INSEC Online

📅 २०८३ जेष्ठ २१

घरका नक्सापास नहुँदा भूकम्प पीडितले घर बनाउन पाएनन्

ओखलढुङ्गाको सिद्धिचरण नपाका भूकम्प पीडितहरूले नगरपालिकाले नक्सापास नगरिदिँदा घर बनाउन पाएका छैनन् । नक्सापास नगरपालिकाले अनिवार्य गरे पनि आवेदन दिएका १ सयभन्दा बढी भूकम्प पीडितका नक्सापास भएका छैनन् । नक्सा पास गराउन कार्यकारी अधिकृतको अनिवार्य स्वीकृति लिनु पर्ने प्रावधान भएको र कार्यकारी अधिकृत कार्यालयमा नबसेका कारण समस्या आएको पीडितहरूले आरोप लगाएका छन् ।

निवेदन आए पनि अनुमति दिन नसकिएको नगरपालिकाका सूचना अधिकारी नइन्द्रराज राईले बताए । उनले कार्यलय प्रमुख बाहेक अरूले अनुमति दिन नमिल्ने भएकाले समस्या भएको जानकारी दिए । ०७३ साउनमा सरूवा भएका कार्यकारी अधिकृत मङ्सिर अन्तिममा आए पनि चैतमै सरूवा भएका छन् । तीन महिना कार्यरत रहेका चञ्चलकुमार खड्का तालिम र बैठक तथा विदामा रहँदा नक्सा पास नभएको नगरपालिकाको कार्यालयले जनायो ।

अनुदान लिएर घर बनाउन तयारी गरेका पीडितहरूले नक्सा नहुँदा समस्या रहेको बताए ।  घरको नक्सापास नभएकाले घर निर्माण गर्न नपाइएको स्थानीय लालु श्रेष्ठले बताए । उनले नगरपालिकाले नक्सापास नगर्दा पीडितहरूले घर बनाउन नपाएको गुनासो गरे । सिद्धिचरण नपामा १ हजार २ सय २१ परिवारले पहिलो किस्ता लगे पनि १ सय ७६ परिवारले मात्र घर निर्माण थालेका छन् ।

अन्य

भिडियो