१५ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले रौतहट गरुडा घर भई हेटौँडा-२ मा बस्दै आएका २८ वर्षीय धिरज ठाकुरलाई ६ वर्षकैद गर्ने फैसला सुनाएको छ ।
न्यायाधीश दयाराम ढकालको चैत १७ गते बसेको इजलासले ठाकुरबाट पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने पनि आदेश गरेको छ ।
पीडित बालिकालाई आरोपितले गत असार ७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असार ८ गते जिल्ला प्रहरी कार्यालय हेटौँडामा उजुरी दिएको थियो ।
प्रहरीले ठाकुरलाई असार ८ गते गिरफ्तार गरी मुद्दा चलाएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ९ गते हेटौँडा अस्पतालमा गरिएको थियो ।