६८ वर्षीया महिलालाई बलात्कारपछि हत्या गरेको कसुरमा जिल्ला अदालतले भद्रपुर नगरपालिका–४ का ३५ वर्षीय विशाल बिर्जालाई जन्म कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश विनोद खतिवडाको ०७८ फागुन १८ गतेको इजलासले कसुर गरेको ठहर गर्दै जन्म कैद सजायको फैसला सुनाएको अदालतका सूचना अधिकारी अर्जुनकुमार गुराँगाईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित महिलालाई आरोपितले ०७७ मङ्सिर २४ गते बलात्कारपछि हत्या गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध मङ्सिर २६ गते इलाका प्रहरी कार्यालय धुलाबारीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरी जिल्ला अदालतमा पुस २० गते बलात्कार र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतको ०७७ पुस २१ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
शवको पोष्टमार्टम मेची अस्पतालमा ०७७ मङ्सिर २६ गते गरिएको थियो ।
सोही दिन पीडित पक्षले शव बुझी अर्जुनधारा नगरपालिका– ११ स्थित देउनीया खोलामा सद्गत गरेको थियो ।