राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएको घटनाको कसुरमा चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका सेनाका हुद्दा चिरणकुमार वुढालाई जिल्ला अदालत चितवनले गरेको फैसलामा पुनरावलोकन हुँदा उच्च अदालत पाटनको हेटौँडा इजलासले जन्मकैद (२५ वर्ष) सजाय हुने फैसला सुनाएको छ ।
हेटौँडा अदालतका न्यायधीश चण्डिराज ढकाल र नगेन्द्रलाल कर्णको संयुक्त इजलासले फागुन ८ गते मुद्दा उल्टी हुने फैसला गरेको अदालतका प्रवत्ता केशव कौशिकले जानकारी दिनुभयो ।
जिल्ला न्यायधीश गायत्री रेग्मीको इजलासले आंशिक अभियोग दावी पुग्ने भन्दै आरोपीत वुढालाई ०७८ असार २८ गते नौ महिना कैद, ९ हजार रुपियाँ जरिवाना र २ लाख क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।
जिल्ला अदालतको फैसला चित्त नबुझी जिल्ला सरकारी वकिलको कार्यालय उच्च अदालत गएको थियो ।
घोगीँ टिप्न निकुञ्ज जाँदा ०७७ साउन १ गते सेनाको कुटाइबाट घाइते भएका राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको साउन ८ गते मृत्यु भएको थियो ।
निकुन्ज सुरक्षाकर्मीको कुटपिटबाट घाइते भइका राजकुमार हिड्न नसक्ने भएपछि दुई जनाले सहारा दिएर घर पु¥याएको सँगै निकुञ्ज गएका सन्तोष तामाङले बताउनुभयो ।
मनसायपूर्वक हत्या भनी कर्तव्य ज्यान मुद्दा दर्ता भएकोमा भवितव्य भनी जिल्ला अदालतले फैसला सुनाएको थियो । मृतक राजकुमारका बुवा विष्णुलाल चेपाङले जिल्ला प्रहरी कार्यालयमा ०७७ भदौ २५ गते हत्याको आरोपमा किटानी जाहेरी दिनुभएको थियो ।
मुद्दाका आरोपित बुढालाई प्रहरीले असोज १२ गते गिरफ्तार गरिएको थियो । सो घटनामा राप्ती नगरपालिका–२ मिलनटोलका २३ वर्षीय पूर्ण चेपाङ, ३२ वर्षीय सन्तलाल प्रजा, ३२ बर्षीय बमबहादुर मगर र ३२ वर्षीय गोपीराम प्रजासमेत माथि कुटपिट भएको थियो । साथमा रहेका दुई जना महिलालाई भने दुर्वचन बोले पनि कुटपिट गरिएको पीडितहरूले बताएको छन् ।
मृतकको परिवारलाई चितवन राष्टिय निकुञ्जले ७ लाख रुपियाँ, राप्ती नगरपालिकाले ३ लाख रुपियाँ राहत उपलब्ध गराएका थिए ।
अति विपन्न सिमान्कृत समुदायका राजकुमारको परिवारका लागि राप्ती नगरपालिकाकै उपप्रमुख इमानसिह लामाले निजी खर्चबाट घरसमेत बनाइदिनु भएको छ ।
घटनामा प्रहरीको आलटाल, अधिकारकर्मीको दबाब
चितवन प्रहरीले सुरुमा यस घटनाको अनुसन्धानमा चासो दिएको थिएन । प्रहरीले अनुसन्धान गर्न चासो नदेखाएपछि मानव अधिकारकर्मीले विरोध गरेका थिए । इन्सेक, एड्भोकेसी फोरम, थर्ड एलायन्स, आईसीजे र राष्ट्रिय मानव अधिकार आयोग लगायत संस्थाले घटनाको स्थलगत अनुसन्धान पनि गरेका थिए ।
स्थलगत अध्ययनको क्रममा घटनामा सँगै गएका पाँच जना पुरुष साथीमाथि पनि कुटपिट तथा यातना दिने काम भएको तत्थ्य सार्वजनिक भएको थियो । निकुन्ज सुरक्षाकर्मीबाट बुट र लाठीले पिटेको, उठबस गर्न लगाएको, मुढा बोक्न लगाएको घाइतेहरूले तत्काल वयान दिएका थिए ।
तर प्रहरीले उनीहरूमाथि भएको कुटपिटको सम्बन्धमा घाउजाँच गर्न पनि आलटाल गरेको थियो । घाइते भए पनि उनीहरूको सम्बन्धमा मुद्दामा कुनै चासो दिइएन ।
कुटपिट गरी यातना दिने अरु सैनिक जवानहरू भए पनि उनीहरूले घटनाबाट उन्मुक्ति पाएका छन् । अनुगमन टोलीले सेनाकै कुटाईबाट राजकुमारको मृत्यु भएको, आर्थिक अभावले समयमै उनको उपचार हुन नसकेको र भरतपुर अस्पतालका चिकित्सकहरूले अन्य घाइते पीडितहरूको स्वास्थ्य जाँचमा लापरबाही गरेको निष्कर्ष सहित घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरेका थिए ।