१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले कमल गाउँपालिका–५ का वर्षीय १९ वर्षीय विवेक वसेल सार्कीलाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश टीकाराम आचार्यको माघ २६ गतेको इजलासले कसुर गरेको ठहर गर्दै १२ वर्ष कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट ३० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका सूचना अधिकारी अर्जुनकुमार गुरागाँईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले ०७७ जेठ १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ १८ गते इलाका प्रहरी कार्यालय दमकमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई जेठ १८ गते गिरफ्तार गरी जिल्ला अदालतमा बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतको ०७७ असार ११ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अस्पतालमा जेठ १८ गते गरिएको थियो ।
आठ वर्षीया बालिकालाई बाल यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले बुद्धशान्ति गाउँपालिका–४ का ५३ वर्षीय हरिप्रसाद भट्टराइलाई एक महिना कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश टीकाराम आचार्यको माघ २५ गतेको इजलासले कसुर गरेको ठहर गर्दै एक महिना कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट पाँच हजार रुपियाँ जरिबानाको आदेश भएको अदालतका सूचना अधिकारी अर्जुनकुमार गुरागाँईले बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले ०७७ माघ ७ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ ९ गते इलाका प्रहरी कार्यालय धुलाबारीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई माघ ९ गते गिरफ्तार गरी जिल्ला अदालतमा यौन दुर्व्यवहार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतको ०७७ फागुन ५ गतेको आदेशमा आरोपितसँग ५० हजार रुपियाँ धरौटी माग भएकोमा सो बुझाउन नसकि आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अस्पतालमा ०७७ माघ ९ गते गरिएको थियो ।