मुगुम कार्मारोङ गाउँपालिका–२ मुगुम गाउँमा रहेको स्वास्थ्य चौकीमा एक महिनादेखि स्वास्थ्यकर्मी अनुपस्थित हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् ।
गाँउपालिकाले मुगुम गाउँमा रहेको स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई सरुवा र काजमा अन्यत्र पठाएपछि उनीहरूको सट्टामा अन्य स्वास्थ्यकर्मीको व्यवस्था नगर्दा सेवाग्राही मर्कामा परेका हुन् ।
मुगुम कार्मारोङ गाउँपालिकामा एक सिनियर अहेव, एक अनमी, एक करार अहेव र एक कार्यालय सहयोगीको दरबन्दी रहेको छ ।
सिनियर अहेब वीरजङ्ग मल्ललाई गाउँपालिकाले सरुवा गरेर सोही गाउँपालिका–८ माँग्री स्वास्थ्य चौकीमा पठाएको छ ।
अनमी सोनाम तामाङ काजमा छायाँनाथ रारा नगरपालिका–१४ बाम चौकीमा कार्यरत रहेको गाउँपालिकाले जनाएको छ ।
करार दरबन्दीमा कार्यरत अहेब समेत परीक्षाका लागि जिल्ला बाहिर भएका कारण स्वास्थ्य संस्था बन्द भएको हो ।
स्वास्थ्य संस्था बन्द भएपछि मुगुम कार्मारोङ गाउँपालिका–२ का सर्वसाधरण स्वास्थ्य सेवाबाट वञ्चित हुनु परेको स्थानीय छिरिङ्ग तामाङले बताउनु भयो ।
स्वास्थ्य संस्था एक महिनादेखि बन्द भएपछि यहाँका सर्वसाधरण सामन्य उपचार तथा चेक जाँचका लागि एक दिन टाढाको पुलु स्वास्थ्य चौकीमा आउनु परेको छ ।
गाउँमै रहेको स्वास्थ्य संस्था एक महिनादेखि बन्द भएपछि सबैभन्दा बढी ज्येष्ठ नागरिक, बालबालिका र गर्भवतीहरू मर्कामा परेको सोही वडाका स्वास्थ्य स्वयमसेविका छिरिङ्ग टोमा तामाङले बताउनु भयो ।
अब केही दिनमै स्वास्थ्य संस्थाबाट सेवा प्रवाह हुने मुगुम कार्मारोङ गाउँपालिका–२ का वडा अध्यक्ष कार्मा तामाङले बताउनु भयो ।