आर्थिक वर्ष ०७८ / ०७९ को सात महिना वितिसक्दा समेत सामाजिक सुरक्षा भत्ता वापत वितरण गर्नु पर्ने रकम उपलब्ध गराउन ढिलाइ गरिएपछि ज्येष्ठ नागरिक, एकल महिला र बालबालिकाहरु समस्यामा परेका छन् ।
हरेक चार–चार महिनामा वितरण गरिने सामाजिक सुरक्षा भत्ता रकम सात महिना वितिसक्दा वितरण नगरिएपछि आफूहरु समस्यामा परेको नौगाड गाउँपालिका–२ का ज्येष्ठ नागरिक चिमडे धामीले दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो– ‘विगतका वर्षहरुमा चार महिनामा घरमै भत्ता आउथ्यो । अहिले भने सात महिनासम्म पनि भत्ता पाउन सकेका छैनाैँ । समयमै भत्ता नआउँदा जिविका चलाउन धौँधौँ परेको छ ।’
‘आफू बिरामी मान्छे भत्ता बुझेर उपचार गरुला भन्ने सोचेको थिए, तर अहिलेसम्म सामाजिक सुरक्षा वापतको भत्ता रकम पाएको छैन् ।’ नौगाड गाउँपालिका–१ का सौलीदेवी डडालले भन्नु भयो । सामाजिक सुरक्षा भत्ता समयमै नपाउँदा खान लगाउन समस्या भएको छ ।
सामाजिक सुरक्षा भत्ता वापतको रकम बैङ्कबाट वितरण गर्न अनिवार्य गरिएपछि बैङ्कमा खाता खोल्न तथा केवाइसी अद्यावधिक कार्यमा ढिलाइ हुँदा समयमै भत्ता वितरण गर्न नसकिएकाे नौगाड गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रितमसिह ठगुन्नाले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘मन्त्रालयले सामाजिक सुरक्षा भत्ता रकम बैङ्कमार्फत अनिवार्य नगरे रोकीदिने बतायो । बैङ्कहरुले शिविर सञ्चालन गरेर वडामा पुगेर खाता खोल्यो । तर, गाउँमा इन्टरनेटले काम नगर्ने समस्या र नविकरणमा ढिलाइ हुँदा केहि महिना ढिला हुन गएको होे । यही दोस्रो साताबाट भत्ता वितरण नियमित गर्छौँ ।
व्याँस गाउँपालिकाका सबै वडामा सामाजिक सुरक्षा वापतको रकम सेवाग्राहीले पाउन नसकेको वडा नम्बर ३ का वडाध्यक्ष उपेन्द्रसिह धामीले बताउनु भयो ।
बैङ्कको ढिलाइको कारण सबै सेवाग्राहीले समयमै भत्ता पाउन सकेनन् उहाँले भन्नु भयो, भर्खरै मात्रै वितरण कार्य सुरु गरिएको छ ।
जिल्लाका ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरुले चालु आर्थिक वर्षको साउन महिनादेखि अहिलेसम्मको सामाजिक सुरक्षा भत्ता रकम पाउन सकेका छैनन् ।