ललितपुरमा आयोजित एक कार्यक्रममा सन् २०२१ का मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ६ हजार २ सय ८५ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले फागुन ७ गते ललितपुरमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ विमोचन कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
सन् १९९२ देखि हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ मा सो तथ्याङ्क समेटिएको हो ।
इन्सेकले गरेको अभिलेख अनुसार सन् २०२१ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ६ हजार २ सय ८५ जना पीडित भए । सन् २०२० मा यस्ता घटनामा ५ हजार ५ सय ४३ जना पीडित भएको अभिलेख राखेको इन्सेकले जनाएको छ ।
सन् २०२१ मा मानव अधिकार उल्लङ्घनका घटनामा ५२ महिला र ५ सय १० पुरुष गरी जम्मा ५ सय ६२ जना तथा ज्यादतीका घटनामा ५ हजार १ सय ६३ जना महिला र ५ सय ६० जना पुरुष गरी जम्मा ५ हजार ७ सय २३ जना पीडित भएका इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले बताउनु भयो ।
यो वर्ष यातनाका घटनामा तीन जना, गिरफ्तारीका घटनामा ३५ जना, जातीय विभेदका घटनामा २८ जना, अमानवीय व्यवहारका घटनामा २४ जना, भेला तथा सङ्गठित हुने अधिकारमा ३ सय ६३ जना र धम्कीका घटनामा ३६ जना र कुटपिटका घटनामा २ सय ६६ जना पीडित भएको अभिलेख भएको इन्सेकले जनाएको छ ।
सन् २०२१ मा महिलामाथि हुने हिंसाका घटनामा ३ हजार ४ सय १६ जना पीडित भएको अभिलेख भयो । बाल अधिकार उल्लङ्घनका घटनामा १ हजार ५ सय २२ जना बालबालिका पीडित भएको अभिलेख भएको इन्सेकले जनाएको छ ।