम्रेका अनुसार १ सय १२ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा विनयी त्रिवेणी गाउँपालिका, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुर, कोपिला नेपाल, महिला अधिकार मञ्च लगायत सङ्घ सस्थाहरूको संयुक्त आयोजनामा फागुन २४ गते विनयी त्रिवेणी गाउँपालिका–६, त्रिवेणीमा कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा बिनयी त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष मिना कुमारी रानाले महिलाहरूको क्षमता विकासको लागि अर्थपूर्ण सहभागिता आवश्यक रहेको बताउनुभएको छ ।
उहाँले स्थानीय तहको प्रमुख वा उपप्रमुख, वडा सदस्य सहित विभिन्न क्षेत्रमा महिलाहरूको नेतृत्व स्थापित गरिएपनि त्यो सहभागितालाई अर्थपूर्ण र निर्णायक बनाउन आवश्यक रहेको बताउनुभयो ।
बिनयी त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर विश्वकर्माले महिला अधिकारको लागि एक शताब्दी पूर्वबाट सुरू भएको आन्दोलनले धेरै उपलब्धीहरू प्राप्त भएको भन्दै त्यसलाई संस्थागत र अर्थपूर्ण बनाउन तर्फ अबको अभियानहरू केन्द्रित हुनुपर्ने बताउनुभयो ।
तीन तहको सरकार, राजनितिक दल, विभिन्न सरकारी निकायहरूमा महिलाहरू सहभागिता सुनिश्चितता सहित क्षमता विकास र आत्मनिर्भरता अभिबृद्धिका लागि सरकारले थुप्रै कार्यक्रमहरू ल्याएको भन्दै उहाँले ती कार्यक्रमहरूको सही सदुपयोग हुनुपर्ने बताउनुभयो ।
बिनयी त्रिवेणी गाउँपालिकाका योजना अधिकृत कृष्ण अर्यालले प्रत्येक वर्ष महिला दिवसको दिन गरिने प्रतिबद्धताहरू कति पुरा भए भनेर अर्को वर्ष हुने दिवसमा समिक्षा र मुल्याङ्कन आवश्यक रहेको बताउनुभयो ।
मानव अधिकार समूह बिनयी त्रिवेणी गाउँपालिकाका सदस्य भुमा पंगेनीले महिलाहरू अझैपनि परिवारबाट नै पीडित भइरहेको भन्दै घर भित्र हुने हिंसाको अन्त्यको लागि सबै पक्ष एकबद्ध हुन आवश्यक रहेको बताउनुभयो ।
बिनयी त्रिवेणी गाउँपालिका–७ का वडाध्यक्ष गोपाल बहादुर क्षेत्रीले महिला अधिकार र महिलाहरू क्षमता अभिबृद्धिको लागि निरन्तर रूपमा बटेज विनियोजन र कार्यान्वयन गर्दै आएको स्मरण गर्दै महिलाहरूको क्षमता अभिबृद्धिको लागि आफु सदैव प्रतिबद्ध रहेको बताउनुभयो ।
बिनयी त्रिवेणी गाउँपालिका–६ का वडाध्यक्ष प्रितम गुरुङले प्रत्येक वर्ष मनाउने दिवसमा महिलाहरूले देखाउने सक्रियता र चासोलाई सदैव कायम राख्न सुझाव दिनुभयो ।