INSEC Online

📅 २०८३ जेष्ठ २१

विधुत अवरूद्ध हुँदा कार्यालयका कामकाज प्रभावित

डेढ हप्तादेखि विधुत अवरूद्ध हुँदा खार्पुनाथ गाउँपालिकाका विभिन्न कार्यालयको कामकाज प्रभावित भएको छ ।

हिल्दुम विधुत वितरण केन्द्रबाट प्रसारित लाइनमा माघ २७ गतेदेखि समस्या आएपछि सो स्थानका सेवाग्राही मर्कामा परेका छन् ।

विधुत अवरूद्ध भएपछि याङचु बजारमा रहेका बैँक, गाउँपालिकाको कार्यालय, स्वास्थ्य शाखा, शिक्षा शाखा लगायतबाट सेवा लिनका लागि समस्या भएको स्थानीय सागरकुमार शाहीले बताउनु भयो ।

उहाँका अनुसार विधुत अवरूद्ध भएपछि स्वास्थ्य शाखाबाट हुने एकसरे गर्न समस्या भएको छ भने बैंकबाट लिने सेवा पनि प्रभावित भएको छ ।

यस्तै अनलाइनमार्फत जन्म, मृत्यु, लगायतका अन्य सिफारिसका कामहरु पनि हुन नसक्दा गाउँबाट आएका सेवाग्राही फर्किनु परेको शाहीले गुनासो गर्नु भयो ।

खार्पुनाथ गाउँपालिकाको खार्पु शिवमन्दिरदेखि वडा नम्वर ५ को खर्पेलगाउँ सडक खण्ड आयोजनको बाटो निर्माण गर्ने क्रममा विधुतको पोल र तारलाई समेत क्षती पुगेपछि समस्या भएको खार्पुनाथ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णुबहादुर शाहीले बताउनु भयो ।

शाहीका अनुसार पूर्वधार विकास कार्यालयको आयोजनामा बन्दै गरेको उक्त सडक ठेकेदारमार्फत निर्माण भइरहेको छ ।

विधुत कार्यालयका प्रमुख साजन ऐडिले विधुत मर्मत गर्ने काम सम्बन्धित ठेकेदारको भएको बताउनुभयो ।

विधुत अवरूद्ध भएपछि याङचु बजार लगायत अन्य स्थानीयलाई समेत प्रभाव परेको स्थानीय मनराज सिंहले गुनासो गर्नु भयो ।

अन्य

भिडियो