लेटाङ नगरपालिका-८ की १२ वर्षीया करुणा राईको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही ठाँउका ६४ वर्षीय दीपक गिरीलाई फागुन १३ गते गिरफ्तार गरेको छ ।
लेटाङ नगरपालिका-८ स्थित जाँते माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत करुणा राई फागुन ११ गते विद्यालय विदा भएपछि घर फर्किने क्रममा बेपत्ता भएकी थिइन् ।
बालिकाको खोजी गर्ने क्रममा लेटाङ नगरपालिका- ८ स्थित लालहिरा सामुदायिक वन क्षेत्रमा खोल्सोमा फागुन १३ गते बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका एसपी जनादर्न जिसीले इन्सेककर्मीसँगको फोन सम्पर्कमा बताउनु भयो ।
घटनाको प्रकृति हेर्दा बलात्कारपछि ढुङ्गाले हिर्काएर बालिकाको हत्या गरेको देखिएको एसपी जिसीले बताउनु भयो ।
आरोपितले फागुन १३ गते लेटाङ नगरपालिका- ८ मा घर नजिक कपडा जलाएको र कपडा जलाएको ठाउँमा विद्यालय पोसाकको बेल्टको टाउको र जुत्ताको तुना फेला परेपछि आरोपितलाई गिरफ्तार गरेको एसपी जनादर्न जिसीले बताउनु भयो ।
शवको पोष्टमार्टम कोशी अस्पतालमा फागुन १३ गते गरिएको छ ।
छोरी हराएको विषयमा फागुन ११ गते इलाका प्रहरी कार्यालय लेटाङमा बालिका ४२ वर्षीय बाबु अजय राईले उजुरी दिएको इलाका प्रहरी कार्यालय लेटाङका इन्स्पेक्टर रञ्जन अर्यालले बताउनु भयो ।
शवको पोष्टमार्टम फागुन १३ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रहरीले जनाएको छ ।
पीडित पक्षले सोही दिन शव बुझी लेटाङ- ८ मा धार्मिक विधि अनुसार सद्गत गरेको लेटाङ नगरपालिका- ८ का वडा सदस्य बुद्धराम राईले बताउनु भएको छ ।