१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले फागुन ९ गते तिनाउँ गाउँपालिका– ३ का २८ वर्षीय एकबहादुर दिशा, ४३ वर्षीय बसन्त सैजु र २४ वर्षीय दिलबहादुर कुमाललाई १२ बर्ष कैदको फैसला सुनाएको छ ।
न्यायाधीश खड्कबहादुर केसीको इजलासले कसुर ठहर गर्दै १२ वर्ष कैदसहित जनही ५० हजार रूपियाँ क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार दुर्गाप्रसाद बस्यालले बताउनु भयो ।
पीडितलाई आरोपितहरुले २०७७ जेठ १० गते सामूहिक बलात्कार भएको भन्दै पीडित पक्षले जेठ १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
आरोपितहरू एकबहादुर, बसन्त र दिलबहादुरलाई प्रहरीले जेठ १६ गते तिनाउँ गाउँपालिका दोभनबाट गिरफ्तार गरेको थियो भने घटनामा सङ्लग्न रिब्दीकोट गाउँपालिका–३ खस्यौलीका २१ वर्षीय मनिस रूचाल र रूपन्देहीको जिल्ला बुटवल उप–महानगरपालिका–१२ का २० वर्षीय अमृत राउतलाई जेठ १८ गते गिरफ्तार गरेको थियो ।
प्रहरीले ०७७ असार ३ गते जिल्ला अदालतमा सामूहिक बलात्कार अभियोगमा मुद्दा चलाएकोमा जिल्ला अदालतको ०७७ असार ३ गतेको आदेशमा मनिस रुचाल र अमृत राउत ५० हजार रूपियाँ धरौटीमा रिहा भएका थिए भने अन्य तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । मनिस र अमृतले सफाई पाएको श्रेष्तेदार बस्यालले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ १५ गते जिल्ला अस्पतालमा गरिएको थियो ।